प्ले-अफ चरणमा पुग्न सङ्घर्षरत दिल्ली र बैंगलुरुबिच रोचक भिडन्त
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । उक्त खेल दिउँसो ३ः ४५ बजे चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा सुरु हुनेछ ।
आइतबारको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच खेलिने छ । उक्त खेल बैंगलुरुस्थित एम। चिन्नास्वामी स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा बैंगलुरु र दिल्ली दुवैले आफ्नो १३ औँ खेल खेल्न लागेका हुन् ।
जारी सिजनको आईपीएलमा दिल्ली र बैंगलुरु पहिलो पटक आपसमा भिड्न लागेका हुन् । दिल्लीले यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ ।
बैंगलुरुले भने यसअघि खेलिएको १२ मध्ये पाँच खेलमा जित सातमा हारको नतिजा निकालेको छ । बैंगलुरु १० अङ्कसहित तालिकाको सातौँ स्थानमा आसीन छ । सिजनको अत्यन्तै निराशाजनक सुरुआत गरेको बैंगलुरुले पछिल्लो चरणमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
दिल्ली र बैंगलुरु दुबैका लागि आइतबारको खेल निकै महत्त्वपूर्ण छ । प्रतियोगिता उत्तरार्धतर्फ अघि बढिरहँदा यी दुवै टोली प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । आइतबारको खेलमा पराजित भए दुवै टोलीका लागि अगाडिको यात्रा निकै कठिन बन्नेछ ।
००
हेड टु हेडमा बैंगलुरु अगाडि
इन्डियन प्रिमियर लिगको इतिहासमा हालसम्म रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच कुल ३० खेल खेलिएको छ । त्यसमध्ये १८ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । ११ खेलमा भने दिल्लीले बैंगलुरुलाई पराजित गरेको छ ।
यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा हालसम्म यी दुई टोलीबिच कुल ११ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा बैंगलुरु र चार खेलमा दिल्ली विजयी भएका छन् । यही स्टेडियममा खेलिएको एक खेल अनिर्णीत रूपमा सकिएको हो ।
००
लयमा छन् बैंगलुरुका विराट
जारी सिजनको इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । कोहलीसँग कप्तान फाफ डु प्लेसिस र दिनेश कार्तिक पनि लयमा देखिएका छन् ।
प्रभावशाली भारतीय ब्याट्सम्यान कोहलीले हालसम्म टोलीका लागि १२ खेल खेल्दै कुल ६ सय ३४ रन बनाइसकेका छन् । कोहली जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । कप्तान फाफ डु प्लेसिसले पनि १२ खेलमा कुल तीन सय ६१ रन बनाएका छन् । दिनेश कार्तिकले १२ खेलमा तीन सय एक रन बटुलेका छन् ।
यो सिजनको आईपीएलमा बैंगलुरुका बलरले भने गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । बैंगलुरुका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा भने मोहम्मद सिराज पहिलो स्थानमा छन् । मोहम्मद सिराजले १० खेलमा ११ विकेट लिएका छन् ।
००
दिल्लीको सर्वाधिक विकेट मुकेशको नाममा
इन्डियन प्रिमियर लिगको जारी संस्करणमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान ऋषभ पन्त हुन् । उनले १२ खेलमा कुल चार सय १३ रन बनाइसकेका छन् ।
ऋषभ पन्तको अनुपस्थितिमा दिल्लीको आश ट्रिस्टन स्टब्समाथि रहने छ । ट्रिस्टन यो सिजन टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा आसीन छन् । उनले १२ खेलमा कुल तीन सय १८ रन बनाएका छन् ।
दिल्ली क्यापिटल्सका लागि यो सिजन सर्वाधिक विकेट लिने बलर भने मुकेश कुमार हुन् । उनले टोलीका लागि हालसम्म आठ खेल खेल्दै कुल १५ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलरको सूचीमा कुलदीप यादव दोस्रो स्थानमा छन् । उनले नौ खेलमा १४ विकेट हात पारेका छन् ।
००
दिल्लीका कप्तान अनुपस्थित
रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त भने अनुपस्थित रहने छन् । उनको स्थानमा अक्षर पटेलले टोलीको कप्तानी गर्ने बताइएको छ । जारी सिजनको आईपीएलमा तीन खेलमा ‘स्लो ओभर रेट’ का कारण ऋषभ पन्तमाथि एक खेलको प्रतिबन्ध लगाइएको छ ।
दिल्ली क्यापिटल्सले मे ७ तारिखमा खेलिएको राजस्थान रोयल्सविरुद्धको खेल, अप्रिल ३ तारिखमा खेलिएको कोलकाता नाइट राइडर्सविरुद्धको खेल र २१ मार्चमा खेलिएको चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको थियो ।
००
ब्याट्सम्यानलाई साथ दिने पिच
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच आइतबारको खेल हुने एम। चिन्नास्वामी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९३ खेल खेलिएको छ । त्यसमध्ये ३९ खेलमा पहिलो ब्याटिङ गर्ने टोली र ५० खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । चार खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
००
वर्षाले खेल बिथोल्ने सम्भावना
रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन आइतबार बैंगलुरुमा २५ प्रतिशत वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर बैंगलुरुको आकाश बादलले ढाकेको हुनेछ । आइतबार बैंगलुरुको तापक्रम भने २२ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहने छ ।
००
सम्भावित टोली
रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक्स, रजत पाटिदार, महिपाल लोमरोर, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा र लोकी फर्गुसन । इम्प्याक्ट प्लेयर : यश दयाल ।
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान) , ज्याक फ्रेजर, अभिषेक पारेल, साई होप, ट्रिस्टन स्टब्स, यश दुल वा कुमार कुशाग्र, सुमित कुमार, रसिख सलाम, कुलदीप यादव, मुकेश कुमार र झे रिचर्डसन । इम्प्याक्ट प्लेयर : खलिल अहमद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फास्ट ट्र्याक’ मार्फत विधेयक अघि बढाउने तयारी
-
कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सञ्चालन हुने
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक
-
नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
-
पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
-
निर्माण सामग्रीका मूल्यवृद्धिदेखि ठुला आयोजनामा भ्रष्टाचार सम्बन्धी उजुरी लेखा समितिमा