सभामुखसँग प्रमुख सचेतकको बैठक : शुक्रबारको बैठकमा रविले संसद्मा सम्बोधन गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा शुक्रबारदेखि सुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ । जसकारण पनि बिहीबारको बैठक संसद् निर्वात सुचारु गर्ने सहमति बिनै टुंगिएको हो । बैठक पुनः शुक्रबार बस्नेछ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रबारको प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको र शीर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए । उनले बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूची नराख्ने र शीर्ष नेताहरूले बैठकमा सम्बोधन गर्ने भएको कांग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको बताए । उनले संसद्को बैठकमा शीर्ष नेताहरूले महत्त्व दिएर सम्बोधन गर्नेकुरा जरुरी रहेको र यसले राजनीतिक अर्थका दिनुका साथै देशभरका समस्या शीर्ष नेताबाट उजागर हुने अपेक्षा गरे ।
बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रवारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले सुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको उनले बताए ।
उनले भने, ‘भोलि बस्ने संसद् बैठकका बारेमा सम्माननीय सभामुखज्युले भोलिको बैठक व्यवस्थित गर्न गृहकार्य गर्नुभएको हो । सदन भोलि सुरु हुन्छ । त्यसमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्छ । बजेट अधिवेशन भएकाले सुरु हुन्छ र बोल्नुहुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेको संसदीय दलको बैठक शुक्रबार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद् सामान्य हिसाबमा नै अघि बढ्ने बताए । उनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने पनि जानकारी दिए । संसदप्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने उनले बताए ।
उनले भने, ‘भोलिको सदनका बारेमा सामान्य के हुन्छ भन्ने कुरा भयो । नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक भोलि नै बस्ने भएकाले यो भन्ने आज नै केही भएको छैन । सामान्य हिसाबमा यो अधिवेशन सुरु गर्ने भन्नेमा छलफल भएको छ । संसद् चल्छ । संसद्को विषयमा सबै पार्टी गम्भीर छन् । रविजीले भोलि सम्बोधन गर्नुहुन्छ ।’
बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलका प्रमुख सचेतक र सचेतकहरूसँग शुक्रबारको संसद् बैठक सञ्चालनसम्बन्धी छलफल भएको बताए । उनले बैठक सञ्चालनमा अझै कुरा नमिलेको र कांग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने बताए ।
बैठकमा भन्सारको महसुल सम्बन्धी विधेयक अघि बढाउनेबारेमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना