नवीन समझदारी नै अबको निकास
प्रजातन्त्रको सुन्दरता नै संविधानवाद र विधिको शासन हो। व्यक्तिगत रूपमा को कस्तो भन्दा पनि सैद्धान्तिक दृष्टिकोणको परिभाषा आजको आवश्यकता हो। प्रतिस्पर्धी गणतन्त्रवादी दलहरूले गठबन्धनको नाममा मञ्चन गरिरहेका नाटकका कारण जनतामा ठुलो निराशा छाएको छ। जनताको नाममा हैन केवल सरकार टिकाउन चलेको गलत हर्कतले व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छ।
यद्यपि सांसदका सबै कार्यलाई प्रजातन्त्रमा स्वीकार गरिन्छ। भयंकर कसरतका साथ संसदमा जोडिएको गणितले सरकार टिकेको छ। हुन त संसद् गणितले नै चल्ने हो तर संसदभित्र गणितका लागि घृणित खेलहरू सुरु भएका छन्।
प्रजातन्त्र बलियो हुन दल बलियो हुनु पर्दछ।सीमित स्वार्थको लागि दल फुट्ने र फुटाउने खेलहरू सुरु भएका छन्।केवल सत्ता टिकाउन सुरु भयका यस्ता खेलहरूले मुलुक कुन भड्खालोतिर फस्छ थाहा छैन।
जालझेल र तिकडममा माहिर प्रचण्ड सत्ता छोड्ने पक्षमा छैनन्।सबै चुनौतीको सामना गर्न उनी तयार छन्। विशेषत: सत्ताका लागि मौलाएको ओलीको प्रचण्ड प्रेम झाँगिएर जाँदै छ।यो प्रेम नेपाली जनताको नाममा हैन सत्ता प्राप्त गर्नको निमित्त मात्रै हो।
अहिले प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारमा ओलीतन्त्र हाबी छ। यो तन्त्रलाई प्रचण्डले कति थेग्लान् विषय चाखलाग्दो छ। सत्ता स्वार्थमा लोली मिलाएका ओली र प्रचण्डको यात्रा लामो समय नजाने प्रस्ट देखिन्छ।सत्ता स्वार्थको लागि नै ओली अहिले ध्वजा फाटेको घण्टीहरूको पक्षमा चट्टान जस्तै उभिएका छन्।घण्टीहरूको चिन्ता यतिवेला सबैभन्दा बढी ओलीलाई छ।
यदि कांग्रेसले घण्टीहरूलाई हल्लाइदियो भने ओलीले तत्काल प्रचण्डको उछित्तो काट्दै यात्रालाई विश्राम दिनेका शङ्का छैन अनि ओली र कांग्रेसको नयाँ प्रेम यात्रा सुरु हुनेछ।
ओली यही कार्यकालमा जसरी पनि प्रधानमन्त्री बन्ने कसरतमा छन्। उनको स्वभाव हेर्दा उनी नबनी छोड्दैनन्।यहाँनिर सम्झने कुरा के छ भने कुनै दलले पनि दलीय चरित्र,नियम,कानुन भन्दा मात्रै सत्ता खोजिरहेको छन्।
यसलाई नेपाली जनताले सूक्ष्म अध्ययन गरिरहेका छन् भन्ने हेक्का सत्ताका खेलाडीहरूलाई पत्तै छैन।
यो सबै विषय लाई चुनौती दिँदै सत्ता भन्दा निकै पर अलग धारमा अहिले देखिएको पार्टी राप्रपा हो।जसले आफ्नो नीति,विचार,सिद्धान्तको पक्षमा भन्दै यथास्थितिमा मुलुक चल्न सक्दैन- सवै पक्ष सम्मिलित सम्मेलनबाट नवीन समझदारीका साथ राजसंस्था र हिन्दु राज्यको पक्षमा वकालत मात्र हैन आन्दोलन नै चलाउँदै छ।
अबको राजनीति परम्परावादी शक्ति र अन्यका बिचको ध्रुवीकरण नै हो।राप्रपा यतिवेला राजसंस्था स्थापना,हिन्दु राज्य,सङ्घीयताको खारेजी अनि जनताको जनजीविकाको सबल लाई लिएर संसद् र सडकमा आन्दोलित छ।यसको मुख्य लक्ष्य यो संविधानको खारेजी नै हो।यसले आन्दोलनको रूपलाई उत्कर्षमा पुरायो भने यो संविधान कागजको खोस्टो बराबर हुन्छ।
सेतो हात्ती जस्तै पाल्न कठिन सङ्घीयताको खारेज हुनुपर्ने राप्रपाको माग छ । पाँचहजार वर्ष पुरानो हिन्दु,बौद्ध सभ्यता र राष्ट्रनिर्माणमा महत्त्वपूर्ण योगदान गरेको राजसंस्थालाई निरन्तर निषेध गरिरहने हो र नवीन समझदारीमा सहमत नहुने हो भने यो संविधान चाडै कागजको खोस्टो साबित भएर च्यातिने उसको ठहर छ।
राजसंस्थाको कारण मुलुक नयाँ युगमा प्रवेश गर्न सकेन, राजसंस्था अग्रगमनको बाधक हो भने राजसंस्थाको निषेध पछि किन राजनीतिले सही मार्ग लिन सकेन त ? यो लामो अवधिमा नेपाल र नेपाली जनताको लागि राजनैतिक, आर्थिक वा सामाजिक रूपमा उल्लेखनीय उपलब्धि के भयो त ? बाधक राजसंस्था थियो कि दलहरूको अकर्मण्यता थियो प्रश्न उठान गरेको छ।
व्यवस्था परिवर्तनपछि जनताले सोचेका थिए अव पुराना विकृति, विसङ्गति, अन्याय, अत्याचार सबै हराउँछ।
नातावाद, कृपावाद सबै हराउँछ।भ्रष्टाचार, मनपरीतन्त्र सदाको लागि अन्त्य हुन्छ अनि बिकास र रोजगारी बढछ। अझ सुसासन र संविधानवाद कायम भई मुलुक नयाँ युगमा प्रवेश गर्ने छ ।खै त जनताको यो आशा ?
दलीय चिन्ता केवल सत्ता कसरी जोगाउने भन्ने मात्र छ।
लाज पचाएर सत्ता टिकाउन बोलिने नेताहरूको वाणीले जनतामा निराशा छाएको छ।
नेपालको सन्दर्भमा गणतन्त्र यसै पनि कमजोर जगमा उभिएको व्यवस्था हो।अझ यसलाई कमजोर बनाउन गणतन्त्रवादी दलहरू नै सक्रिय रहेको पनि उसको ठहर छ।
हत्या,हिंसा,लुट,भ्रष्टाचार,अनियमितता को फेहरिस्त साध्य छैन। चोरी, ठगी, लुटमा सिधाका सिधा नेताहरूको नाम मुछिएको छ। १० वटा चोरी, ठगी, लुट, भ्रष्टाचारको समाचार सुनियो भने ८ वटामा नेता वा उनका परिवारको नाम जोडिहाल्छ।
मुलुकको यो परिस्थिति अवस्थाले हैन यो व्यवस्थाले लेराएको हो । तसर्थ यो अवस्थाबाट देश र जनतालाई मुक्ति दिलाउन यो व्यवस्था परिवर्तन गर्नु पर्ने राप्रपा को ठहर छ।
नागरिक स्तरमा चर्चा छ संविधानको संरक्षक र पालकको रूपमा रहेको राष्ट्रप्रमुखको भूमिका निष्पक्ष भयको भए यस्तो दिन आउँदैन थियो होला। राष्ट्र प्रमुख कार्यकारीको इकाई झैँ क्रियाशील नभइदिएको भए,दलीय गुटमा सामेल नभइदिएको भए,बिलासी जीवन जिउन नखोजिदिएको भए,कार्यकारीका गलत निर्णयलाई आँखा चिम्लेर सही नगरिदिएको भय संविधानवाद कायम हुन्थ्यो।
संविधानवाद कायम भयको भय प्रजातन्त्र मौलाउन सक्थ्यो। अहिले त प्रजातन्त्रको नाममा निरङ्कुशता हाबी हुँदै गएको छ। यो अवस्थाबाट मुलुकलाई बचाउने एउटै मन्त्र सवै पक्ष बिचको नवीन समझदारी नै हो।यदि यसमा ढिलाइ गरियो र राप्रपाको आव्हानमा जनताले विद्रोह गरे भने न प्रजातन्त्र रहन्छ न यो संविधान रहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी