हरि अधिकारीका तीन कविता
- १) मासुपसलमा एउटी स्त्री
झोल्लिएको, ठुलो स्तन भएकी बगरेकी पत्नी
हावामा पोतिएको उसको कुरूप सौन्दर्यको तीखो रङ्ग
राम्ररी साँध लगाएर राखेका धारिला हतियारहरू
कुनै पैशाचिक अनुष्ठानको बलिवेदीजस्तो भयानक अचानो
र एक्ली बैँसालु आइमाईको भोको ओठजस्तो तातो
भर्खरै मारिएको राँगाको रगतको फाल्सा ।
मासुपसलमा एउटी स्त्री,
फैलिएको नितम्ब र ढल्कँदै गरेको उमेर
तल्लो ओठको बायाँ कुनामा खण्डित चन्द्रमाजस्तो
टुक्रे हाँसोको धमिलो जलप टाँसेर ढसमस्स बसेकी छे
उसको आँखाको फलकमा टाँगिएको छ
पुराना प्रेमीहरूको अनुहारको कोलाज ।
मासुपसलमा ग्राहकहरू झुम्मिएका छन्
बगरेकी पत्नी
राँगोको बलिष्ठ पुट्ठालाई चिर्छे
र कलात्मक लयबद्धताका साथ
आगोको फिलिङ्गोजस्तो रातो मासुलाई
केस्रा–केस्रा छुट्ट्याएर भाग लगाउँछे
मानौँ कामातुर ऊ सम्भोगका लागि
आफूलाई बिस्तारै–बिस्तारै छोडाइरहेकी छे ।
०००
- २) गार्मेन्टकी गायत्री
एकसुरले काम गरिरहँदा गायत्री शान्त देखिन्छे
तर सिउने कलको तीव्र फन्को सँगसँगै
उसको हृदयमा मच्चिरहने हाहाकार भने बेतोडसँग कुदिरहेको छ
उसका मसिना औँलाहरू एकनासले चलिरहेका छन्
दिन छ छोटो र सक्नुपर्ने कामको डुङ्गुर छ ठुलो
(भयानक अँध्यारो सुरुङ पसारिएको छ जीवन)
चक्रव्यूहमा फसेको अभिमन्युले झैँ
निश्चित पराजयको गह्रुँगो भारी बोकेर
गायत्री, जीवनको त्यही घटाटोप सुरुङभित्र पसेकी छे
र सधैँका लागि हराएकी छे ।
नयाँ परिधानमा टाँक हालिरहेकी गायत्री राम्री देखिन्छे
तर उसको आँखामा टाँगिएको छ
टाँकघर खुकुलो भएको आफ्नै जीवनको धमिलो चित्र
पाठेघर दुख्ने पुरानो रोग र
बेकम्मा भइसकेको रक्स्याहा लोग्नेलाई
(प्रेमले हो वा घृणाले)
खोकिलामा लुकाएर
गार्मेन्टकी गायत्री
आफ्नै जीवनको च्यातिएको टाँकघरलाई सिउन खोज्दैछे ।
- ३) धेरै दिनपछि पोखरा फर्किंदा
फर्केर आएँ नि सखे ! म तिम्रो काखैमा ।
हो, केही दिन म कतै हराएझैँ थिएँ
बिर्सियौ कि तिमीले भनी डराएकै थिएँ
पुरानो प्रेमको हुटहुटीले डोरिएर आएँ
विछोडको पीडाले भक्कानिएर आएँ ।
फर्केर आएँ नि सखे ! म तिम्रो काखैमा ।
धेरै दिन म तिम्रो सम्झनामा बाँचेँ
फेरि होला नि भेट भन्ने कल्पनामा बाँचेँ
सँगै फेरेको निश्वासको सहारामा आएँ
भत्किएको हृदयको किनारामा आएँ ।
फर्केर आएँ नि सखे! म तिम्रो काखैमा ।
फेरिए छ्यौ नि तिमी अचम्मैसँग
थपिएछ तिम्रो शुभ्रतामा भड्किलो रङ्ग
राम्रो हो कि नराम्रो थाहा नपाएरै आएँ
जस्तो भए पनि आफ्नै हो, अँगालेरै आएँ ।
फर्केर आए नि सखे ! म तिम्रो काखैमा ।