मधेस सरकारबाट बाहिरिने सवालमा माओवादीको ‘यू–टर्न’
वीरगन्ज । मधेस प्रदेश सरकारबाट बाहिरिने सन्दर्भमा माओवादीले ‘यू–टर्न’ लिएको छ । बिहीबार साँझसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी मधेस प्रदेशले शुक्रबार भने ‘यू–टर्न’ लिएको हो ।
केन्द्रको निर्देशन नआएको भन्दै माओवादी मधेस प्रदेश संसदीय दलले शुक्रबारदेखि सरकार फेर्ने सवालमा आफ्नो बोली फेरेको छ । सत्ता परिवर्तनको खेलमा माओवादीको ‘यू–टर्न’ले मधेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित अर्थात् ‘सेफ जोन’मा पुगेको छ ।
जसपा विभाजन भएपछि त्यसलाई ‘गोल्डेन चान्स’ ठानेर प्रदेशस्तरमा माओवादीसहितका दलहरूले सरकारको नेतृत्व फेर्न गृहकार्य सुरु गरेका थिए ।
स्रोतका अनुसार यो छलफलमा केन्द्रसँग कुनै समन्वय थिएन । तर प्रदेशस्तरका नेतृत्वले आ–आफ्नो ढङ्गले छलफल गरी सरकारबाट बाहिरिने तयारी गरेका थिए । सोही क्रममा माओवादीले विभिन्न दलसँग छलफल पनि गरेको थियो ।
ती छलफलमा सबैले आ–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाबी गर्न थाले । माओवादी स्रोतका अनुसार छलफलको पहिलो चरणमा एमालेको प्रस्ताव पनि त्यही आयो ।
मुख्यमन्त्रीमा एमालेले दाबी गर्न थालेपछि माओवादी केन्द्र झस्कियो । किनकि प्रदेश सभामा भएको माओवादी सांसदको सङ्ख्याको हिसाबले सरकार बनाउन आवश्यक बहुमत जुटाउन ठुलो चुनौती हुन्छ ।
एमाले, जनमत, एकीकृत समाजवादी र माओवादी मिलेको खण्डमा समेत साना दलहरुको समर्थन आवश्यक पर्छ । तर सरकार फेर्ने सवालमा एमालेले आफ्नो ‘क्लियर’ धारणा बनाइनसकेको भन्दै मुख्यमन्त्री पाए विचार गर्न सकिने प्रस्ताव एमालेबाट आयो । एमालेको यस्तो प्रस्तावमा माओवादी सहमत हुन नसकेको स्रोत बताउँछ ।
माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यका अनुसार मधेसका सरकार परिवर्तनका बारेमा केन्द्रबाट समेत ‘ग्रीन सिग्नल’ आएको थिएन ।
कसरी सरकार फर्ने कुरा आयो ?
जसपा नेपाल पार्टी विभाजन भएपछि मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार ढाल्न विभाजित जसपाकै एउटा समूह लागेको बताइन्छ ।
त्यसै अनुसार सुरुमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री बन्ने प्रस्ताव गरिएको थियो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ छोडेर आफूहरूको खेमामा आए मुख्यमन्त्री बनाइदिने प्रस्ताव उनलाई गरिएको थियो । त्यसका लागि माओवादीसहित सत्तारुढ दलबाट पूर्ण सहयोग रहने आश्वासन उनलाई दिइएको थियो ।
तर त्यो प्रस्ताव पूर्वमुख्यमन्त्री राउतले अस्वीकार गरे । स्रोतका अनुसार पूर्व मुख्यमन्त्री राउतले प्रस्ताव स्वीकार गरेको भए अन्य दलसँग समन्वय गरेर माओवादी सरकारबाट बाहिरिने योजनामा थियो । यही रणनीति बमोजिम सरकार परिवर्तन गर्ने खेल रचिएको जसपाका एक प्रदेश सभा सदस्य बताउँछन् ।
पूर्वमुख्यमन्त्री राउतले रातोपाटीसँग आफूलाई मुख्यमन्त्री बन्ने प्रस्ताव आएको सुनाए । उनका अनुसार केही साथीका माध्यमले प्रस्ताव आए पनि स्वीकार नगरिएको हो ।
उनले भने, ‘प्रस्ताव ल्याउने ती साथीलाई मैले पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ नछोड्ने सुनाएँ, एकपटक मुख्यमन्त्री भइसकेको छु, अब लालच पनि छैन । यति भनिसकेपछि ती साथी चुप भए ।’
जसपा विभाजनको मौकामा सरकार परिवर्तन गर्ने चलखेल सुरु गरिएको माओवादी प्रदेश सांसद रहबर अन्सारी बताउँछन् । त्यसै रणनीति अनुरुप केही पहल भए पनि केन्द्रले प्रक्रिया अघि नबढाउन र यही सरकारलाई तत्कालका लागि निरन्तरता दिन भनेपछि सरकार परिवर्तनको प्रयास थन्किएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने