सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ३० वैशाख २०८१, २१ : ५०
आइतबार, ३० वैशाख २०८१

आज २०८१ वैशाख ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा रविमाथिको छानबिनका लागि कांग्रेस र एमालेको चेपुवामा प्रधानमन्त्री, मधेसमा सरकार परिवर्तन गर्ने तयारी, सङ्घ सरकारबाट बाहिरिने जसपा नेपालको तयारी, माधवकुमार नेपालले पेस गरेको दस्तावेजमा कुन दलबारे कस्तो टिप्पणी ?, संसदको गतिरोध हटाउन परामर्श गर्दै सभामुख, विधान अधिवेशनपछि माओवादी केन्द्रको गतिविधि सुस्त, राष्ट्र बैंकको प्रतिवेदनमा यस्तो छ देशको आर्थिक अवस्था लगायत छन् ।

१. रविमाथिको छानबिनका लागि कांग्रेस र एमालेको चेपुवामा प्रधानमन्त्री
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस र नेकपा एमालेको चेपुवामा परेका छन् । 


२. मधेसमा सरकार परिवर्तन गर्ने तयारी
मधेस प्रदेशमा सरकार परिवर्तन गर्ने तयारी भएको छ । जसपा नेपाल नेतृत्वमा रहेको सरकार विस्थापित गर्न नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका छन् ।

३. सङ्घ सरकारबाट बाहिरिने जसपा नेपालको निर्णय
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। आइतबार आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। 

४. माधवकुमार नेपालले पेस गरेको दस्तावेजमा कुन दलबारे कस्तो टिप्पणी ?
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आसन्न महाधिवेशनमा पेस गर्ने दस्तावेज तयार गरेको छ । शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरे, जसमा विभिन्न दलका बारेमा टिप्पणीसमेत गरिएको छ । 

५. संसदको गतिरोध हटाउन परामर्श गर्दै सभामुख 
संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले परामर्श गरेका छन् । उनले आइतबार प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग परामर्श गरेका हुन् ।  

६. विधान अधिवेशनपछि माओवादी केन्द्रको गतिविधि सुस्त
माओवादी केन्द्रको गतिविधि पछिल्लो समय सुस्त देखिएको छ । खासगरी विधान अधिवेशनपछि माओवादी केन्द्रले साङ्गठनिक गतिविधिलाई सुस्त तुल्याएको हो ।

७. राष्ट्र बैंकको प्रतिवेदनमा यस्तो छ देशको आर्थिक अवस्था
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत छ । 

८. विश्वासको मत लिने तयारीमा दुई मुख्यमन्त्री
कोशी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरू विश्वासको मत लिने तयारीमा छन् । केन्द्रमा फेरिएको सत्ता गठबन्धनपछि ती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुसार तयारीमा जुटेका हुन् । 

९. विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् । 

१०. अपाङ्गता भएका व्यक्तिले गरे प्रदर्शन
सरकारले गरेका सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा प्रदर्शन गरेका छन् । गत वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिका–७ का दीपक भण्डारीसँग सामुदायिक सहायता सेवा सुरुवात गर्ने भनी गरेको सहमति पालना नगरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप