शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू

आइतबार, ३० वैशाख २०८१, ०६ : ४३
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । शनिबार नेपाली कांग्रेसका स्पष्ट वक्ता नेता चन्द्र भण्डारीले आफ्नो फेसबुक पेजमा एउटा पोस्ट गरे । उनको पोस्टमा भनिएको थियो “कीर्तियस्य स जीवति ! नमन छ डा सुनिल शर्मालाई ।” 

पोस्टमा थप लेखिएको थियो “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दो रहेछ । सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्ने चाहना पनि हुनुपर्ने रहेछ । डा सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँलाई निःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन् । विकट क्षेत्रका बिरामीलाई सिनामंगलको केएमसी मा ल्याएर निःशुल्क उपचार पनि गराएका छन् । यसरी नै सवै मेडिकल कलेजहरूले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउने थियो । डा सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्मपरायण रहेछन् । उहाँको यस कार्यप्रति म हृदयतः कृतज्ञता प्रकट गर्दछु ।”

डा सुनिल शर्माले आफ्नो अग्रसरतामा पूर्वी नेपाल देखि सुदूर पश्चिमका विकट स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । केही महिना देखि उनी हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेलधुरा, अर्घाखाँची, प्युठान जस्ता पश्चिम नेपालका विकट स्थानहरूमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली लिएर दूर दराजका बिरामीहरूलाई स्वास्थ्य उपचार पुर्याउदै शिविरमा उपचार सम्भव नभएकाहरूलाई काठमाडौँ सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचार पनि निःशुल्क गरिदिने व्यवस्था गरेका छन् । 

हालसालै गरिएका शिविरको स्मरण गर्ने उनले भने– “स्वास्थ्य शिविरमा जाँच गराई थप उपचारका लागि अस्पताल नै जानु पर्ने बिरामीहरूलाई स्थानीय निकाय, जनप्रतिनिधिहरुको सहयोग र समन्वयमा केएमसी ल्याउने व्यवस्था गरिएको छ । केएमसीमा अपरेसन गर्ने देखि अस्पताल सेवाहरु निःशुल्क गरिदिएका छौं ।” 

उनले भने “पश्चिम नेपालको दुरदराज गाउँको परिस्थिति हेर्दा ती क्षेत्रहरूमा सरकार साँच्चै नै नपुगेको प्रस्ट देखिन्छ । गाँउ घरमा नै उपचार गर्न पाउँदा धेरैले आँसु झार्दै धन्यवाद दिँदा मेरो मन पटक पटक रोएको छ । उपचारको पर्खाइमा बसेकाहरूले काठमाडौँ आई निःशुल्क उपचार पाउँदा नयाँ जीवन पाएको पक्कै पनि अनुभव गर्नु हुनेछ ।”

डा सुनिलले राजनीतिक क्षेत्रमा आउनु भन्दा पहिला देखिनै विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट पूर्वी नेपालको विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर लिएर पुग्ने गरेका थिए । आफू र आफ्नो परिवारले जीवनयापनको क्रममा भोगेका आर्थिक अभाव र सङ्घर्षका कारण आम जनताको भोगाईलाई नजिकबाट नियालेका उनले पैसाकै कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले विपन्न बिरामीहरूको निःशुल्क उपचार पनि गर्दै आएका छन् । 

उनले एमवीवीएस, वीडीएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफि, डेण्टल हाइजिन, डिप्लोमा फार्मेसी जस्ता विषयहरूमा आर्थिक विपन्न र दलित परिवारका सयौँ विद्यार्थीहरूलाई निःशुल्क अध्ययन पनि गराएका छन् । यसै क्रममा दिनेश हस्दा नेपाल कै पहिलो सतार जातीको एमवीवीएस गर्ने व्यक्ति बनेका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पछि उनले ५० शय्याको क्याबिन समेत मोरङ–३ का बिरामीहरूलाई निःशुल्क गरिदिएका छन् ।

नोबेल शिक्षण अस्पताल र केएमसी शिक्षण अस्पतालमा उनको निर्वाचन क्षेत्रका बिरामीहरूको उपचार विशेष सहुलियतमा हुने गरेको छ भने भोजपुर, तेह्रथुम, इलाम, खोटाङ, ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरू र झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्लाको विभिन्न स्थानहरूमा भएका निःशुल्क स्वास्थ्य शिविरबाट रिफर भएका बिरामीहरूको विशेष सहुलियतमा उपचार भएको छ ।

प्रसङ्ग नेता चन्द्र भण्डारीको पोस्ट, उनले लेखे अनुसार देश भरमा जति सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरू छन् तिनीहरूले डा सुनिलले झैँ विपन्न बिरामीहरूको उपचारमा निःशुल्क तथा सहुलियतको व्यवस्था गर्ने हो भने स्वास्थ्य क्षेत्रमा साँच्चै नै क्रान्ति आउने छ । पैसाकै अभावमा उपचार नपाएर बिरामीहरूको ज्यान जाने थिएन । वास्तवमा नेता चन्द्र भण्डारीको सोच असम्भव पनि होइन तर सवैमा बलियो इच्छाशक्ति हुन जरुरी भने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप