बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

गिल र सुदर्शनको ब्याटिङले कुन-कुन रेकर्ड तोडियो ?

शनिबार, २९ वैशाख २०८१, १५ : १९
शनिबार, २९ वैशाख २०८१

अहमदाबाद । कप्तान शुभमन गिल र साई सुदर्शनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारीको कीर्तिमान बराबरी गर्दा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । 

२ सय ३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो ।  यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । ओपनरद्वय गिल र सुदर्शनले पहिलो विकेटका लागि २ सय १० रनको साझेदारी गरे । 

गिलले मात्र ५५ बलमा १ सय ४ रन बनाए । उनले यस क्रममा ९ चौका र ६ छक्का हिर्काए । त्यस्तै, सुदर्शनले ५१ बलमा १ सय ३ रन जोडे । उनले ५ चौका र ७ छक्का प्रहार गरे । 

खेलमा विभिन्न रेकर्डहरु पनि बनेका छन् । यस्ता छन् ती रेकर्ड :

  • ३ – आईपीएलको एउटै इनिङ्समा दुई खेलाडीले शतक बनाएको अवसर । शुक्रबार शुभमन र साई सुदर्शनले शतक बनाउनअघि सन् २०१६ मा विराट कोहली र एबी डिभेलिर्सले गुजरात लायन्स र सन् २०१९ मा डेभिड वार्नर र जोनी बेयर्स्टोले रोयल च्यालेन्जर्स बैंगलुरुविरद्ध यो उपलब्धि हासिल गरेका थिए ।
  • २१० – चेन्नईविरुद्ध पहिलो विकेटका लागि गिल र सुदर्शनले गरेको साझेदारी । आईपीएलमा पहिलो विकेटका लागि २ सयभन्दा बढी रनको साझेदारी भएको मात्र दोस्रो अवसर थियो । यसअघि सन् २०२२ मा क्वीनटन डी कक र केएल राहुलले पनि कोलकाता नाइट राइडर्सविरुद्ध २१० रन नै बनाएका थिए ।
  • २ – आईपीएलमा २१० रनभन्दा बढीको साझेदारी भएको अवसर । शीर्ष दुई स्थानमा कोहली र डिभेलिर्स छन् । उनीहरूले सन् २०१६ मा गुजरात लायन्सविरुद्ध २२९ रन र सन् २०१५ मा मुम्बई इन्डियन्सविरुद्ध २ सय १५ रनको साझेदारी गरेका थिए ।
  • २३१÷३ – शुक्रबार टोलीले बनाएको स्कोर आईपीएलमा उनीहरूले बनाएको दोस्रो ठुलो स्कोर हो । यसअघि गुजरातले गत वर्षको क्वालिफायरमा टोलीले मुम्बई इन्डियन्सविरुद्ध २ सय ३३ रन बनाएको थियो । त्यस्तै, यो चेन्नईविरुद्ध बनेको सर्वाधिक ठुलो स्कोरको बराबरी हो । सन् २०१४ मा तत्कालीन किंग्स इलेभेन पञ्जाबले पनि चेन्नईविरुद्ध २ सय ३१ रन बनाएको थियो ।
  • ० – शुक्रबार अघि चेन्नईविरुद्ध कुनै पनि विकेटका लागि १५० वा सोभन्दा बढी रन बनेको अवसर । यसअघि सन् २०१५ मा राजस्थान रोयल्सका लागि सेन वाट्सन र अजिंक्या रहानेले चेन्नईविरुद्ध १ सय ४४ रन बनाएका थिए । 

sai sudarshan

  • २५ – आईपीएलमा सुदर्शनलाई १ हजार रन पूरा गर्न लागेको इनिङ्सको सङ्ख्या । यो उपलब्धि सबैभन्दा चाँडो हासिल गर्ने उनी पहिलो भारतीय हुन् । उनले यस मामिलामा सचिन तेन्दुल्कर र रुतुराज गायकवाडलाई उछिनेका छन् । उनी समग्रमा म्याथ्यु हेडनसहित तेस्रो स्थानमा छन् । उनीभन्दा अघि सन मार्स (२१ इनिङ्स) र लेन्डल सिमन्स (२३ इनिङ्स) रहेका छन् ।
  • १०० – नवौँ र १४ औँ ओभरको बिचमा गुजरातका ओपनरले प्रहार गरेको रन । आईपीएलमा यी ओभरका बिचमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । 

  • ४ – अहमदाबादमा गिलले बनाएको शतकको सङ्ख्या । यसमध्ये तीनवटा आईपीएलमा बनेका हुन् । एउटै रंगशालामा धेरै शतक बनाउनेमा क्रिश गेल रहेका छन् । उनले मिरपुरमा ५ वटा शतक बनाएका छन् । त्यस्तै माइकल क्लिन्जरले ब्रिस्टोलमा ४ तथा विराट कोहलीले बैंगलुरुमा ४ वटा शतक बनाएका छन् ।
  • २४ वर्ष २४५ दिन – शुक्रबार गिलको उमेर । उनी आईपीएलमा सबैभन्दा कम उमेरमा शतक हिर्काउने कप्तान बनेका छन् । यसअघि सञ्जु सामसनले सन् २०२१ मा २६ वर्ष १५२ दिनको उमेरमा पञ्जाब किंग्सविरुद्ध शतक बनाएका थिए ।
  • १९ – अहमदाबादमा गिललाई १ हजार रन पूरा गर्न लागेको इनिङ्सको सङ्ख्या । कुनै एउटा रंगशालामा उनले सबैभन्दा चाँडो १ हजार पूरा गर्न सफल भएका हुन् । यो रेकर्ड यसअघि ५ जना खेलाडीको नाममा थियो । उनीहरूलाई यो उपलब्धि हासिल गर्न २२ इनिङ्स लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप