रमेशनाथ पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् । पाण्डेसँग सञ्चार, पर्यटन, सामान्य प्रशासन, उद्योग लगायतका मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव पनि छ । पाण्डे नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक मामलाका जानकार मानिन्छन् । उनले आफ्ना अनुभव समेटेर ‘कूटनीति र राजनीति’ पुस्तकसमेत लेखेका छन् ।
२०१९ सालमा बीपी कोइराला सुन्दरीजल जेलमा हुँदा राजा महेन्द्र र बीपीकाबिच तथा २०५९ सालमा विद्रोही माओवादी र सरकारबिच वार्ता गराउन पाण्डेले पहल गरेका थिए । त्यसैगरी उनी ‘इन्टरपार्लियामेन्ट युनियन’को मेक्सिको अधिवेशनका उपाध्यक्ष पनि हुन् । पाण्डेसँग रातोपाटीका लागि दुर्गा दुलालले भारतको निर्वाचन र त्यसले नेपालमा पार्ने असरका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
प्रजातन्त्रमा आवधिक निर्वाचन हुनै पर्छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएका देशहरूमा प्रजातन्त्रको प्राण पक्ष, अझ भनौँ जीवन रेखा निरन्तरता दिने देश भारत मात्र हो । भारतले यसलाई अविच्छिन्न रूपमा कायम राख्दै आएको छ । यही अन्तर्गतको अर्को एक निर्वाचन भारतमा भइरहेको हो ।
जनमतलाई अद्यावधिक गर्ने परम्परालाई अक्षुण्ण राख्न भारत सफल छ । अब हेरौँ यसको राजनीतिक पक्ष । यसलाई तपाईंले हेर्नु भयो भने र नेपालका लागि के फरक पार्छ भनेर हेर्दा धेरै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्दछ । यो महत्त्वपूर्ण घडीमा हुन लागेकाले यसको विशेष महत्त्व छ । करिब एक महिना अगाडि भारतको सत्तारुढ दलका नेता नेपाल आएका थिए । उनको नेपाल भ्रमणका क्रममा मसँग पनि कुरा भएको थियो । मैले उनलाई भनेको थिएँ– ‘तपाईंहरूकोमा निर्वाचन हुँदैछ तर निर्वाचनको नतिजा भने अहिले नै निश्चित छ । निर्वाचन त गर्दै हुनुहुन्छ तर यसको परिणाम भने अहिले नै आइसकेको छ ।’
मैले हाँसो गर्दै ती नेतालाई ‘बधाई अहिले नै दिऊँ ?’ पनि भनेको थिएँ । करिब करिब सबैलाई थाहा छ, निर्वाचनबाट अहिलेकै प्रधानमन्त्री नरेन्द्र मोदीकै जित हुन्छ अर्थात् भारतीय जनता पार्टी (भाजपा) कै जित हुन्छ । यो कुरा घामजस्तै छर्लङ्ग छ । भाजपालाई यसपालि प्रत्याशी नै छैन । भारतीय जनता पार्टी नभई नरेन्द्र मोदी भर्सेस अन्य राजनीतिक दल निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । चुनाव मोदीको नाममा लडिएको छ । उनी एकातिर उभिएका छन् भने अन्य दलले गठबन्धन बनाएर उनलाई टक्कर दिने भनेका छन् ।
भारतले आफ्नो नयाँ छवि हिन्दुत्वको बनाउने देखिन्छ । तर दुखद कुरा, नेपाल कुनै समय हिन्दु राज्य थियो । हामीले छोड्यौँ, भारत त्यतैतिर जान खोज्दैछ ।
भाजपा भने मोदीको निरन्तरताको लागि लडिरहेको छ । मोदी हुनुको कारण उनले १० वर्षमा जे प्रगति गरे, त्यही नै हो । आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा मोदीले भारतको महत्त्व बढाएका छन् । यस कारण भारतको निर्वाचनमा नेपाललाई के महत्त्व छ भनेर हेर्दा धेरै महत्त्व छ किनकि अहिले भारत विश्वको नेतृत्वको दौडमा छ । हामी छिमेकी भएकाले स्वाभाविक रूपमा त्यहाँको निर्वाचनपछि आउने नेतृत्व र परिवर्तनले हामीलाई पनि प्रभाव पार्छ । भारतमा धर्म निरपेक्षलाई विकृतिको रूपमा परिभाषित गर्ने कार्य नरेन्द्र मोदी सरकारमा आएपछि भएको छ । भारतको संविधान धर्मनिरपेक्ष हैन भनिन्छ । उक्त संविधानको कभरमा राम, सीता र लक्ष्मणको तस्बिर अङ्कित छ । यही कारण सत्ता पक्षले यसलाई विकृत गरिएको भनिएको छ । भारतको मात्र यस्तो संविधान हो, जुन संविधान सभाको सबैको हस्ताक्षर भएको कपीमा यो तस्बिर राखिएको छ । जुन संविधानमा हिन्दुहरूको तीन महत्त्वपूर्ण तस्बिर छ, त्यसलाई धर्म निरपेक्ष कसरी भन्ने ? सँगै नरेन्द्र मोदीले भारतीय राष्ट्रवादलाई नयाँ रूपमा परिभाषित गर्न सफल भएका छन् । उनले आफ्नो ब्राण्डसँगै राष्ट्रवादको ब्राण्डलाई पनि सतहमा ल्याएका छन् ।
निर्वाचन घोषणापत्र हेर्दा पनि आगामी दिन यो अझै बढ्ने देखिन्छ । भाजपाको घोषणापत्र जसलाई उनीहरूले सङ्कल्प प्रस्ताव भनेका छन्, त्यसलाई गम्भीर रूपमा अध्ययन गर्दा अबको निर्वाचनपछि भारतमा हिन्दुत्वको कुरा झन् जोडदार रूपमा बहसमा आउने छ । भारतलाई हिन्दु राज्यको रूपमा अघि बढाउने कोसिस हुने सङ्कल्प प्रस्तावले प्रस्टै सङ्केत गरेको देखिन्छ । हिन्दुत्वलाई भारतको मुल जराको रूपमा उक्त सङ्कल्प प्रस्तावमा राखिएको छ । मोदीले यही कुरालाई ब्राण्डको रूपमा अघि सारेको देखिन्छ ।
भारतले आफ्नो नयाँ छवि हिन्दुत्वको बनाउने देखिन्छ । तर दुखद कुरा, नेपाल कुनै समय हिन्दु राज्य थियो । हामीले छोड्यौँ, भारत त्यतैतिर जान खोज्दैछ । यसरी हेर्दा यो निर्वाचन र नेपालको सम्बन्धका साथै आगामी दिन के प्रभाव पार्छ भनेर अनुमान गर्न सकिन्छ ।
यसलाई अहिलेको सन्दर्भमा मात्र हेरेर बुझिँदैन । जब विश्वयुद्ध भयो, त्यसपछि विश्व दुई वटा ध्रुवमा विभाजित छ । एउटा कम्युनिस्ट र अर्को डेमोक्रेटिकहरूको रूपमा विश्वमा विकास भयो । सारा संसार विभाजित भएपछि सोभियत सङ्घ स्थापनादेखि पतनसम्म भयो । यसमा प्रजातन्त्रको पूर्ण विजय भयो भनियो । तर प्रजातन्त्रलाई सुदृढीकरण गर्ने काम भएन । शीतयुद्धपछि यो झन् मौलाउँदै गयो ।
तेस्रो कार्यकालमा नरेन्द्र मोदी हिन्दु पहिचान र हिन्दुत्वमा आधारित भएर अगाडि बढ्छन् ।
जुन देशमा जस्तो राज्य व्यवस्था थिए, त्यसलाई केही सुधार गरेर मात्र स्वीकार गरियो । यही कारण फेरि पनि त्यस्तै अवस्था पो आउँछ कि भनिएको छ । अहिले फेरि दुई ध्रुवमा विभाजित हुन खोजेको हो कि भन्ने देखिन्छ ।
अमेरिकाले प्रजातन्त्रको नेतृत्व गरिरहेको दाबी गरेको छ भने चीनले साम्यवादको नेतृत्व गरेको दाबी गरेको छ । तर सार रूपमा चीनको शासन बिस्तारै विकसित भएर खुला रूपमा अघि बढेको पनि देखिन्छ । यी दुई देशको मात्र नभई सिद्धान्तको पनि भिडन्त छ । यही कारण प्रजातन्त्रको मूल्य र स्तम्भ छन्, त्यसलाई कायम राखेर अघि बढ्ने गरी एउटा विश्वको रचना हुने देखिन्छ । यसको नेतृत्व नरेन्द्र मोदीले लिने देखिन्छ । यही निर्वाचनले मोदीलाई यो अधिकार दिने देखिन्छ । तेस्रो कार्यकालमा नरेन्द्र मोदी हिन्दु पहिचान र हिन्दुत्वमा आधारित भएर अगाडि बढ्छन् ।
नेपाल र भारत असल छिमेकी हुन् । हाम्रो सम्बन्ध सदिऔँ पुरानो छ । अहिले मोदी जसरी अघि बढेका छन्, उनी निर्वाचित भएर आएपछि उनको नीतिले नेपालमा सिधा असर पर्छ । नेपाल भारतसँगको छवि र सम्बन्धका कारण पनि प्रभाव पर्ने हो । यो भनेको हिन्दुत्वकै कुरा हो । नेपाल विगतमा हिन्दु राज्य नभने पनि हिन्दु राज्य नै थियो । २०१७ देखि २०४७ सम्मको संविधानको इतिहास हेर्दा संविधानमा नलेखे पनि नेपाल हिन्दु राज्य थियो । तर अहिले आएर संविधानमा उल्लेख गरेर शब्दको समस्या खडा गरेको देखिन्छ । शब्दको यो समस्यालाई अब भारतमा आउने नयाँ सरकारले पक्कै गम्भीर रूपमा लिने देखिन्छ ।
भारतले संविधान जारी गर्दाकै बखतमा समेत असन्तुष्टि जाहेर गरेकाले र नरेन्द्र मोदीले भारतलाई हिन्दुत्वको राज्य बनाइराख्दा नेपाल यसबाट अछुतो वा अलग रहन सक्ने अवस्था देखिँदैन । अहिले पनि नेपाली समाजको चरित्र परिवर्तन भएको छैन । भारत अहिलेभन्दा पनि अझै शक्तिशाली भएर यो निर्वाचनपछि आउँछ । यो कुरा नेपालले बुझ्न जरुरी छ ।
तीन वटा देशका बिचमा पक्कै दौड र द्वन्द्व हुने छ । यी तीन वटै देशसँग हामी कसरी सम्बन्ध कायम गर्छौँ भन्ने महत्त्वपूर्ण कुरा हो ।
भारत नै दुई भागमा विभाजित हुन्छ कि भन्ने चर्चा अहिले धेरै कूटनीतिक रूपमा चलिरहेको छ । नर्थ र साउथ इन्डियाका बिचमा दुरी बढ्ने आँकलन गरिएको छ । साउथ इन्डिया नर्थभन्दा धेरै विकसित छ । यही कारण यी दुईका बिचमा विवाद चलिरहेको छ । विकसित र अलि कम विकसित इन्डियाका बिचमा भिन्नता हुँदा त्यस बिचमा आउने टकराबको असर हामीजस्ता छिमेकीलाई पर्छ । हाम्रो सम्बन्ध त नर्थ इन्डियासँग छ । यसमा के होला भन्ने छ । त्यस्तै कुरा हो नेतृत्वको । विश्व नेतृत्वको दाबेदार हुनका लागि एसियाको नेतृत्व लिनुपर्छ, अनि मात्र सकिन्छ । एसियाको नेतृत्व बन्ने दौडमा चीन र भारत छन् । एसियाले अहिलेको इतिहास लेखिरहेको छ । यो चीन र भारतले लेखिरहेका छन् । दुवै देश तीव्र गतिमा अघि बढिरहेका छन् भने उनीहरूका बिचमा प्रतिस्पर्धा पनि बढेको छ ।
चीन अहिले नै विश्वको दोस्रो ठुलो दोस्रो शक्ति भएको छ । भारत आजको ६ वर्षपछि विश्वको तेस्रो आर्थिक महाशक्ति बन्ने छ । यी दुई छिमेकीका बिचमा सडकबाट जोडिने एउटै मात्र देश नेपाल हो । यी दुवै देशका बिचमा आवश्यकता र सम्बन्धको रूपमा नेपाल निकै महत्त्वपूर्ण भूगोल बोकेर बसेको छ । भूराजनीतिक रूपमा हाम्रो सामरिक महत्त्व ह्वात्तै बढेको छ । अहिलेको एक्लो महाशक्ति राष्ट्र अमेरिका छ । ऊ यसै मौन बस्छ भन्ने देखिँदैन । उसले पनि आफ्नो पोजिसन कायम राख्न केही न केही पक्कै गर्दैछ । नेपालमा पनि उसले केही गरिरहेको छ । नेपालसँगको पछिल्ला इन्गेजमेन्टहरू हेर्दा पनि यो प्रस्ट रूपमा भन्न सकिन्छ । यो अझै बढ्छ ।
यो तीन वटा देशका बिचमा पक्कै दौड र द्वन्द्व हुने छ । यी तीन वटै देशसँग हामी कसरी सम्बन्ध कायम गर्छौँ भन्ने महत्त्वपूर्ण कुरा हो । यी तीन वटै प्रतिस्पर्धी शक्ति अहिले मिलेको देखिएको छ । यसबाट आफूलाई फाइदा लिने गरी मिलाएर कसरी बस्ने भन्ने नेपालको चुनौती हो । नेपालमा सबैको रुचि छ । अमेरिका होस्, भारत या चीन । यसबाट बचाउन नेपाल सरकार सक्षम छ भन्ने कूटनीति नेपालले देखाउनुपर्छ । तर दुखद कुरा, हाम्रो यो क्षमता कमजोर हुँदै गएको छ । हामी यो क्षमता गुमाउँदै गएका छौँ । उनीहरूको सामरिक रुचि र सक्रियता अझै आगामी दिनमा बढ्छ । यही कारण नेपालले आफ्नो क्षमता देखाएर यसबाट फाइदा लिन सक्नुपर्छ । तर नेपालले यो स्तरको कूटनीति र राजनीतिक परिपक्वता विकास गर्न सकेको छैन । यसमा हामी पछाडि परेका छौँ । समयमै यसलाई सच्याउनुपर्छ । तर नेपाल हेर्दा झन् कमजोर हुँदै गएको छ । नेपाल संस्थागत रूपमा बलियो हुनुपर्नेमा झन् कमजोर भएको कुरा धेरै प्रमाणबाट देखिन्छ ।
जापानका परराष्ट्रमन्त्री किन श्रीलंकापछि नेपाल आइन् त ? उनले नेपाल आउनुअघि लेखेको लेखमा के सङ्केत गरेकी थिइन् ? यो कुरा हामीले कूटनीतिक रूपमा ख्याल गरेका छौँ कि छैनौँ ?
केही समयअघि कतारका राजाको नेपाल भ्रमण होस् वा जापानका विदेशमन्त्रीको भ्रमण हेर्दा नेपालले कमजोर कूटनीति देखाएको देखिन्छ । कतारको अमिर आएको बेला उनलाई चढाउने गाडीसमेत व्यवस्था गर्न सकेन । कतारको राजदूतसँग सापटी माग्न पर्यो । यो त लज्जास्पद कुरा हो । राजकीय भ्रमणपछि जारी हुने विज्ञप्तिसमेत जारी भएन । यो नेपालको असफलता हो ।
जापानका परराष्ट्रमन्त्री किन श्रीलंकापछि नेपाल आइन् त ? उनले नेपाल आउनुअघि लेखेको लेखमा के सङ्केत गरेकी थिइन् ? यो कुरा हामीले कूटनीतिक रूपमा ख्याल गरेका छौँ कि छैनौँ ? त्यस्तै जापानसँगको सम्बन्ध विस्तार हुँदा दुई छिमेकीका बिचको सम्बन्धमा के असर पर्छ, हामीले यसलाई ख्याल गरेका छौँ कि छैनौँ ? सहसचिव स्तरको कर्मचारीले गर्नुपर्ने कुरा राष्ट्रप्रमुखमा पुर्याइन्छ भने हामी कस्तो कूटनीति पस्किरहेका छौँ ? कतारका अमिर नेपाल आउँदा विमानस्थलमा राष्ट्रपति एक्लैले स्वागत गर्नुभयो । प्रधानमन्त्री किन पुग्न सकेनन् ? यसले हामीले के सन्देश प्रवाह गर्न खोजेका हौँ ? त्यस्तै बाँकी विश्वलाई पनि के सन्देश दिइरहेका छौँ ?
यस्तै कारणले आउने दिनहरू नेपालका लागि निकै जटिल छ । आर्थिक, सामरिक र कूटनीतिक रूपमा निकै चुनौतीपूर्ण छ । यसलाई राम्रोसँग सम्बोधन गर्न सके नेपाल पनि आर्थिक रूपमा विश्वको शक्तिशाली मुलुक बन्छ । अन्यथा हामीले दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने छ । यसपछि धेरै दुर्घटना हुनुपर्छ । हामीले राजनीतिक र कूटनीतिक नेतृत्वमा ध्यान दिनुपर्छ । राजनीतिक स्थायित्व हुनुपर्छ र हाम्रो विगतको कूटनीतिक क्षमतालाई अझै तिखार्न जरुरी छ ।
प्रतिक्रिया