साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी रहेको धारणा व्यक्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
“गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने, “ यसबाट प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र होइन परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नसमेत सघाउ पुर्याउने छ !”
उनले मूलतः स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुने पनि बताए । राष्ट्रपति पौडेलले भने, “यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्नेछ।”
राष्ट्रपति पौडेलले पुँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गर्दै देशमै उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगहरूको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाका लागि आवश्यक संरचना र स्थान उपलब्ध गराउन बेलैमा ध्यान जानु आवश्यक रहेको औँल्याए ।
राष्ट्रपति पौडेलले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठुलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्द्धनमा विशेष कार्यक्रम आवश्यक रहेको बताए । साथै उनले महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए ।
त्यस्तै बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका विषयलाई महत्त्व दिनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ थियो । महासङ्घले लघु, घरेलु तथा साना र महिला उद्यमीद्वारा उत्पादित औद्योगिक उत्पादनहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्न आयोजित यस्ता औद्योगिक प्रदर्शनीले मुलुकमा उद्योग व्यवसायको विकास र विस्तारमा योगदान दिने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल