यसरी प्ले–अफ चरणमा पुग्न सक्छ बैंगलुरु
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा आइतबार राति दुई खेल खेलिएको थियो । आइतबारको पहिलो खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई पाँच विकेटले र रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले हराएका थिए ।
योसँगै जारी सिजनको आईपीएलमा ६२ खेल खेलिसकिएको छ । अब लिग चरणमा आठ खेलमात्र खेलिन बाँकी छ । आइतबारको खेलसँगै अंक तालिकामा पनि केही परिवर्तन भएको छ । १३ खेल खेलेको चेन्नई १४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
१२ खेलबाट १८ अंक बटुलेको कोलकाता नाइट राइडर्स भने यसअघि नै क्वालिफायर चरणमा पुगिसकेको छ । दोस्रो स्थानमा आसिन राजस्थान रोयल्सले १२ खेलबाट १६ अंक बटुलेको छ । चौथो स्थानमा आसिन सनराइजर्स हैदराबादले पनि १२ खेलबाट १४ अंक जोडेको छ ।
आइतबारको नतिजापछि रोयल च्यालेन्जर्स बैंगलुरु १३ खेलबाट १२ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ स्थानमा आसिन दिल्ली क्यापिटल्सको पनि १३ खेलबाट १२ अंक छ । लखनउ सुपर जाइन्ट्स १२ खेलबाट १२ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ ।
यसैगरी १२ खेलबाट १० अंक जोडेको गुजरात टाइटन्स तालिकाको आठौँ स्थानमा छ । आठौँ स्थानसम्म रहेका टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ । तर, १३ खेलबाट आठ अंक जोड्दै नवौँ स्थानमा रहेको मुम्बई इन्डियन्स र १२ खेलबाट आठ अंक बटुलेको पञ्जाब किङ्स भने उपाधि होडबाट बाहिरिइसकेका छन् ।
प्रतियोगिताअन्तर्गत सोमबारको खेल कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबिच खेलिने छ । उक्त खेलमा पराजित भए गुजरात टाइटन्स पनि उपाधि होडबाट बाहिरिने तेस्रो टोली बन्नेछ । त्यसैले गुजरातका लागि यो खेल निकै महत्वपूर्ण छ । तर, सोमबारको खेलमा ७० रनभन्दा ठुलो अन्तरले विजयी भएमा गुजरात तालिकाको छैटौँ स्थानमा उक्लने सम्भावना पनि छ ।
चेन्नईले अब एक खेल खेल्न बाँकी छ । प्ले–अफ चरणमा पुग्नका लागि चेन्नईले उक्त खेल जित्नै पर्ने हुन्छ । चेन्नईले अर्को खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्नेछ । अर्कोतिर राजस्थान रोयल्सले दुई खेल खेल्न बाँकी छ । राजस्थानले अर्को खेल पञ्जाब किङ्ससँग खेल्नेछ ।
त्यसपछि राजस्थानले आफ्नो अन्तिम खेल कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । अघिल्लो चरणमा पुग्न राजस्थानले बाँकी दुईमध्ये एक खेल जित्नुपर्ने हुन्छ ।
००
चमत्कारको पर्खाइमा बैंगलुरु
यसका अतिरिक्त सिजनको निराशाजनक सुरुआत गरे पनि पछिल्लो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बैंगलुरुको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै छ । तर, बैंगलुरुको प्ले–अफ चरणको यात्रा अत्यन्तै कठिन देखिन्छ ।
अहिले बैंगलुरुको १३ खेलबाट १२ अंक छ । तालिकाको पाँचौँ स्थानमा आसिन बैंगलुरुले ६ जित र सात हारको नतिजा निकालेको छ । बैंगलुरुको नेट रन रेट अहिले ०.३८७ रहेको छ । बैंगलुरुले आफ्नो अन्तिम खेल बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।
प्ले–अफ चरणमा पुग्ने सम्भावना जिवित राख्न बैंगलुरुले त्यो खेलमा चेन्नईलाई हराउनैपर्ने हुन्छ । त्यो खेलमा विजयी भए बैंगलुरुको अंक १४ पुग्नेछ । तर, यो अंकमात्र बैंगलुरुका लागि प्ले–अफ चरणमा पुग्न पर्याप्त हुने छैन ।
त्यसपछि बैंगलुरुले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । खासगरी सनराइजर्स हैदराबा र लखनउ सुपर जाइन्ट्स आफ्नो बाँकी खेलमा विजयी भए बैंगलुरु स्वतः उपाधि होडबाट बाहिरिने छ । यदि बैंगलुरुले आफ्नो अन्तिम खेल जित्छ र हैदराबाद र लखनउ पनि बाँकी खेलमा पराजित हुन्छन् भने यस्तो स्थितिमा गतिलो रन रेटका आधारमा बैंगलुरु अगाडि बढ्न सक्छ । तर, अहिलेको स्थितिलाई हेर्दा यो सम्भावना निकै कम देखिन्छ ।
समग्रमा रोयल च्यालेन्जर्स बैंगलुरु जारी आईपीएलको प्ले–अफ चरणमा पुग्न थुप्रै संयोग मिल्नु पर्ने देखिन्छ र यसका लागि सानातिनो चमत्कार नै हुनु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक