जसपा विभाजनपछि एकीकृत समाजवादीमा त्रास

काठमाडौँ । सत्ता घटक एवं संसद्को छैटौँ ठुलो दल जनता समाजवादी पार्टी(जसपा) नेपालमा भएको विभाजनको असर नेकपा(एकीकृत समाजवादी)मा पर्न सक्ने टीकाटिप्पणी हुन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमण रहेकै बेला सात जना सांसदसहित अशोक राईले आइतबार दल विभाजन गरेका थिए ।
खासगरी एमालेका अध्यक्ष केपी ओलीको भूमिकालाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक रूपमा नै असन्तुष्टि पोख्दै आएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश सिट बाँडफाँट, उपनिर्वाचन लगायत विषयमा आफूलाई ओलीले पेल्न खोजेको उनको दुःख मनाउ छ ।
पछिल्लो समय माधव नेपालले वैकल्पिक गठबन्धनका लागि जसपासँगै मिलेर कांग्रेससँग छलफल अघि बढाएको एमाले–माओवादीको आरोप छ । यही आशंकाकाबिच जसपा विभाजित भएपछि एकीकृत समाजवादीका नेताहरू पनि त्रसित बन्न पुगेको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख १८ गते अध्यक्ष नेपाललाई बालुवाटार बोलाएर यस विषयमा चासो राखेका थिए । सोही दिन उपाध्यक्ष राजेन्द्र पाण्डेले सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।
पाण्डेले संसदीय दलको कार्यालय एकै ठाउँमा भएकाले जसपाका नेताहरूसँग भेटघाट हुनु स्वाभाविक भएको बताएका छन् । यद्यपि वैकल्पिक गठबन्धन बनाउने विषयमा आफूले कुनै पहल नगरेको उनको जिकिर छ । जसपा विभाजनलाई आफूले गम्भीर रूपमा नलिएको उनले प्रतिक्रिया दिए ।
‘राजकिशोरजी र मेरो कोठा तल र माथि पर्छ । जतिबेला पनि भेट भइरहन्छ । आलोपालो प्रधानमन्त्री बनाउने हिसाबले छलफल भएको छैन । जसपा विभाजनलाई हामीले गम्भीर रूपमा लिएका छैनौँ’, सोमबार रातोपाटीसँग पाण्डेले भने, ‘आन्तरिक विवादका कारण समस्या आएको विभाजन पक्षको भनाइबाट बुझिन्छ । नेपाली राजनीतिमा स–साना कुराले पार्टी विभाजन हुने हो । धेरै ठुलठुला इस्यु चाहिँदैन ।’
पाण्डेले जसपा विभाजनको असर एकीकृत समाजवादीमा नपर्ने दाबी गरे । अहिले दल विभाजनसम्बन्धी कानुन नभएकाले पार्टी विभाजन गर्न त्यति सजिलो नभएको उनको बुझाइ छ ।
‘जसपाको विभाजनको असर हाम्रो पार्टीमा पर्दैन । हामीमा जसपाको जस्तो स्थिति नै छैन । यो धर्तीमा कसैको केही लाग्दैन । पहिलो कुरा दल विभाजनसम्बन्धी कानुन छैन, निष्क्रिय छ । दल विभाजनका लागि ४० प्रतिशत पुर्याउनुपर्छ । त्यो कसैको तागत छैन’, पाण्डेले भने ।
जसपा विभाजनपछि अध्यक्ष माधवले संसदीय दलको बैठक बोलाएका छन् भने नेताहरूको भित्रभित्रै दौडधुप चलेको छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सोमबार अर्थमन्त्री एवं माओवादीका उपमहासचिव वर्षमान पुन खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका थिए । प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीमा बहुमत सांसद वर्तमान समीकरणको पक्षमा रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु