आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश

शनिबार, २९ वैशाख २०८१, २३ : १३
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ । शनिबारदेखि काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका हुन् । 

त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आइतबार प्रस्तुत प्रतिवेदनहरूमाथि स्थायी कमिटीका सदस्यहरूले सुझाव दिनेछन् ।

प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक आज सुरुवात भयो । हामीले बनाएको कार्यतालिका अनुसार आज बैठक सक्नुपर्नेमा छलफलको क्रम नसकिएको हुनाले भोलि पनि यो स्थायी कमिटीको बैठक चल्नेछ । आज बैठकमा पार्टी अध्यक्षले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्नुभयो । महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभयो । त्यो पनि मस्यौदा थियो । र विधान संशोधनमा आवश्यक पर्ने कुराको लागि बनाइएको मस्यौदा प्रस्ताव पनि सङ्गठन विभाग प्रमुख पार्टीका उपाध्यक्ष वेदुराम भुसालले प्रस्तुत गर्नुभयो । र हाम्रो आगामी कार्यक्रम अर्थात् पार्टीको समाजवादी कार्यक्रम त्यो कार्यक्रम प्रस्तुत गर्नुभयो कमरेड झलनाथ खनालले । आज दस्ताबेजहरू बाँडिएको छ । यसमा स्थायी कमिटीका सदस्यहरूले भोलि ११ बजेदेखि छलफल गर्नुहुनेछ । उहाँहरूको सुझाव सङ्कलन गर्दै हामीले भोलीको सट्टा पर्सी पोलिटब्युरो बैठक बस्नेछौँ । केन्द्रीय कमिटी बैठक पनि एक एक दिन पछि सर्दै गएको छ ।’

नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल सुरु गरिएको हो । स्थायी कमिटीका सदस्यहरूले आइतबार छलफल गरेपछि सोमवार बोलाइएको पोलिटब्युरो बैठक र त्यस लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने पनि प्रवक्ता खतिवडाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप