पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ ।
मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे ।
पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै सूत्र बनाउनुपर्छ भन्ने लाग्यो ।
मैले मन्त्रीका रूपमा जे देखेँ, जे अनुभव गरेँ र जे सिकेँ; त्यसबाट म के निचोडमा पुगेको छु भने प्रकृति र संस्कृतिको समायोजन गरेर स्थानीय स्वाद र स्वामित्वसहितको नेपाली ब्रान्डको पर्यटन विकास गर्न सकिन्छ । प्रकृति र संस्कृतिको समायोजनले नेपाली पर्यटनको गन्तव्यमा नयाँ आकर्षण थप्न सक्छ भने रैथाने स्वाद र स्वामित्वले एकातिर किसानले उत्पादन गरेको कृषिजन्य वस्तुका निम्ति बजारको सुनिश्चित गर्छ, अर्कातिर पर्यटन क्षेत्रको विकाससँगै जनस्तरमा बढीभन्दा बढी आम्दानी वितरण गर्न सक्छ । जनस्तरमा आम्दानी वितरण हुनु भनेको देशलाई समाजवाद उन्मुख दिशामा डो¥याउनु हो भन्ने मलाई लाग्छ ।
विगत लामो समयदेखि हामीले भन्दै आएका छौँ कि पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । यद्यपि नेपाली पर्यटनलाई अझ प्रभावकारी ढङ्गले विकास गरी राष्ट्रिय अर्थतन्त्रको दह्रो खम्बा बनाउनका लागि नेपालको पर्यटनसम्बन्धी सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ हुन पुग्यो ।
मेरो अनुभव र दृष्टिकोणमा नेपाली पर्यटन क्षेत्रको समग्र विकासका लागि दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिन्छ । बहालवाला मन्त्रीका रूपमा रहँदा मैले यसलाई बजेट, नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेर अगाडि बढाएको पनि थिएँ । ती केही कार्यान्वयन हुने चरणमा पनि थिए । केही नीति तथा अवधारणाका रूपमा अगाडि बढ्दै थिए । यसलाई सुस्पष्ट मार्गचित्र तयार गर्ने गृहकार्य हुँदै थियो ।
ती कार्यलाई अब बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूले पनि अगाडि बढाउनुहुनेछ भन्ने विश्वासमा मैले भर्खरै नेपाली पर्यटनका ‘तीन ढोका, नौ चाबी र नौ सुझाव’का रूपमा सूत्रबद्ध गरेर पेस गरेको थिएँ ।
त्यसबारे अझ बढी विमर्श हुनु जरुरी ठानेर यो लेखका रूपमा पनि प्रस्तुत गरेको छु ।
स्कुलमा बीजगणितमा पढ्थेँ । त्यसमा ए प्लस बी प्लस होल स्क्वायर लगाएर हिसाब गरेको सम्झे । सूत्र लगाउँदा हिसाब ठ्याक्कै मिल्थ्यो । यतिबेला महसुस हुने गर्दछ कि बीजगणितको बीज त सूत्रहरू पो रहेछ । सूत्रले त गणितमा जस्तै समग्र जीवनमा काम गर्ने रहेछ ।
म के निचोडमा पुगेको छु भने प्रकृति र संस्कृतिको समायोजन गरेर स्थानीय स्वाद र स्वामित्वसहितको नेपाली ब्रान्डको पर्यटन विकास गर्न सकिन्छ ।
मलाई लाग्यो— नेपाली पर्यटनको विकासलाई ढोका र चाबीका रूपमा सूत्रबद्ध गर्नु उपयुक्त हुन्छ । नेपालमा पर्यटक भित्र्याउने तीनवटा ढोका र ती ढोका खोल्ने चाबीहरू चाहिँ नौवटा छन् । सर्वप्रथम तीन ढोकाको चर्चा गरौँ ।
- पहिलो ढोका : नेचर (प्रकृति)
पृथ्वीका उत्तरी र दक्षिणी ध्रुवका अतिरिक्त हिमालयलाई तेस्रो ध्रुव (थर्ड पोल) भन्ने गरिएको छ; जुन अफ्गानिस्तान, पाकिस्तान, भारत, नेपाल र चीनमा पर्दछ । नेपालको सानो भूगोलमा मधेस, पहाड र हिमालको स्वाद लिन पाउनु विश्वमै अनुपम र दुर्लभ कुरा हो ।
- दोस्रो ढोका : कल्चर (संस्कृति)
धार्मिक तीर्थयात्रा ज्यादै प्राचीन समयदेखि प्रचलित पर्यटन हो । विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०११ मा धार्मिक क्षेत्रमा ३० देखि ६० करोडसम्म पर्यटकहरूले विश्वका विभिन्न धार्मिक क्षेत्रहरूको यात्रा गरेका थिए ।
विश्वमा अहिले धार्मिक पर्यटन बडो तीव्र गतिमा बढिरहेको छ, जसमा धर्मनिरपेक्ष पर्यटकहरू पनि जिज्ञासाका कारण धार्मिक क्षेत्रहरूमा पर्यटन गरिरहेका छन् । नेपालमा पनि विश्वस्तरीय सांस्कृतिक केन्द्रहरू (लुम्बिनी, पशुपति, मुक्तिनाथ, हलेसी लगायत) छन् । साथमा नेपाली समाजको समग्र संस्कृति त छँदै छ ।
- तेस्रो ढोका : एड्भेन्चर (साहसिक)
पर्यटकहरूले प्रकृति र संस्कृतिलाई एक साथ अनुभव तथा अवलोकन गर्ने साहसिक पर्यटनका दृष्टिले नेपाल विश्वकै आकर्षक गन्तव्यमा पर्छ ।
अन्तर्राष्ट्रिय सर्वेक्षणले नेपाललाई साहसिक पर्यटन गन्तव्यको उत्कृष्ट देशका रूपमा सूचीकरण गर्ने गरेका छन् । एड्भेन्चर ट्राभल एन्ड ट्रेड एसोसियन (एटीटीए)ले सन् २०१६ मा प्रकाशन गरेको साहसिक पर्यटनसम्बन्धी रिपोर्टको ‘ब्रान्ड’ वर्गमा प्राकृतिक सम्पदाका दृष्टिले उत्कृष्ट तीन मुलुकमध्ये नेपालको नाम समावेश छ ।
त्यस्तै, जर्ज वासिङ््टन युनिभर्सिटीसँगको सहकार्यमा एटीटीएले सन् २०२० मा प्रकाशन गरेको साहसिह पर्यटन विकास परिसूचकमा दक्षिण एसियाका पाँच मुलुकमध्ये दोस्रो नम्बरमा नेपाल समावेश छ भने विश्वस्तरमा १६३ मुलुकमध्ये नेपाल ६७औँ स्थानमा सूचीकरण गरेको छ ।
उल्लिखित तीन ढोका खोल्ने नौ चाबी यी हुन् सक्छन् :
- पहिलो चाबी
पर्यटन गौरवको घोषणा । नेपाली पर्यटन विकासका लागि गर्नुपर्ने प्राथमिक काम पर्यटन गौरवको घोषणा गर्नु हो । यसमा युनेस्को विश्वसम्पदा; हिमाल र हिमशृङ्खला, ताल, ट्रेक र पदमार्ग; सर्किट; वन्यजन्तु आरक्ष तथा निकुञ्ज; धार्मिक सांस्कृतिक केन्द्र; पुराना सांस्कृतिक गाउँलगायत महत्त्वपूर्ण स्थललाई समेटेर ‘पर्यटन गौरवको घोषणा’ गरिनुपर्छ ।
यस सम्बन्धमा मैले आफ्नो कार्यकालमा आन्तरिक गृहकार्य सुरु पनि गरेको थिएँ ।
- दोस्रो चाबी
रैथाने संस्कृति र ज्ञान । नेपाल भ्रमणमा रहेका पर्यटकलाई रैथाने संस्कृति र ज्ञानले पुलकित गराउन सक्नुपर्छ, जसले नेपाली स्वादको पर्यटन निर्माण हुन्छ । हामीसँग भएका थरीथरी भाषा, गीत, सङ्गीत, खाना, पहिरन र सीपको स्वाद चखाउन सकियो भने त्यो पर्यटन दिगो र जनमुखी पनि हुनेछ ।
- तेस्रो चाबी
लगानी तथा पर्यटन पूर्वाधारको विकास । विश्व आर्थिक मञ्च, २०२० ले प्रकाशन गरेका पदयात्रा र पर्यटन प्रतिस्पर्धात्मक सूचकाङ्क (टीटीसीआई) मा ११७ मुलुकमध्ये नेपाललाई १०२ स्थानमा समावेश गरेको छ । सूचकाङ्कमा नेपाल पुछारतिर पर्नुमा मूलतः दुई कारण औँल्याइएको छ— पर्यटन पूर्वाधार, सडक सञ्जाल अभाव हुनु र लगानी व्यापारिकमैत्री वातावरण नहुनु ।
मैले सुरुका दिनमा सिंहदरबार छिर्दा भनेथेँ— म सेतो सर्ट लगाएर छिरेको मान्छे हुँ । कालो दल्ने कोसिस कसैले नगर्नुहोला । जसले जसरी कालो पोत्न खोजे पनि म दाबीका साथ भन्छु, बेदाग निक्लेको छु ।
त्यस्तै कमजोर प्रवद्र्धन, तालिमप्राप्त जनशक्ति अभाव, कमजोर सुरक्षा, कमजोर स्थानीय नेतृत्व, पर्यटन व्यवस्थापन अनुभवको अभावजस्ता कारणले पर्यटन फस्टाउन सकेको छैन । अर्काेतिर अव्यवस्थित पूर्वाधार निर्माणले धार्मिक क्षेत्र, संरक्षित क्षेत्रहरूमा विनाश र अत्यधिक व्यापारीकरण हुन पुगेको छ । धार्मिक पदमार्ग र रुटहरू नष्ट भएका छन् ।
- चौथो चाबी
चार ऋतुहरूको ब्रान्डिङ । नेपाल भ्रमण गर्ने पर्यटकहरू मूलतः मौसमी रहेका छन् । १२ महिना नै पर्यटक भित्र्याउनका लागि चार ऋतुहरूसँग जोडेर प्रकृति र संस्कृतिलाई अब नयाँ ढङ्गले ब्रान्डिङ गर्नुपर्ने देखिएको छ ।
- पाँचौँ चाबी
नयाँ सम्पदाहरू निर्माण । हामीले पुर्खाहरूबाट विरासतमा प्राप्त गरेको सम्पदाहरूको संरक्षण गर्दै नेपाली समाजको सांस्कृतिक–ऐतिहासिक विविधतामा आधारित हाम्रो समयको मौलिक नयाँ सम्पदाहरू विकास गर्नुपर्नेछ । त्यस्ता सम्पदाहरू थुप्रै हुन् सक्छन्— खुला सांस्कृतिक संग्रहालय; मौखिक ज्ञान संग्रहालय; भाषा संग्रहालय; हिन्दू, बुद्ध, किरात सर्किट लगायत प्राकृतिक र सांस्कृतिक महत्त्वका सर्किटहरू तथा पदमार्गहरू; सम्पदा गाउँ; मुन्दुमी रिसिया पहाड; कैरन पहाडहरू इत्यादि ।
त्यस्तै धार्मिक समन्वयमा आधारित बहुधार्मिक विशिष्ट सांस्कृतिक केन्द्रहरू नेपालको मौलिक आकर्षण हो । दुई वा दुईभन्दा बढी धर्मका साझा स्थलहरू समेटेर बहुसांस्कृतिक र बहुधार्मिक महारेखा निर्माण गर्न सकिन्छ । यो सांस्कृतिक सहअस्तित्वको नमुना पनि बन्न पुग्छ ।
- छैटौँ चाबी
विज्ञान तथा प्रविधि । नेपालको पर्यटनको विकासमा अब विज्ञान र प्रविधिको भरपुर सदुपयोग गर्न सक्नुपर्छ जसको प्रयोगद्वारा पर्यटन क्षेत्रमा फड्को मारेका थुप्रै उदाहरण छन् ।
- सातौँ चाबी
सांस्कृतिक कूटनीति । सांस्कृतिक कूटनीतिलाई जनकूटनीति, सांस्कृतिक आदानप्रदान पनि भनिने गरेको छ । नेपालको अन्तर्राष्ट्रिय छवि (व्यक्तित्व) निर्माणका लागि मात्रै नभएर अब पर्यटन प्रवर्धन र विकासमा पनि सांस्कृतिक कूटनीतिको उपयोग गर्नुपर्नेछ ।
सौम्य (नरम) शक्ति (सफ्ट पावर) भनेर चिनिने सांस्कृतिक कूटनीतिलाई प्रचलित कूटनीतिभन्दा सांस्कृतिक कूटनीति के कुरामा भिन्न छ भने यो सरकारको सरकारसँग सम्बन्ध होइन, सरकारको विदेशी जनतासँग सम्बन्ध हो । जसले पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।
- आठौँ चाबी
जलवायु परिवर्तनद्वारा सिर्जित असरहरूलाई पर्यटकीय उपजमा परिणत गरी नेपालका पक्षमा विश्व जनमत निर्माण गर्न तथा संकटलाई अवसरमा परिणत गर्न ग्लोबल वार्मिङ टुरिजमको विकास गर्न सकिन्छ ।
- नवौँ चाबी
अन्तर्मन्त्रालय समन्वयात्मक विकास । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे पनि अन्तर्मन्त्रालय समन्वय नहुँदा सन्तोषजनक विकास हुन नसकेको मेरो अनुभव रह्यो ।
पर्यटन क्षेत्रको विकास भनेको अर्थ, पूर्वाधार, सुरक्षा, विद्युत्, कूटनीति, सञ्चारजस्ता थुप्रै मन्त्रालयको सामूहिक र एकीकृत प्रयासमा मात्रै सन्तोषजनक रूपमा सम्भव हुने रहेछ । जस्तो : पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधार हो सडक । तर पर्यटकीय क्षेत्रको सडक निर्माण प्राथमिकतामा पर्न सकेन भने कसै गरे पनि पर्यटन प्रवद्र्धन हुनै सक्दैन । त्यसैले अन्तर्मन्त्रालय समन्वय ज्यादै महत्त्वपूर्ण पक्ष हो ।
मैले यो ज्ञान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ४०औँ मन्त्रीको जिम्मेवारीमा चार सय १८ दिन अर्थात् झन्डै १४ महिना रहँदा आर्जन गरेको हो ।
त्यसैले यसका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्नुहुने प्रधानमन्त्री प्रचण्ड, मेरो पार्टी नेकपा (माओवादी केन्द्र), मलाई अमूल्य मत प्रदान गर्नु हुने मतदाता तथा देश–विदेशमा बसेर चासो र चिन्ताका साथ शुभेच्छा राख्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
मैले सुरुका दिनमा सिंहदरबार छिर्दा भनेथेँ— म सेतो सर्ट लगाएर छिरेको मान्छे हुँ । कालो दल्ने कोसिस कसैले नगर्नुहोला । जसले जसरी कालो पोत्न खोजे पनि म दाबीका साथ भन्छु, बेदाग निक्लेको छु । कुर्सीमा जानु अप्ठेरो कुरा हो, त्योभन्दा पनि अप्ठेरो निक्लँदा सफा भएर निक्लनु हो भनेर भन्ने दक्षिण अफ्रिकाका राष्ट्र पिता नेल्सन मन्डेलालाई म यतिबेला सम्झिरहेको छु ।
हाम्रो धेरै कल्पना, योजना र कार्ययोजना थिए । ती विचारको बेर्नामा कोपिला लाग्न नपाउँदै नेपाली राजनीतिको अस्थिरताका कारण निक्लन परे पनि म गर्वका साथ भन्न सक्छु मेरो पितृ र पुर्खालाई शिरमा अनि देश र जनतालाई छातीमा राखेर बेदाग फर्किएको छु ।
मलाई लाग्छ, विषय उद्घाटित हुनु ठुलो कुरा होइन । ठुलो कुरा त विषयलाई समृद्ध र विज्ञान बनाउनका निम्ति छलफल र बहस गर्दै जानु हो । एक विषयलाई अझ समृद्ध र वैज्ञानिक बनाउनका निम्ति हजार छलफल र विमर्श आवश्यक हुन्छ । त्यसैले माथि प्रस्तुत गरिएको सूत्रलाई समृद्ध बनाउन थप छलफल र बहसको अपेक्षा गर्दछु ।