हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घट्यो, निक्षेप अनुसार कर्जा लगानी हुन नसक्दा राष्ट्रिय आयमा असर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ७.२ प्रतिशतले निक्षेप बढ्दै गर्दा निजी क्षेत्रतर्फको कर्जा लगानी जम्मा ४.६ प्रतिशतले मात्र वृद्धि भएको छ । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँले निक्षेप बढाउँदा समीक्षा अवधिमा यता कर्जा लगानी जम्मा २ खर्ब २२ अर्ब २१ करोडले मात्र वृद्धि गर्न सकेका हुन् ।
अघिल्लो वर्षको यसै अवधिमा निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोड (करिब ७ प्रतिशत) ले वृद्धि हुँदा यता कर्जा लगानी १ खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा सन्तोषजनक रूपमा कर्जा लगानी हुन नसक्दा यसको असर राष्ट्रिय आयमा पर्ने निश्चित छ । खासगरी प्रत्यक्ष उत्पादनसँग जोडिने निजी क्षेत्रतर्फको कर्जा लगानी समीक्षा अवधिमा खासै वृद्धि हुन सकेको छैन ।
२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ४.२ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।
२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गाधितो सुरक्षण रहेको छ । २०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र६६.९ प्रतिशत रहेको थियो ।
हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घट्यो
आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले बढ्दै गर्दा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढ्न पुगेको छ ।
यसैगरी निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.७प्रतिशतले बढेका छन् ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले बढ्दा नगद प्रवाहकर्जा २७.४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशतले बढेको छ ।
यसैगरी समीक्षा अवधिमा मार्जिन प्रकृतिको (सेयर धितोकर्जा) १२.९ प्रतिशतले बढ्दा यता हायर पर्चेज कर्जा भने १६.९ प्रतिशतले घट्न पुगेको छ । यसैगरी अधिविकर्ष कर्जा ४३.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र ट्रष्ट रिसिट (आयात) कर्जा समेत ०.२ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग
-
किन राजनीतिक किनारामा पुर्याइए भीम रावल ?
-
राखेपमा ८ जना सदस्य नियुक्त
-
सुनिल पौडलको भ्रष्टाचार मुद्दामा विशेषले मगायो सिंगापुरको बैंकको विवरण
-
बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
-
संघका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने बागमती सरकारको निर्णय