बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै छानबिन समिति बनाउनुपर्छ ः भीमसेनदास प्रधान

शनिबार, २९ वैशाख २०८१, १८ : ५९
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे केन्द्रित भएरमात्रै संसदीय छानबिन समिति गठन हुनुपर्ने आफूहरूको अडान रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको यथेष्ट प्रमाणहरू मिडियामार्फत बाहिरिँदा पनि संसदीय छानबिन समिति नबन्नु दुःखद भएको भन्दै लामिछानेको बचाउमा एमाले र सरकार लागिपरेको आरोप लगाएका हुन् । 

साक्षात्कारमा बोल्दै उनले गृहमन्त्री लामिछानेमाथि गम्भीर आरोप लागेको कारण तत्काल राजीनामा दिएर पार्टीकै नेतालाई सो जिम्मेवारीमा पठाउन सुझाए । यद्यपि उनले आफूहरूले गृहमन्त्री लामिछानेको राजीनामा भने नमागेको स्पष्ट पारे । 

नेता प्रधानले आफू रवि लामिछानेबाट प्रभावित व्यक्ति भएको पनि सुनाए । उनले भने,‘म उहाँबाट धेरै प्रभावित भएको मान्छे हुँ । उहाँले सिधा कुरा चलाउनुभयो । सबै दलका नेता र सरकारलाई हिलो छ्याप्नुभयो  । मिडियामा बोलेकै भरमा पहिचान बन्यो । उहाँलाई पक्राउ गर्दा चितवनमा जनता जुरुक्क उठे । चुनाव पनि जित्नुभयो । अहिले उहाँमाथि सहकारी ठगीको आरोप छ । प्रमाणहरू मिडियामा छताछुल्ल भएका छन् । कांग्रेसले यसबारेमा छानबिन समिति माग गर्दा उहाँले मान्नुभएन । सरकारले पनि रवि लामिछानेकै पक्षमा वकालत गरेको छ । प्रतिपक्षी दलले छानबिन समिति माग गरेपछि बनाउन किन आपत्ति भयो ? गृहमन्त्री उहाँकै दलका साथीहरूलाई दिए भइगयो नि । दाग नलागेकोलाई दिँदा हुन्छ ।’

उनले सहकारी ठगीको कारण आज पीडितले आत्महत्या गरेका समाचार आएको पनि स्मरण गराए । उनले भने,‘आज पीडितले सुसाइड गर्ने अवस्था आयो । मुलुकको गृहमन्त्रीले शान्ति, सुव्यवस्था गर्ने हो । सहकारी ठगी प्रकरणमा दोषी देखिएका जीबी राई फरार रहेको विषयमा गृहमन्त्रीले त्यति बेलाका गृहमन्त्री र प्रधानमन्त्रीलाई आक्षेप लगाउनुभयो । त्यो आरोपको बारेमा जवाफ अब प्रधानमन्त्रीले दिनुपर्छ । हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौँ तर अब उहाँले यसबारेमा संसद्मा बोल्नुपर्छ । गृहमन्त्रीले बोलेको यो कुरा संवेदनशील छ ।’

हिजो (शुक्रबार) को संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने सहमति भएको भए पनि सभा चलाउने क्रममा सभामुखले सुरुमै प्रवेश नगराउने भनेर सहमति भएको विषयलाई प्रवेश गराएपछि विवाद सुरु भएको प्रधानले स्पष्ट पारे । उनले भने,‘संसद्भित्र बस्ने प्रक्रिया छ । समय पाउने कुरा छ, गगन थापाले मागेको समयमा तीन मिनेट पाउनुभयो । गगन थापाले बोल्ने समय धेरै पायो भने रवि लामिछानेलाई नङ्ग्याइदिन्छ भनेर सभामुखले जालझेल गरेर तीन मिनेट मात्रै समय दिनुभयो ।’ 

सो क्रममा उनले आगामी जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएकोले के गर्ने भन्ने विषयमा संसदीय दलको बैठक बसेर निर्णय लिइने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप