फिजीका पूर्वप्रधानमन्त्रीलाई एक वर्षको जेल सजाय
शुक्रबार, २८ वैशाख २०८१, १५ : ३७

सुभा । फिजीका पूर्वप्रधानमन्त्री फ्र्याङ्क बाइनिमारामालाई एक वर्षको जेल सजाय तोकिएको छ । भ्रष्टाचार मामिलामा प्रहरी अनुसन्धानमा अवरोध गरेपछि उनले सो सजाय पाएका हुन् ।
उनी फिजीका हाई प्रोफाइल राजनीतिज्ञमध्ये एक हुन् । सन् २०२२ अघिसम्म १५ वर्ष उनी प्रधानमन्त्रीका रुपमा रहेका थिए । प्रशान्त क्षेत्रका देशहरुमा जलवायु परिवर्तनको असरबारे विश्व मञ्चमा लबी गर्ने उनी शीर्ष प्रतिनिधि पनि हुन् ।
बिहीबार अदालतले फैसला सुनाएपछि उनीलाई हतकडी लगाएर लगिएको थियो । विश्व विद्यालयमा भएको ठगी कान्डमा प्रहरी छानबिनमा खलल उत्पन्न गराएको भन्दै गएको महीना उनीमाथि अभियोग चलाइएको थियो ।