बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बेथिति

बङ्गलादेशमा छात्रवृत्तिमा एमबीबीएस पढ्न जाने १० जनाको नाम काटेर अरू नै सिफारिस

आइतबार, ३० वैशाख २०८१, १२ : ०७
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने भनेर चिकित्सा शिक्षा आयोगले निकालेको सूची भन्दा फरक नाम सिफारिस गरेको पाइएको छ । एमबीबीए र बीडीएस पढ्नका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगले सिफारिसको भन्दा १० जना विद्यार्थी अरू नै सिफारिस भएको पाइएको हो ।

बङ्गलादेश सरकारले १९ वटा एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनालाई छात्रवृत्ति दिने लागेको थियो । त्यसमा आयोगले एकीकृत प्रवेश परीक्षामा मार्फत पास भएका २२ जना विद्यार्थीको नाम सार्वजनिक गर्दै सिफारिस गरेको थियो ।

आयोगको सिफारिसको आधारमा शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत नेपालस्थित बङ्गलादेशको राजदूतावासमा सूची पठाएको थियो । तर, अहिले आएर आयोगले सिफारिस गरेका १० विद्यार्थीको नाम काटेर अर्कै व्यक्तिको नाम सूचीमा आएको पाइएको हो ।

आयोगले पठाएको सूचीभन्दा फरक गएर बङ्गलादेश सरकारले सूची सार्वजनिक गरेपछि विद्यार्थीहरू तनावमा परेका छन् । केही दिनबाट बङ्गलादेशमा पठनपाठन सुरु हुँदैछ । तर, सूची नै फरक आएपछि सूचीमा परेका विद्यार्थीलाई समेत बङ्गलादेश जान रोकेको छ ।

आयोगको उपाध्यक्ष प्राडा अञ्जनी कुमार झाले आयोगले सत्कृतताको आधारमा सूची तयार पारेर शिक्षा मन्त्रालयमा बुझाएको बताए । आफूहरूले एकीकृत प्रवेश परीक्षा मार्फत सत्कृतताको आधारमा विद्यार्थीहरूको सूची मन्त्रालयमा बुझाएको र त्यो बाहेक केही जानकारी नपाएको बताए ।

बङ्गलादेशको छात्रवृत्ति सूचना नेपालको परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा आउँछ । त्यसपछि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा सेवा आयोगमा पठाउँछ । आयोगले मापदण्डका आधारमा उत्कृष्टताका आधारमा छनोट गर्ने गरेको छ । त्यही लिस्ट शिक्षा मन्त्रालयले परराष्ट्रमार्फत बङ्गलादेश पठाउने र बाँकी प्रक्रिया बङ्गलादेशकै कानुन अनुसार हुन्छ । 

त्यसरी सूची पठाउने क्रममा नेपालको तर्फबाट केही गल्ती भयो कि भनेर सरोकारवाला मन्त्रालयबिच समेत छलफल भएको थियो । तर, त्यसमा कुनै समस्या नदेखिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीले आयोगबाट आएको सूचीलाई परराष्ट्र मन्त्रालयमा पठाइएको र परराष्ट्र मन्त्रालयले समेत सोही सूची बङ्गलादेशको दूतावासमा पठाएको बताए ।

आयोगले पठाएको सूची हामीले बङ्गलादेशलाई पठाएको पाईको छ । यस विषयमा परराष्ट्र मन्त्रालयले पनि शिक्षा सचिव र परराष्ट्र सचिवलाई नै राखेर बैठक गरेको थियो । त्यसपछि बङ्गलादेशलाई एउटा ‘कूटनीतिक नोट’ पनि पठाइसकेको छ,’ ती अधिकारीले भने ।

कूटनीतिक नोटका विषयमा बङ्गलादेश सरकारबाट हालसम्म कुनै प्रतिक्रिया नआएको परराष्ट्रका एक अधिकारीले बताए । यो विषयमा संसद्को शिक्षा समितिमा समेत छलफल भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले २०८०-०९-२९ गते बङ्गलादेश सरकारको पत्रको आधारमा २२ जना विद्यार्थीलाई छात्रवृत्ति दिनेबारे पत्र शिक्षा मन्त्रालयलाई पठाएको थियो । सोही आधारमा आयोगले २०८०-१०-१४ गते छात्रवृत्तिमा तोकिएको सङ्ख्या अनुसार छनौट गरी उम्मेदवारहरूको विवरणसहितको नामावली र आयोगले प्रकाशित गरेको सूची अनुसार नै शिक्षा मन्त्रालयले सूची परराष्ट्रलाई पठाएको थियो । परराष्ट्रले त्यही आधारमा दूतावासमा पेस गरेको थियो ।

तर, काठमाडौँस्थित बङ्गलादेश राजदूतावासले २ मे २०२४ मा कूटनीतिक नोट पठाउँदा पहिला सिफारिस गरेको विद्यार्थीहरूको नाम अनुसार नआएर अर्कै सूची आएको थियो । दूतावासबाट आएको नाममा १० जना एमबीबीएस र २ जना बीडीएसका लागि अध्ययन गर्ने विद्यार्थीको मात्रै नाम आएको थियो । ती बाहेक १० जनाको हकमा भने सूची बाहेकको नाम आएको पाइएको हो ।

शिक्षा मन्त्रालयले २०८१-०१-२३ गते मन्त्रीस्तरीय निर्णय गर्दै आयोगले सिफारिस गरेकै विद्यार्थीहरूलाई छात्रवृत्तिमा पढ्न पाउने व्यवस्था मिलाईदिन अनुरोध गर्दै पत्राचार गरेको थियो ।  

यो विषयमा बङ्गलादेश सरकारबाट हालसम्म कुनै जवाफ नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

bangaladesh_scholarship MEC list  (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप