उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच नेता तथा कार्यकर्ताहरू आआफ्नो पक्षमा तान्ने होड चलिरहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा जसपा नेपाल गठन भएसँगै निर्वाचन आयोगले सनाखतका लागि समय तोकिसकेको छ । फलतः दुवै पक्षले पालिकादेखि प्रदेशसम्म पुगेर जनप्रतिनिधि तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा खुल्न आग्रह गरिरहेका छन् ।
कोशी प्रदेश र लुम्बिनी प्रदेशमा अशोक राई नेतृत्वको जसपाले कब्जा जमाएको छ भने मधेसमा प्रदेशमा उपेन्द्र यादवको नेतृत्वले कब्जा जमाएको छ ।
मधेस प्रदेशमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैँ पुगेर नेता तथा कार्यकर्ता व्यवस्थापनमा लागिपरेका छन् । शनिबार मात्र उनले जनकपुरमा शक्ति प्रदर्शन गरेका छन् ।
जसपाका महासचिव इस्तियाक राई पनि लुम्बिनी प्रदेश पुगेका छन् । उनले भने, ‘लुम्बिनी प्रदेशमा जसपा नेपालका ९९.९९ प्रतिशत नेता तथा कार्यकर्ता जसपामा रहेका छन्, कोही एक दुई जनालाई यता आउन मन लागेको छैन भने त्यसमा उसको स्वतन्त्र हो ।’
अगुवा कार्यकर्ता भेलामा वडा तहदेखि पालिका, जिल्ला, प्रदेशसम्मका कार्यकर्ता तथा नेताहरू उपस्थित भएर जसपालाई समर्थन जनाएको उनले दाबी गरे ।
जसपा नेपालका नेताहरू मधेस प्रदेशका पालिका तथा जिल्लाहरूमा कार्यकर्ताको बिचमा विभिन्न कार्यक्रमहरू सुरु गरेका छन् । आफ्नो पक्षमा राख्नका लागि विभिन्न आश्वासन दिइरहेका छन् । सप्तरी, सिराहा, मोरङ, सुनसरी, रुपन्देही, बाँके, पर्सालगायत विभिन्न जिल्लामा जसपा नेपालको कार्यक्रमहरू गरिरहेका छन् ।
अशोक राई पक्षका नेताहरूले पनि विभिन्न कार्यक्रमहरू गरेर तथा विज्ञप्तिहरू जारी गर्न लगाइ आफ्नो पार्टीमा खुल्न आग्रह गरिरहेका छन् । उपेन्द्र यादव पक्षलाई आफ्नो कार्यकर्ता जोगाउनमा धौधौ परिरहेको छ । कुन कार्यकर्ता कताबाट अशोक राईतिर जान्छ भन्ने तनावमा सो पार्टीका नेताहरू देखिन्छ ।
बाँके जिल्लामा दुवै पक्षबाट विज्ञप्ति जारी गरी आआफ्नो पक्षलाई समर्थन गर्ने काम भएको छ । जसपा बाँके जिल्ला समितिका अध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले एक विज्ञप्ति जारी गरी संस्थापन पक्ष उपेन्द्र यादवको पक्षमा रहेको र अरूलाई पनि त्यसैमा गोलबन्द हुन आग्रह गरेका थिए ।
त्यसपछि बाँके जिल्ला समिति जसपाका सङ्गठन विभाग प्रमुख अतहर हुसैन फारुकी, सचिव राजेन्द्र विश्वकर्मा र नेपालगन्ज उपमहानगरपालिका समितिका अध्यक्ष अरुण सिंहले विज्ञप्ति जारी गरी अशोक राई को पक्षमा सनाखत गर्न सबैमा आग्रह गरेका छन् ।
सिराहामा पनि विभिन्न पालिका बैठक बसी उपेन्द्र यादवप्रति ऐक्यबद्धता जनाउने काम भइरहेको छ । जसपा नेपाल मधेस प्रदेश कमिटीका कोषाध्यक्ष रेणु यादवले मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति एकमत छ, कोही पनि यताउति नभएको दाबी गरे ।
'अरू प्रदेशमा के छ थाह छैन तर मधेस प्रदेशमा सबै नेता तथा कार्यकर्ता जसपा नेपालप्रति एक ढिका रहेको छ' उनले दाबी गरे ।
जसपा नेपालका कोषाध्यक्ष एवं पूर्व मन्त्री डा.वीरेन्द्र महतो पनि आफ्नो जिल्ला (सिराहा)मा नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
अशोक राई नेतृत्वका जसपाका नेताहरू भेट्न जाँदा उनीहरूप्रति नेताहरूको एउटै गुनासो हुन्छ, पार्टी विभाजन गर्दा किन छलफल भएन ? अपर्झट निर्णय लिन गाह्रो भएको कतिपय नेताहरू बताउँछन् ।
सनाखतको समय अझै बाँकी छ । उपेन्द्र यादव पक्षबाट अदालतमा मुद्दा दायर गर्ने कुरा पनि भइरहेको छ । मुद्दा दायर भएपछिको अवस्था के हुने हो त्यो अवस्था हेरेर पनि कतिपयले निर्णय लिने भनिरहेको अशोक राई नेतृत्वको जसपाका नेताहरू बताउँछन् ।
उपेन्द्र नेतृत्वका जसपा नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भगतराम थारु भन्छन्, ‘सुदूरपश्चिमका एक जना केन्द्रीय सदस्य हेमन्तराज मान्दवा अशोक राईको साथमा जानु भएको छ त्यसबाहेक अरू सबै संस्थापन पक्षमा एक ढिक्का रहेको छ ।’
अशोक राईहरुले पार्टी विभाजन गर्दा कसैसँग सरसल्लाह तथा छलफल नगरेको अधिकांश कार्यकर्ताको गुनासो छ । कतिपयले भने पार्टी विभाजनको औचित्य पुष्टि नभएको गुनासो गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता