विधान अधिवेशनपछि माओवादीको गतिविधि सुस्त, के गर्दैछन् प्रदेश कमिटी ?
काठमाडौँ । फागुनको पहिलो साता काठमाडौँमा सम्पन्न प्रथम विधान अधिवेशनपछि माओवादी केन्द्रको गतिविधि सुस्त देखिएको छ । अन्तरिम विधानलाई प्रतिस्थापन गरी साङ्गठनिक संरचना चुस्त दुरुस्त बनाउन माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गरेको थियो ।
अधिवेशनले चैत र वैशाखमा दुई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार पहिलो चरणमा चैत १ देखि १५ गतेसम्म तराई मधेस जागरण अभियान र वैशाख १ देखि १५ गतेसम्म दोस्रो चरण अन्तर्गत हिमाल, पहाड र तराई राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
फागुन १६ गते बसेको स्थायी समिति बैठकले अभियानको खाकासमेत बनाउँदै प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको थियो । चैत २ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अधिवेशनबाट आएको सुझावलाई सम्पादनसहित अनुमोदन गरेको थियो । चैत ६ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्षा प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले पूर्वनिर्धारित दुई अभियान तयारी नपुगेको कारण देखाउँदै स्थगित गर्ने निर्णय गर्यो । त्यसयता केन्द्रीयस्तरमा पार्टीका गतिविधि सुस्त देखिएको छ । फागुन २१ गते माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग मिलेर नयाँ समीकरण बनाएपछि पार्टीको कामलाई भन्दा सरकारको काममा बढी ध्यान केन्द्रित गरेका छन् । सोही कारण पार्टीको गतिविधि सुस्ताए पनि नियमित काम भइरहेको उपाध्यक्ष पम्फा भुसालले बताइन् ।
‘पार्टीको नियमित काम चलिरहेको छ । आ–आफ्ना प्रदेशका बैठक बस्ने, अभियान बनाउने काम भइरहेको छ । सरकारको काममा अध्यक्ष बढी व्यस्त हुनुहुन्छ,’ उनले भनिन्, ‘सोही कारण पार्टीको बैठक बस्न सकेको छैन ।’
वडा सम्मेलनको तयारीमा कोशी प्रदेश
अहिले सबै प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन भइसकेको माओवादीका नेताहरूले बताएका छन् । कोशी प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुङ्ग्याएर वडा सम्मेलनको तयारी भइरहेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
उनले प्रदेश कमिटीबाट निर्णय गरेर नियमित अभियान सञ्चालन भइरहेको बताए । ‘हामीले यहाँको सङ्गठन सुदृढीकरणलाई ध्यान दिएर अभियान चलाएका छौँ । केन्द्रीय सदस्यहरूलाई आ–आफ्नो भूगोलमा पठाइएको छ,’ उनले भने, ‘अहिले वडाको अधिवेशन गर्नुपर्ने भएकाले त्यसमा ध्यान केन्द्रित गरेका छौँ । पार्टीको विशेष अधिवेशन सकिएपछि पालिका र प्रदेशको सम्मेलन हुनेछ ।’
भदौ महिनाभित्र प्रदेश सम्मेलन गर्ने तयारीमा मधेस प्रदेश
आठौँ महाधिवेशनपछि शीर्ष नेताहरूको गुटगत प्रभावका कारण अहिलेसम्म नेतृत्वविहीन भएको मधेस प्रदेशमा भदौभित्र सम्मेलन गर्ने तयारीमा जुटेको छ । वैशाख २५ गते बसेको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले नेताहरूको कार्याविभाजन गर्नुको साथै भदौ महिनाभित्र सम्मेलन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य विश्वनाथ साहले जानकारी दिए ।
‘बैठकले भदौ महिनाभित्र प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्यविभाजन पनि भएको छ’, साहले भने, ‘यही क्रममा सदस्यता नवीकरण, वडा कमिटी, नगर र जिल्ला समन्वय समिति गठन गर्ने कार्यक्रम तय भएको छ । अभियानभन्दा पनि सम्मेलनको तयारी गरिरहेका छौँ ।’
साहले नेताहरूको कार्यविभाजनलाई लिएर केही नेताले असन्तुष्टि जनाएको स्वीकार गरे । ‘कार्यविभाजनलाई लिएर केही केन्द्रीय कमिटी सदस्यहरूको असन्तुष्टि छ । यस विषयमा छलफल भइरहेको छ, हल हुन्छ,’ उनले भने ।
कार्यविभाजनमा असन्तुष्टि जनाउँदै जगत यादव लगायतका नेताहरूले बैठक बहिस्कार गरेका थिए । पछिल्लो पटक प्रदेशको इन्चार्ज भएर गएका लीलामणि पौडेलले आन्तरिक विवाद समाधान गर्ने प्रयास जारी राखे पनि सफल हुन सकेको छैन । मधेस प्रदेशमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल, मात्रिका यादवबिच देखिएको शक्ति सङ्घर्ष अन्त्य नहुँदा समस्या देखिएको छ ।
बागमतीमा असार १५ सम्म सबै जनवर्गीय सङ्गठनको सम्मेलन गर्ने तयारी
यता सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशमा यसअघि सञ्चालन भएको तीन महिने रुपान्तरण अभियानकै क्रममा वडा सम्मेलन सम्पन्न भएको थियो । प्रदेश इन्चार्जमा अग्निप्रसाद सापकोटा नियुक्त भएपछि केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन सम्पन्न भइसकेको छ । पार्टीको नियमित अभियान जारी रहेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
‘पार्टीको नियमित अभियानमा हामी छौँ । पछिल्लो अभियान १२ वटा जिल्लामा सम्पन्न भइसकेको छ । अब एउटा जिल्ला बाँकी छ’, उनले भने ।
यसैगरी बागमती प्रदेशको समीक्षा तथा सङ्गठनात्मक कार्यक्रम सम्पन्न भएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार प्रदेशमा कार्यरत केन्द्रीय कमिटी सदस्य र बागमती प्रदेश कमिटीलाई संयोजन गर्नका लागि संयोजन कमिटी गठन गरिएको छ । जसमा इन्चार्ज अग्निप्रसाद सापकोटा र सहइन्चार्ज शशी श्रेष्ठ छन् । सदस्यहरूमा अन्जना विसंखे, सूर्य सुवेदी पथिक, हितबहादुर तामाङ, ईश्वरी भट्टराई, पुष्पविक्रम मल्ल, कृष्णप्रसाद सापकोटा, शालिकराम जम्कट्टेल, सरल सहयात्री छन् ।
प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कमिटीले बागमती प्रदेशका समन्धमा केन्द्रीय कमिटीले प्रत्यायोजन गरेका विषयहरूमा छलफल गर्नेछ । सोही अनुसार १३ वटा जिल्लामध्ये १२ वटा जिल्लाका पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकमा मूलतः पार्टीभित्र छलफल, बहस, निर्णय, सिफारिस लगायतका विषयलाई संस्थागत विकास गर्ने, आत्मालोचनालाई मुख्य विषय बनाउने र आन्तरिक एकतालाई सदृढ गर्ने, वैचारिक विकास गर्नका लागि आगामी महाधिवेशनमा हरेक समितिहरूले विचारमा थप गर्नुपर्ने गरी तयारी गर्ने जनाइएको छ ।
यसैगरी चैत ७ गते संयोजन समितिको बैठक बसेको थियो । चैत ११ गते प्रदेशमा कार्यरत केन्द्रीय कमिटी सदस्यहरूको बैठक, चैत १४ गते प्रदेश कार्यालयको विस्तारित बैठक, चैत २८ गते प्रदेश संयोजन समितिको बैठक बसेको थियो । वैशाख ३ गतेबाट जिल्लाहरूको बैठक सुरू, असार १५ सम्ममा सबै जनवर्गीय सङ्गठनको जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
अन्य प्रदेशमा के के छ गतिविधि ?
लुम्बिनी प्रदेशमा सदस्यता नवीकरण तथा सङ्गठन विस्तार अभियान तीव्र गतिमा भइरहेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । उनका अनुसार सदस्यता नवीकरणलाई अन्तिमरूप दिने, जिल्लाको सबै बैठक सकेर वडा र पालिकाको बैठक चलिरहेको छ । सम्भव भएसम्म जेठबाट वडा अधिवेशन गर्ने तयारी भइरहेको उनले बताए ।
‘सदस्यता नवीकरण र सङ्गठन विस्तार अभियानमा छौँ । सबै जवस मोर्चाका भेला, सम्मेलन अगाडि बढाउने काम भइरहेको छ । केन्द्रीय नेताहरूको जिम्मेवारी तोकिसकेको छ’, प्रदेशको अवस्थाबारे उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा देखिएको सत्ता सङ्घर्षका कारण दलीय गतिविधिमा प्रभाव परेको छ । बिहीबार समेत सरकार गठनको विषयमा मुख्यमन्त्री दीर्घ सोडारीसहित शीर्ष नेताहरूको बैठक बसेको केन्द्रीय सदस्य ओम प्रकाश पुनले जानकारी दिए ।
वैशाख १० देखि ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार’ दुई महिने रुपान्तरण अभियान चलिरहेको उनले बताए ।
‘सरकार गठनको विषयमा ध्यान केन्द्रित गर्नुपरेको छ । जिल्ला जिल्लामा अभियान चलिरहेको छ । नेताहरूको कार्यविभाजन भएको छैन’, पुनले भने, ‘एक चरण सबै जिल्लाको बैठक सम्पन्न भइसकेपछि कार्य विभाजन टुङ्गो लगाउने तयारी भएको छ । अहिले वडा सम्मेलनको तयारी भइरहेको छ ।’
कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन भइसकेको छ । सबै जिल्ला सङ्गठन सुदृढीकरण तथा सदस्यता नवीकरणमा नेताहरू लागेका छन् । सबै वडामा सम्मेलनको तयारी भइरहेको छ । तर जेठको पहिलो हप्ताबाट सुरू हुने भनिएको सबै जिल्लाका वडा सम्मेलन तयारी नपुगेकाले समस्यामा परेको अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
यस्तै उनले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट व्यवस्थापन समिति गठन भएको बताइन् ।
यता गण्डकी प्रदेशमा पनि सङ्गठन सुदृढीकरण तथा सदस्यता नवीकरणको काम भइरहेको अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।
अहिले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेल, सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेलाई दिइएको छ । मधेस प्रदेशको इन्चार्ज सचिव लीलामणि पोखरेल र सहइन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य विश्वनाथ साहले पाएका छन् ।
बागमती प्रदेशको इन्चार्ज उपाध्यक्ष अग्निप्रसाद सापकोटा छन् । विवादका कारण खाली राखिएको सहइन्चार्जमा स्थायी कमिटी सदस्य शशी श्रेष्ठलाई नियुक्त गरिएको छ ।
गण्डकी प्रदेशको इन्चार्ज सचिव दिनानाथ शर्मा र सहइन्चार्ज केन्द्रीय कमिटी सदस्य हरिराज अधिकारीलाई दिएको छ । यसैगरी लुम्बिनी प्रदेशको इन्चार्ज चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी कमिटी सदस्य कुलप्रसाद केसी छन् ।
कर्णाली प्रदेशको इन्चार्ज स्थायी कमिटी सदस्य कालिबहादुर मल्ल छन् भने सहइन्चार्ज खाली राखिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज उपमहासचिव गिरिराजमणि पोखरेल, सहइन्चार्ज केन्द्रीय कमिटी सदस्य बिना मगरलाई बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै