कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि २८ रोपनी जग्गा भाडामा

काठमाडौँ । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर ठगेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ अनुमति लिएको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । उनी २०४७ देखि २०७७ सम्म बाल संगठनको अध्यक्ष थिइन् ।
मासिक ९ लाख रुपैयाँ भाडा तोकेर वि.सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको बाल सङ्गठनकी अध्यक्ष विद्या न्यौपानेले रातोपाटीलाई बताइन् । वैशाख १४ मा बसेको बाल सङ्गठन सञ्चालक समितिको बैठकले पुरानो सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
वृहस्पति विद्या सदनले बाल मन्दिरसँग सम्झौता गरेर सो जग्गा पुनः राई स्कुललाई ‘सवलिज’ मा दिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार नेपाल बाल सङ्गठन र वृहस्पति विद्या सदनबिच २०४९, २०५३, २०५८, २०५९ र २०७२ मा न्यून भाडा दरमा सम्झौता भएको छ । बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा लिजमा दिँदा वृहस्पति विद्या सदन र व्यापारिक घरानासँग मिलेर पूर्व पदाधिकारीहरूले आर्थिक लाभ लिएको आरोप छ ।
२०७२ मा तत्कालीन अध्यक्ष रिता सिंहले पुरानो सम्झौता बाँकी हुँदै अर्को सम्झौता गरेको भेटिएको छ । पुरानो सम्झौता १७ वर्ष बाँकी हुँदै समय थपेर ४३ वर्षसम्मको लागि सम्झौता गरिएको अध्यक्ष न्यौपानेले बताइन् । उनी भन्छिन्– ‘वि.सं २१३२ सालसम्मका लागि ७९ वर्षसम्म कायम हुने गरी सम्झौता गरेको देखिन्छ ।’
२०५९ भदौ ११ मा गरेको सम्झौता समयावधि २०८९ सालसम्म कायम थियो । तर, सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पदाधिकारीहरूले पुरानो सम्झौता अवधि समाप्त भएपश्चात् मात्र लागू हुने गरी पुनः ३८ वर्ष थप कायम गरेका हुन् ।
बाल सङ्गठनका तत्कालीन पदाधिकारी रिता सिंह र वृहस्पति विद्या सदनका पदाधिकारी पुरुषोत्तमराज जोशी समेतले मिलेमतो गरेर २०७२ साउन ३ मा पूरक सम्झौता गरेका हुन् । आरोपीहरुविरुद्ध बाल सङ्गठनको तर्फबाट ठगी मुद्दामा कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले बाल मन्दिरको नाममा ११९ रोपनी जग्गा प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?