एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपाले दिने
विराटनगर । एकीकृत समाजवादीले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएकाे छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै सो पार्टी मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकमा अनुपस्थिति रहने भएको हाे ।
एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।
‘अदालतमा मुद्दा विचाराधीन छ । हतार हतार विश्वासको मत लिनु हुँदैन थियो । संविधानको प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदा हुँदै अदालतले जेठ ९ गते सुनुवाइ गर्ने भनिसकेको अवस्थामा हतार गर्नुहुँदैन थियो,’ राईले भने ।
उनले आफ्नो पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेका कारण पनि सोमबार बस्ने संसद् बैठकमा उपस्थिति हुन नसक्ने बताए । ‘हाम्रो पार्टीको राष्ट्रिय अधिवेशन पनि छ । हामी सबै सांसदहरू केन्द्रीय सदस्य हौँ । भोलि उपस्थित हुन सक्दैनौँ,’ उनले भने । उनले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा अगामी अन्य संसद् बैठकमा विशेष समय लिएर प्रस्ट पार्ने बताए ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गरिनसकेको बताएका छन् । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए । ‘तत्काल हामी सरकारमा जाँदैनौं । तर, सरकारलाई समर्थन गरेर बाहिरै बस्ने कि समर्थन नदिने भन्ने विषयमा भोलि निर्णय गर्छौं,’ सिटौलाले भने ।
उता, जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताइन् । ‘हाम्रो दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भनिन्, ‘हामीले समर्थन गरिसकेका छौँ ।’
एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा कांग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटको अन्तिम सुनुवाइका लागि अदालतले जेठ ९ गतेका लागि तोकेको छ ।
कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपा नेपालका १ सांसद छन् । जसपा नेपालकी सांसद निर्मला लिम्बूले केन्द्रमा पार्टी विभाजन भए पनि अहिले कुन दल रोज्ने भन्ने निर्णय गरिनसकेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै