दुबैका लागि महत्त्वपूर्ण खेलमा एकअर्कालाई चुनौती दिँदै राजस्थान र चेन्नई
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । उक्त खेल दिउँसो ३ः४५ बजे चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा सुरु हुनेछ ।
आइतबारको दोस्रो खेल रायल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच खेलिने छ । उक्त खेल बैंगलुरुस्थित एक चिन्नास्वामी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको लिग उत्तरार्धतर्फ लम्किरहेकाले आइतबारको दुवै खेल रोमाञ्चाक हुने पक्का छ ।
राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिचको खेल त अझ रोमाञ्चक हुने अनुमान गरिएको छ । हाल राजस्थान रोयल्स १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । चेन्नई सुपर किङ्स भने १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
जारी सिजनको आईपीएलमा राजस्थानले १२औं र चेन्नईले १३औँ खेल खेल्न लागेका हुन् । राजस्थानले यसअघि खेलिएको ११ मध्ये आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नईले भने यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ ।
आइतबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । राजस्थान रोयल्स यो खेलमा चेन्नईलाई हराउँदै क्यालिफायर चरणमा पुग्ने दोस्रो टोली बन्ने धुनमा रहने छ । कोलकाता नाइट राइडर्स भने यसअघि नै प्रतियोगिताको क्वालिफायर चरणमा प्रवेश गरिसकेको छ ।
अर्कोतिर, चेन्चई सुपर किङ्स पनि यो खेलमा बलियो राजस्थानलाई हराउँदै प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवितै राख्ने योजनामा रहने छ । राजस्थान र चेन्नई जारी सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
हेड टु हेडमा दुई खेलको अन्तर
इन्डियन प्रिमियर लिगको इतिहासमा हालसम्म चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबिच कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा चेन्नईले राजस्थान रोयल्सलाई हराएको छ । बाँकी १३ खेलमा राजस्थानले चेन्नईलाई पराजयको स्वाद चखाएको छ ।
यसैगरी चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल आठ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई हराएको छ । बाँकी दुई खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
चेन्नईको सर्वाधिक रन कप्तान ऋतुराजको नाममा
जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा कप्तान ऋतुराज गायकवाड पहिलो स्थानमा छन् । उनले हालसम्म टोलीका लागि १२ खेल खेल्दै कुल पाँच सय ४१ रन बनाएका छन् ।
आईपीएलको यो संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी विराट कोहलीपछि दोस्रो स्थानमा आसिन छन् । रोयल च्यालेन्जर्स बैंगलुरुका विराटले भने १२ खेलमा कुल ६ सय ३४ रन बनाइसकेका छन् ।
ऋतुराजका अतिरिक्त अलराउन्डर शिवम दुबेले पनि जारी सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले १२ खेलमा तीन सय ७१ रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर भने मुस्तफिजुर रहमान र तुषार देशपाण्डे हुन् । यी दुबैले १४–१४ विकेट लिएका छन् ।
चहलको नाममा राजस्थानको सर्वाधिक विकेट
इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा हालसम्म राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान संजु सामसन हुन् । उनले टोलीका लागि ११ खेल खेल्दै कुल चार सय ७१ रन बनाएका छन् ।
जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी पाँचौँ स्थानमा आसिन छन् । राजस्थानका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा रियान पराग छन् । उनले कुल चार सय ३६ रन बनाएका छन् ।
राजस्थानका लागि सर्वाधिक विकेट लिने बलर भने स्पिनर युजवेन्द्र चहल हुन् । उनले हालसम्म टोलीका लागि १४ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा ट्रेन्ट बोल्ट दोस्रो स्थानमा आसिन छन् । उनले ११ विकेट लिएका छन् ।
स्पिनरलाई साथ दिने पिच
इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबिच आइतबारको खेल हुने एमए चिदम्बर स्टेडियम खासगरी स्पिनर बलरलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८२ खेल खेलिएको छ ।
त्यसमध्ये ४८ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । बाँकी ३४ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । उक्त स्कोर सन् २०१० को आईपीएलमा चेन्नईले राजस्थान रोयल्विरुद्ध बनाएको थियो ।
हावा–हुरीको सम्भावना
चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबिच खेल हुने दिन आइतबार चेन्नईको मौसम प्रतिकुल रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चेन्नईमा आइतबार बिहानैदेखि मौसम खराब रहने बताइएको छ ।
समाचारमा जनाइए अनुसार, चेन्नईमा हावा–हुरी चल्ने प्रबल सम्भावना छ । चेन्नईमा आइतबार ४० प्रतिशत वर्षाको सम्भावना रहेको बताइएको छ । चेन्नईको तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ ।
सम्भावित टोली
चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, ड्यारल मिचेल, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, तुषार देशपाण्डे र सिमरजीत सिंह । इम्प्याक्ट प्लेयर : अजिनक्या रहाणे ।
राजस्थान रोयल्स : संजु सामसन (कप्तान तथा विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, डेनोभन फरेरा, रोभमन पावेल, शुभम दुबे, रविचन्द्रन आश्विन, ट्रेन्ट बोल्ट, आवेश खान, संदीप शर्मा र युजवेन्द्र चहल । इम्प्याक्ट प्लेयर : जस बट्लर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए
-
दुर्गा प्रसाईँलाई अदालत लगियो
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सन आजदेखि
-
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव