मातातीर्थ औँसीको महिमा
काठमाडौँ उपत्यका यस्तो स्थान हो, जसलाई जीवित सङ्ग्रहालयका रूपमा लिने गरिन्छ । यहाँ अवस्थित विभिन्न स्मारक, मन्दिर, चैत्य र दरबारहरूलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको छ । यहाँका ऐतिहासिक, प्राचीन वास्तुकला, मूर्तिकला, प्रस्तरकला, धार्मिकस्थल एवं पर्व–जात्राहरूले जीवन्त नमुना प्रस्तुत गरिरहेका छन् ।
नेपाल प्राचीनकालदेखि नै देवभूमि, तपोभूमिका रूपमा रहँदै आएकाले अनगिन्ती चाडपर्वले अनादिकालदेखि जरा गाडेको देखिन्छ । यस्ता महत्त्वपूर्ण पर्वहरूमध्ये मातातीर्थ मेला पनि एक हो । नेपालमा गाई, आमा र मातृभूमिलाई समान दृष्टिले हेर्ने गरिएको छ ।
‘जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने आदर्श वाक्यले पनि आमाको महिमालाई उच्चताका साथ लिएको छ । विभिन्न प्रकारका लोकधारणा र किंवदन्तीका आधारमा पर्वहरूको प्रारम्भ भएको तथ्यलाई अघि सारिन्छ । मातातीर्थ औँसीका सम्बन्धमा पनि विभिन्न प्रकारका लोकधारणा र किंवदन्ती नेपाली समाजमा पाइन्छन् ।
मातातीर्थमा वर्तमान अवस्थाको जस्तो कुनै कुण्ड वा पोखरी थिएन, त्यहाँ समथल मैदान थियो । यसले गर्दा गोठालाहरू आफ्ना चौपाया चराउन यहाँ आउन गर्थे । किंवदन्ती अनुसार वर्तमान मातातीर्थ रहेको स्थानमा गोठाला केटाकेटीले आफूले खाने खाजा फ्याँकिदिँदा केही क्षणमै गायब भयो ।
यसबाट केटाकेटीमा झनै कुतूहलता बढ्यो र त्यस स्थानमा खाजा फाल्न थाले । पछि गोठाला केटाकेटीका बाबुआमाले थाहा पाएर त्यहाँ गएर अन्न फालेर हेरे, तर मातृविहीन छोराछोरीले चढाएको अन्न मात्र मृतात्मा आमाहरूले ग्रहण गरेकाले त्यस स्थानलाई मातातीर्थ मानी वैशाख औँसीका दिनमा काठमाडौँको पश्चिममा अवस्थित मातातीर्थमा ठुलो मेला लागेको हो भन्ने लोकधारणा छ ।
यस सम्बन्धमा अर्को एउटा किंवदन्ती पनि बहुप्रचारित छ, जसअनुसार कुनै गोठालाकी आमाको मृत्यु भएको थियो । एक दिन गोठालो तिर्खाएर पानी खोज्दै जाँदा एउटा कुण्डमा पुग्यो र हातले पानी उठाई खान लाग्दा कुण्डमा आमाको अनुहार देख्यो । त्यसै दिनदेखि यस स्थानलाई मातातीर्थ भनिन थालियो र मेला लाग्न थालियो भन्ने लोक विश्वास छ ।
हरेक वर्ष वैशाख औँसीका दिनलाई आमाको मुख हेर्ने पर्वका रूपमा अनादिकालदेखि मनाइने गरिन्छ । यस पर्वको प्रारम्भ कसरी भयो भन्ने सम्बन्धमा कुनै ऐतिहासिक दस्तावेज नपाइए पनि माथि उल्लिखित किंवदन्तीमा गोठाला भन्ने शब्दावली प्रयोग भएकाले यो पर्व गोपाल राजवंशकालदेखि सुरु भएको भन्ने आभास पाइन्छ । वंशावलीका अनुसार काठमाडौं उपत्यकालाई दानासुर नामक दैत्यले जलमग्न पारिदिएकाले भगवान् श्रीकृष्णले दानासुर दैत्यको वध गरी चोभारवाट पानी कटाई बस्न लायक बनाएकाले आफूसँग आएका गोपालहरूलाई यहीँ बसाइ उनीहरूमध्येबाट एकजनालाई राजा बनाएका थिए ।
कुनै गोठालाकी आमाको मृत्यु भएको थियो । एक दिन गोठालो तिर्खाएर पानी खोज्दै जाँदा एउटा कुण्डमा पुग्यो र हातले पानी उठाई खान लाग्दा कुण्डमा आमाको अनुहार देख्यो । त्यसै दिनदेखि यस स्थानलाई मातातीर्थ भनिन थालियो ।
गोपालहरूले पद्यकण्ठ गिरीको समीप हालको मातातीर्थमा राजधानी कायम गरी बसेका थिए । त्यस समयमा गोपालहरू खेतीपातीभन्दा पशुपालन व्यवसाय गरी बसेका थिए । जसले गर्दा गोठालाहरू धेरै संख्यामा हुन्थे । द्वापर युगमा श्रीकृष्ण ग्वालाका साथ उपत्यका आएको भनिएकाले गोपाल राजवंश इसापूर्व ११औँ–१२औँ शताब्दीमा गोपालहरू उपत्यका प्रवेश गरेको अनुमान हुन्छ ।
ऐतिहासिक तिथि अनुसार किराँती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल आएका थिए भनिएको छ, जस अनुसार यो ईपू पाँचौँ शताब्दीको कुरा थियो । यसपूर्व आभिरवंशी राजा र यसभन्दा पनि पूर्व आठजना गोपालले राज्य गरेकाले यसै समय ईपू ११औँ शताब्दीदेखि मातातीर्थ औँसीमा मेला लाग्न थालेको बलियो आधार पाउन सकिन्छ ।
- आमाको महिमा
आमा सृष्टिकी जननी हुन् । आमाविनाको जीवन आश्रय दिने धर्तीप्रति श्रद्धा अभिवृद्धि गर्न मातातीर्थ औँसीलाई पर्वका रूपमा मनाउँदै आएको देखिन्छ । आमाले आफूलाई रित्त्याएर पनि त्याग गरेकी हुन्छिन् । तसर्थ, आमाको स्मरण र सम्मान दर्शाउनु हरेक छोराछोरीको दायित्व हो ।
भगवान् श्रीरामचन्द्रले जननि जन्मभूमिश्च स्वर्गदपि गरियसी भन्ने आदर्श अभिव्यक्ति दिएकाले पनि आमाको महिमालाई उच्चताको शिखरमा पुर्याएको छ ।
हाम्रा धार्मिक ग्रन्थमा पनि आमाको महिमाको सम्बन्धमा व्याख्या गरिएको पाइन्छ । यस दिन छोराछोरीले आ–आफ्ना जीवित आमाहरूप्रति सम्मान व्यक्त गर्न विभिन्न प्रकारका परिकार, कपडा तथा अन्य उपहार लिएर आउँछन् । आमा नहुनेहरूले काठमाडौँको पश्चिममा अवस्थित मातातीर्थमा गएर पूजा तथा श्राद्ध गरी पिण्डदान र सिधादान गर्छन् । यस पुनित कार्यका लागि त्यहाँ ठूलो मेला लाग्ने गर्छ ।
शास्त्रमा मातापितालाई विष्णु र लक्ष्मीका रूपमा उल्लेख गरिएको छ । श्रवणकुमारले मातापिताको अतुलनीय सेवा गरेको दृष्टान्त हाम्रा सामु छ । औँसीमा आमाको स्मरण एवं सम्मान गरिन्छ । मृत मातापिताको स्मरणमा दान, मूलधार मातापिता दुवैलाई सम्मान गरिन्छ । गोकर्ण औँसीमा पिता र मातातीर्थ श्राद्धजस्ता कार्य गरिन्छ, तर जीवित अवस्थामा माताप्रति गरेको दुव्र्यवहारलाई देखाउनुभन्दा पनि आजको वर्तमान युगमा जीवित आमाप्रति सेवाको श्रद्धा र यस दिन गरेको ओठेभक्तिको कुनै अर्थ रहँदैन ।
आमाको स्मरणमा ओठेभक्तिभन्दा सन्तुष्टिको दान गरी सम्मानका वाक्यहरूले पुज्न सकेमा नै मातातीर्थ औँसीको महिमाले शाब्दिक अर्थ पाउनेछ । वास्तवमा जीवित मातापिताको सम्मान र भक्तिमै ईश्वरको दर्शन पाउन सकिन्छ । जननिको दूधको मूल्यभक्तिले चुकाउन सकिन्छ । हरेक मानिसको जन्मनुको सार्थकता त्यसमा हुन्छ, जसले आफ्नो जीवन जननिको सेवामा समर्पित गरी कर्मठताको फूलले पूजा गर्छ ।
मातातीर्थ मेला विशेष गरी कुनै धर्म, जाति विशेषको होइन, यो पर्व हिन्दू धर्मावलम्बीले मात्र नमनाई अरू विविध धर्मावलम्बीले पनि मनाएको देखिन्छ, तीर्थाटनका लागि मातातीर्थमा भीड लागेको देखिन्छ । यो कुनै जाति, धर्मलाई श्रेष्ठ तुल्याउन मनाइने पर्व होइन, यो त केवल आ–आफ्ना जननीप्रति सम्मान प्रकट गर्न मनाइने पर्व हो । यस पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय रूपमा गहन भूमिका खेलेको छ । तसर्थ, मातातीर्थ मेला सबैको साझा पर्व हो । आमाप्रतिको श्रद्धा र भक्तिको अनुपम नमुना पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा