मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मधेस सरकार ढल्दै, अब कसको नेतृत्वमा नयाँ सरकार ?

आइतबार, ३० वैशाख २०८१, १७ : ०६
आइतबार, ३० वैशाख २०८१

वीरगन्ज । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकार ढल्ने भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने भएसँगै सरोज कुमार यादवको मुख्यमन्त्री पद सङ्कटमा परेको हो । जसअनुसार माओवादी केन्द्र र एमालेका मन्त्रीले राजीनामा दिइसकेका छन् । 

माओवादीबाट उद्योग मन्त्री बनेका युवराज भट्टराई (समीर) ले केन्द्रको निर्देशनअनुसार पार्टी सरकारबाट बाहिरिएको र सोहीअनुसार आज आफूसहित दुई मन्त्रीले राजीनामा दिएको बताए । यस्तै सरकारबाट बाहिरिएको एमालेले पनि आजै समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बताइएको छ । 

मधेस प्रदेश सरकारको सत्तारुढ दल माओवादी र एमाले संयुक्तरुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ । यही वैशाखको पहिलो साता नयाँ समीकरण अनुसार लिइएको विश्वासको मतमा मुख्यमन्त्री यादवलाई ६१ जना प्रदेश सांसदले समर्थन जनाएका थिए  ।  

माओवादी र एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि माओवादीका ९ र एमालेका २४ सांसदको समर्थन फिर्ता हुन जान्छ । अर्थात् यो २ वटै दलको ३३ जना प्रदेश सांसद सरकारबाट समर्थन फिर्ता लिन्छन् । यद्यपि, सरकार चलाउन ५४ जना प्रदेश सांसदको समर्थन चाहिन्छ । त्यसकारण यी दुई वटै दल समर्थन फिर्ता लिँदा अंकगणितीय कारणले सरकार अल्पमतमा पर्न जान्छ ।

अब कसले बनाउँछ सरकार ?

केन्द्रमा जसपा नेपाल विभाजन भएपछि त्यसको ‘साइड इफेक्ट’ मधेस सरकारमा परेको हो । जसपा नेपाल विभाजन भएपछि त्यसलाई ‘गोल्डेन चान्स’ ठान्दै प्रदेश सरकारका सत्तारुढ दलहरू माओवादी र एमालेले नयाँ सरकार निर्माण गर्ने गृहकार्यमा लागेका थिए । 

सोहीअनुसार कसले सरकारको नेतृत्व लिने भन्ने सवालमा तारन्तार यी दुबै दलहरुबिच आन्तरिक छलफल हुँदै आएको थियो । तर, अहिलेसम्म कसको नेतृत्व भन्नेमा ठोस सहमति जुटिसकेको छैन । 

एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले पहिला एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको दाबी गरे । त्यसकारण एमाले समर्थन फिर्ता लिन लागेको उनको तर्क छ ।

यस्तै माओवादीले पनि एमाले, जनतम, लोसपा, एकीकृत समाजवादीको साथ लिएर नयाँ सरकार बनाउने रणनीतिमा लिएको बताइएको छ । यद्यपि, लोसपाले अहिलेसम्म सरकारमा जाने/ नजानेबारे कुनै टुङ्गो नलगाएको लोसपा मधेश प्रदेशका नेता जितेन्द्र सोनलले बताए । 

माओवादीसँगै एमाले, जनमत,लोसपा र एकीकृत समाजवादी सरकारमा सहभागी भए क्रमशः ९, २४, १३, ८ र ७ जना सांसदको समर्थन पुग्न जान्छ । अर्थात् नयाँ सरकार गठनका लागि ६१ जना सांसदको समर्थन हुन जान्छ, जुन आवश्यक भन्दा बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप