एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्य थापाले गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा उठेका प्रश्नको जवाफ लामिछानेले नै दिने बताएका छन् । शनिबार राजधानीमा आयोजित उनले भने,‘रवि लामिछानेलाई कुनै आईसीयूमा राख्नुपर्ने छैन । एमालेले बचाउनुपर्ने पनि छैन । रवि लामिछानेको सन्दर्भमा प्रश्न उठेका छन् भने त्यसको जवाफ उहाँले दिनुपर्छ ।’
सांसद थापाले रवि लामिछानेको व्यक्तित्व र राजनीतिक उदय नै बोलेकै कारण भएको भन्दै अहिले बोल्नको लागि सङ्घर्ष गरेको पार्टी नेपाली कांग्रेसले लामिछानेलाई बोल्न नदिनु मजाकको विषय भएको टिप्पणी गरे ।
उनले भने,‘रवि लामिछाने भूमिगत भएर, आन्दोलनमा लडेर वा सङ्घर्ष गरेर पार्टी बनाएर जितेर आउनुभएको होइन । उहाँ बोल्दै आउनुभएको हो । उहाँलाई बोल्ने कुरालाई रोक्ने कुरा भनेको कति गाह्रो कुरा हो । बोलेर बनेको पार्टी, बोलेर बनाइएको पार्टी, बोलेर मत ल्याएको पार्टी, सोसल मिडिया र युट्युबहरूमार्फत स्थापित भएको पार्टी हो–रास्वपा । अनि गृहमन्त्री र उपप्रधानमन्त्री भएपछि तपाईं बोल्न पाउनुहुन्न भनेर भन्न मिल्छ ? बोल्नको लागि हिजो विगतमा सङ्घर्ष गरेको कांग्रेसले रोक्ने ? यो कत्तिको मजाकको विषय हो ।’
रवि लामिछानेले सहकारीको विषयमा बोल्न पाउनुपर्ने थापाको भनाई छ । उनले भने,‘हिजोको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापतिको हिसाबले हामी बोल्न दिन्छौँ अनि गृहमन्त्रीको हैसियतमा बोल्न दिन्नौँ भनेर कांग्रेसले दोक्ला निर्णय गर्यो । कांग्रेसले सभामुखले बोल्नको लागि रवि लामिछानेलाई रोष्टममा बोलाउँदा पनि बाटो छेक्यो । कांग्रेसले कुन मानक स्थापित गर्यो ? हामीले सुन प्रकरणमा छानबिन गरौँ भन्दा पनि कांग्रेसका साथीहरूले बोल्न रोक्ने काम गर्नुभयो । विश्वप्रकाश शर्माले सुन प्रकरणमा छानबिन किन बनाउनुपर्यो भनेर भनेको होइन ? सत्ता पक्ष र विपक्षमा हुँदा बेग्लाबेग्लै कुरा हुन्छ ?’
थापाले कांग्रेस महामन्त्री शर्माले लय मिलाइमिलाईकन सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनुपर्दैन भनेर बोलेको कुरा दोहोर्याए । उनले भने,‘हामीले प्रतिपक्षीमा बसेको बेला सहकारी पीडितलाई न्याय दिनुपर्छ भन्दा रवि लामिछाने पनि प्रतिपक्षको बेन्चमा हुनुहुन्थ्यो । खोइ छानबिन गरेको हो ? त्यतिवेला कांग्रेस सरकारमा थियो त ।’
उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पारे । उनले भने,‘सूर्य दर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन छ । अनि यो विषय सदनमा छलफल हुन्छ ? रवि लामिछानेमाथि एउटा पूरक जाहेरीसम्म छ भनिएको छ । तर, उहाँको विरुद्धमा कुनै मुद्दा छैन । अभियोजन छैन । कसैले दोषी ठहर गरेको छैन । कांग्रेसले सत्ताबाट बाहिर गएपछि दोषी ठहर गरिदिएको छ । कांग्रेसले फैसला गरेको कुरा संसद्ले मानिदिनुपर्ने हो र ?’
गगन थापाले हिजोको सदनमा सभामुखसँग निगाहको समय चाहिँदैन भनेर बोलेको कुरा स्मरण गराउँदै थापाले आपत्ति जनाए । उनले भने,‘उहाँलाई आकस्मिक रूपमा दिइएको समय हो । आकस्मिक समय ३ मिनेट नै हुन्छ । गगन थापालाई दिइएको समय पनि त्यही प्रावधानको समय हो । कुनै पनि विषयमा कुरा उठेपछि मन्त्रीले बोल्ने विशेषाधिकार दिइएको छ । गगन थापा बोल्नुभयो । सभामुखको कृपा चाहिँदैन भन्नुभयो । म भन्छु–संसद्मा सभामुखको कृपाले हो बोल्ने । सभामुखको रुलिङ मानेर बोल्नुपर्छ । हिजो सभामुखले कृपामा समय थपिदिएकै हो ।’
उनले ‘आरोप लागेको व्यक्तिको मुख थुनेर, एकोहरो मिडिया ट्रायल गरेर अनि स्टन्टबाजी गरेर’ कोही दोषी ठहर हुन्छ भन्दै प्रश्न गरे । सो क्रममा उनले कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्नुको रहस्यसमेत खुलाए । उनले भने,‘यो छानबिनको रहस्य भनेको रवि लामिछानेलाई भित्रभित्रै प्रधानमन्त्रीको अफर गर्ने अनि अफर नमान्ने भनेर नक्कली बहानाबाजी बनाएर गरिएको हो । व्यक्ति केन्द्रित छानबिन मान्य हुँदैन । कांग्रेसले जे फैसला गर्यो, सदनले त्यही मान्छ र ? धेरै रुवाबासी नगरौँ । यसले कहीँ पुर्याउँदैन ।’