सिप मेलामा मोबाइल रिपेयरिङको अत्यधिक माग
![सिप मेलामा मोबाइल रिपेयरिङको अत्यधिक माग](https://npcdn.ratopati.com/media/news/mela-sip_0HKXAYPWUJ.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सिप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार बिहान सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षणका क्रममा डंगोलले उक्त कुरा बताएकी हुन् ।
उनले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरू देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए ।
त्यस क्रममा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्दै उपप्रमुख डंगोलले अपेक्षाका बारेमा जानकारी लिएकी थिइन । प्रशिक्षार्थीहरूले सिप विकासका विशिष्ट कक्षाहरूको अवसरको अपेक्षा राखेका थिए ।
सिप मेलामा १० विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेसा राखिएकोमा मोबाइल रिपेयरिङको अत्यधिक माग आएपछि यो पेसा थप गरिएको हो । यस्तै टेलरिङ (ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ ।
- कुन तालिम कति दिन चल्छ ?
तालिमहरू ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र केसी भन्छन्, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’
१० वटा विधामध्ये अटो मोबाइल्समा तीनवटा पेसासँग सम्बन्धित तालिम छन् । पहिलो पेसा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ ।
निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एन्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ गरी ४ वटा पेसासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् ।
हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एन्ड कुक, वेकरी, वार टेन्डिङ र वेटर/वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरू ७ दिन अवधिका हुन् ।
सूचना प्रविधि (इन्फरमेसन एन्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेसाका तालिम छन् । डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सीसीटिभी क्यामरा र मोबाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेसाका कक्षा १५ दिन चल्नेछन् ।
मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेसा छन् । वेल्डिङ पेसाको १५ दिन र रेफ्रिजेरेटर एन्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एन्ड कल्चर विधा (छैटौँ) मा आर्ट एन्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ ।
गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ/ड्रेस मेकर र फेसन डिजाइनिङ गरी दुईवटा पेसासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ र डेस मेकरमा अत्यधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २÷२ वटा कक्षा चलाइएको छ ।
व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेसा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एन्ड स्टायल र सैलुन १५÷१५ दिन अवधिका हुन् । मेकअप आर्ट, आइलेस आर्ट सात दिन अवधिका हुन् । डिजाइनिङ् विधा (नवौँ) मा सात दिन अवधिको स्क्रिन प्रिन्टको कक्षा छ ।
पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली
-
मल वितरण प्रणाली निर्देशिका संशोधन कार्य अन्तिम चरणमा
-
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक
-
देशभर १० लाखभन्दा बढीले लगाए एचपीभी खोप