आमाको मन बुझ्न वर्षौँ लाग्यो
'तिमी जन्मिँदा परिवारमा कोही खुसी थिएन। चौथो सन्तानको रूपमा तिमी पनि छोरी नै जन्मियौँ । म त आत्मादेखि खुसी थिएँ । तर खुसीका बिच डर त लागिरहेको थियो छोरी । कहीँ तिम्रो कारण मलाई यो घरबाट निकालिनु वा मर्नु त पर्दैन नि ! यी डरका बिच म तिमीलाई एक पलको लागि एक्लै छोड्दैनथेँ । त्यो नभए कहीँ कतैबाट तिमीमाथि असुरक्षा नआइलागोस् भन्ने कुरामा म सेकेन्डको रफ्तारमा सचेत थिएँ । तर तिम्रो हजुरबुवाको इच्छा विपरीत घरका अन्यले सुत्केरी भएको दोस्रो दिन नै तिमी काखमा च्यापिँदै तिमी र मलाई मामाघर ( मेरो माइती ) पुर्याइयो । यस्तो वेला घरको जेठी बुहारी गए राति जन्मेको बच्चा सहित घरबाट निकालिनुले तिम्रो हजुरबुवाको मन अमिलो भएको थियो । छोरी जन्मिएर दुःख मनाएका तिमी सहित मलाई लखेटेर तिम्रो हजुरबुवा बाहेक घरका सबै औधी खुसी थिए। तिम्रो र मेरो स्वास्थ्य अवस्था ठिक थिएन। एकातिर घर छुटेको मनको पिडा र खाना स्याहार नपाएर मेरो शरीर पहेँलो भइसकेको थियो । प्रधानपञ्चको छोरा बिहे गरेर कुल घरानामै पठाएको छोरीको घर संसार सम्बन्ध चुँडिने सम्भावना बढ्यो । तिम्रै कारण जीवन निमिट्यान्न हुने सङ्घारमा पुगेको लाग्यो। यही सोचेर सुरुमा त तिम्रो नानीमालाई ( मेरो माइतीको आमा ) नि नरमाइलो लाग्या थ्यो। मेरो बच्चाकै कारण मलाई माइती इगनोर पनि अनुभूति नभएको होइन । घरदेखि टाढा आँपको बगैँचामा गएर एक्लै टोलाउँथे । कति दिनसम्म समयमा खाना खाइन्न । तिमी सम्झेर फेरि दौडेर घर फर्किन्थेँ । नानीमाको पुरानो साडीको कोक्रामा तिमीलाई पाएर खुसी हुन्थे।तर थाहा छ ती सबका बिच बलियो पक्ष के थियो भने सानैदेखि तिम्रो चन्द्रमा झैँ धपक्क बलेकी सुन्दर अनुहारले मलाई सारा दुःख विर्साइदिन्थ्यो । तिमी काखमा हुँदा सबै सहन्थेँ । अन्ततः वर्ष दिनसम्म तिमीलाई लिएर माइतीमै थिएँ । त्यसपछि तिम्रो हजुरबुवा आफू स्वयम् काठको गाडी चालक सहित मलाई लिन आएर म तिम्रो बुवाको घर फर्केको याद छ । त्यसपछि पनि यातनाका दिनहरूको अन्त्य भएन । आज हेर त तिमी नभई दिएको भए १०४ डिग्री ज्वरो आएको वेला मलाई बच्चा झैँ मध्यरातमा मुखमा ठूसी - ठूसी रोटी र आलुको भुजिया कसले खुवाउँथ्यो' भन्दै आमाको आँखाबाट बरबर आँसु झर्यो ।
हाम्रो जीवन त त्यसै बित्यो तिमी अब दुःख नपाउनु भने चाहनाले आमामा थियो । कुनै पनि सर्तमा जीवनभर साथ दिने जीवनसाथी ढंगको मान्छे हुनुपर्छ भन्ने मान्यताले मेरी आमालाई सधैँ सधैँ मेरो चिन्ताले सताइरह्यो। जति भरोसा दिलाए पनि आमाको पूर्णतः चित बुझाउन नसकेको पात्र म । रातीको दुई बज्नै लागेको थियो । मन अझै भक्कानिँदै थियो । निन्द्राले छोएको छैन । पहिलो पटक आमाको घर छोडेर पराई भएँ । वर्ष दिनपछि जब आफै आमा बनेर आमासँग भएको पुनर्मिलनको त्यो रात कहिले बिर्सन नसक्ने जीवनको यथार्थ अनुभूति छ ।
त्यस अघिसम्म आमाको निर्देशनमा , बोलाइको तानामा र अझ नटेरेको खण्डमा थाकेर सुस्केरा हाल्दै पोखेको पिडामा बोलिएका ती शब्दहरू । आमाले भन्न खोजेको बुझाउन चाहेको मर्मलाई खासै वास्ता गरिएन । वास्तवमा आमाले त सन्तानलाई कामको बहानामा जीवन जिउने आरोह - अवरोहको कला सिकाउन चाहनुभएको रहेछ । हामी बालापनको त कहिले किशोरावस्थाको हठले आमाको त्यो मनोभावना बुझ्नै सकिएन । संसारको हरेक पिडा र अभावका बिच मलाई स्वस्थ र मस्त हेर्न चाहने आमाको अविरल मायाको मनोधारा ( मनको वेग ) बुझ्न वर्षौँ लाग्यो। हाम्रा पुस्ताका आमाहरूको यथार्थ शब्दमा चित्रण गरिरहँदा छचल्किएको आँसु देखेर १३ वर्षे छोराले के भयो ममी , आज त ममी रुनु हुँदैन भन्दै थियो तर मैले आँसुको धाराबिच मेरीआमाको अतीतलाई शब्दमा कोरिरहेँ ।
कति रोएँ होला ! म मेरी आमाको सन्तानप्रतिको त्यो इमान्दारिता र अपार मातृत्व जसको कारण संसारको सबै हन्डर खान सक्ने आँट बोकेर मेरी छोरी बाँच्नु पर्छ भनि सन्तानकी जीवन रोजेकी मेरो आमाको कारण म यो संसार देख्न पाएँ । जीवनको गोरेटो पाइला - पाइलामा नाप्न पाएँ । त्यतिवेला आमाले बोलेका सारा शब्दहरू अहिले जीवनको भोगाई बनिरहेको छ । मातातीर्ती औँसीको अवसरमा मेरी आमासहित समस्त आमाहरुमा नमन !