भारतबाट बाहिरिएला ह्वाट्सएप ?

नयाँ दिल्ली । भारत सरकार र मेटाको म्यासेजिङ एप ह्वाट्सएपबिच जारी खिचातानीका कारण एप भारतबाटै बाहिरिने स्थिति उत्पन्न भएको छ ।
भारत सरकारले सूचना प्रविधि ऐन क०२१ अन्तर्गत कम्पनीलाई एन्क्रिप्शन अन्त्य गर्न बाध्य पार्यो भने आफू भारतबाट बाहिरिने ह्वाट्सएपले हालै अदालतमा भनेको थियो ।
भारतमा ह्वाट्सएपका ५३ करोडभन्दा धेरै युजर छन् । विश्वभर सबैभन्दा धेरै ह्वाट्स एप प्रयोगकर्ता भारतमै छन् । यस्तोमा भारतीय बजार कम्पनीका लागि महत्त्वपूर्ण छ । ह्वाट्सएप कुनै पनि हालतमा एन्क्रिप्शन हटाउने स्थितिसँग सम्झौता नगर्ने देखिन्छ । यो विषयमा भारत सरकार र ह्वाट्सएप आमने सामने भएका छन् ।
आईटी नियम २०२१ अनुसार भारतमा ५० लाखभन्दा धेरै रिजष्टर्ड यूजर भएको इन्ष्ट्यान्ट म्यासेजिङ एपले आवश्यकता परेको बेलामा सरकारी निकायहरुसमक्ष म्यासेज कहाँबाट कसले गरेको हो भन्ने जानकारी खुलाउनु पर्नेछ । यो व्यवस्था विरुद्ध सन् २०२१ मै कम्पनी अदालत पुगेको थियो । ह्वाट्सएपबाट कयौँ गलत काम भइरहेको र एन्क्रिप्शनका कारण अपराधीहरू पक्राउ नपरेको भारत सरकारको दाबी छ ।