आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पन्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो ।
घरेलु टोली पन्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पञ्जाबलाई २४२ रनको कठिन लक्ष्य दिएका थिए ।
यस लक्ष्यको जवाफमा पन्जाबका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे पनि १७ ओभरमा १८१ रनमा पूरै टिम ढलेको थियो र यो हारसँगै पन्जाब टोली आइपीएलको प्लेअफ होडबाट पुरै बाहिर भएको छ ।
आरसीबीका ओपनर फाफ डु प्लेसिस र विराट कोहली पहिले ब्याटिङ गर्न आएका थिए । दुवैले सुरुमा तीव्र गतिमा शट खेल्न थाले तर आइपिएलमा डेब्यू गर्दै आएका वेदावथ कावरप्पाले पहिले फाफ डु प्लेसिस (९ रन) र त्यसपछि विल ज्याक (१२ रन) लाई पहिले प्याभिलियन पठाए । तेस्रो विकेटका लागि रजत पाटीदारले विराट कोहलीलाई साथ दिए ।
दुवै ब्याट्सम्यानले विस्फोटक शट खेल्न थाले । रजत पाटीदार २३ बलमा ५५ रनको तीब्र इनिङ खेलेर आउट भए । यस इनिङ्समा उनले ३ चौका र ६ छक्का प्रहार गरेका थिए ।
पाटीदारको विकेटपछि वर्षाले खेल अवरुद्ध गरे पनि केही समयपछि सुरु भएको खेलमा विराट कोहलीले आफ्नो उत्कृष्ट इनिङलाई अगाडि बढाउँदै क्यामरुन ग्रीनसँग ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे । विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित ९२ रनको इनिङ खेले ।
अन्त्यमा दिनेश कार्तिकले ७ बलमा १८ रनको छोटो तर दमदार इनिङ खेले भने क्यामरुन ग्रीनले २७ बलमा ४६ रन बनाएर नटआउट रहे । पन्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए ।
२४२ रनको लक्ष्य पछ्याउन आएको पञ्जाबलाई प्रारम्भिक झटका प्रभासिमरनको विकेटको रुपमा लाग्यो । तर दोस्रो विकेटका लागि जोनी बेयरस्टो र रिले रुसोले ७१ रनको तुफानी साझेदारी गरे । बेयरस्टोले २७ रन बनाए भने अर्को छेउमा रुसोले २७ बलमा ६१ रनको विस्फोटक इनिङ खेले । शशांक सिंहले पनि ३७ रनको महत्त्वपूर्ण योगदान दिए ।
पन्जाबका लागि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । जितेश शर्मा ५, लियाम लिभिङस्टोन ०, आशुतोष शर्मा ८ र कप्तान करणले २२ रन बनाएपछि फ्लप भए । आरसीबीका लागि मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र कर्ण शर्माले २–२ विकेट लिए ।
जितसँगै आरसीबीले प्रतियोगिताको प्लेअफ होडमा आफूलाई कायमै राखेको छ । फाफ डु प्लेसिस र कम्पनीलाई प्रतियोगितामा १४ अंकसहित प्लेअफको ढोका खोल्नका लागि अर्को दुई खेल जित्न आवश्यक छ । आइपीएलमा आज राति गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ