शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँको पत्रकारिता र शुद्धीकरणको तमासा

सोमबार, २४ वैशाख २०८१, ०६ : ५०
सोमबार, २४ वैशाख २०८१

पत्रकार महासङ्घका सदस्य सङ्ख्याका दृष्टिले हेर्ने हो भने काठमाडौँ जिल्लामा १४ सयभन्दा बढी सदस्य छन् । काठमाडौँ बसेर पत्रकारिता गर्ने पत्रकारले महासङ्घको जिल्ला शाखाबाट भन्दा बढी एसोसिएट्स र प्रतिष्ठान शाखाबाट सदस्यता लिएका छन् । जिल्ला शाखामा त प्रायः साप्ताहिक, पाक्षिक, मासिक अखबारका पत्रकार छन् । यस्तै, केही दैनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका पत्रकार समेत जिल्ला शाखामा जोडिएका छन् । 

ललितपुर र भक्तपुर समेतको सङ्ख्या जोड्दा यहाँ देखिने पत्रकारको सङ्ख्याभित्र यो पेसाले समृद्ध दिशा पक्रिनुपर्ने हो, तर वास्तविकता फरक छ ।

यथार्थ के हो भने, काठमाडौँ शाखाबाट पत्रकार महासङ्घको सदस्य रहेका एक हजार चार सयमध्ये आधा मात्रै पत्रकारिता गर्ने पत्रकार हुन् । जेहोस्, देशभरको तुलनामा सबैभन्दा बढी पत्रकार काठमाडौँ उपत्यकामै केन्द्रित छन् । बाँकी म्यानपावरका एजेन्ट, होटल–रेस्टुराँका मालिक, मेडिकल रिप्रेजेन्टेटिभ (एमआर), गृहिणी लगायत व्यक्ति छन् । 

पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणका नाममा थुप्रै गैरपत्रकारलाई महासङ्घको सदस्यबाट बिदा गर्ने खबर सुनिन्छ । हामीले काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको शुद्धीकरण सिफारिस हेर्ने मौका पायौँ । देख्यौँ, गैरपत्रकारको शुद्धीकरण होइन, क्रियाशील पत्रकारलाई ‘मानार्थ’, ‘निष्क्रिय’जस्ता संज्ञाका साथ सदस्यताबाट वञ्चित गर्ने सिफारिस भएका छन् । पुरानो क्रमाङ्कमा नयाँ मानिसको नाम राख्दै ‘नवीकरण गर्नुपर्ने’ सूचीमा भेटिन्छ । पुराना सदस्य विभिन्न नाममा शुद्धीकरण भएका छन् । 

गम्भीर सवाल के हो भने, हामी यस्तो किसिमको शुद्धीकरणको धन्दा गर्दै कस्तो पत्रकार महासङ्घ निर्माण गर्न जाँदै छौँ ? वास्तविक पत्रकारलाई हटाएर, पत्रकारिताबाहेक अरु काम गर्ने मानिसबाट पत्रकारको नेतृत्व चयन गराउने यो अभ्यास पत्रकार महासङ्घलाई बाँकी राख्नका लागि गरिँदै छ कि सिध्याउनका लागि ? यो काठमाडौँको मात्रै सवाल होइन । देशभरिबाट आएका सदस्यता शुद्धीकरणका सिफारिस हेर्ने हो भने गैरपत्रकारलाई शुद्धीकरण गर्ने नाममा वास्तविक पत्रकार सदस्य हुनबाट वञ्चित हुँदै छन् । 

शुद्धीकरण मापदण्डका केही बुँदा सुन्दैमा उदेकलाग्दा छन् । कुनै निर्वाचनमा उम्मेदवार भएर, चुनाव हारेपछि पत्रकारितामा फर्किएका महासङ्घको सदस्य बन्न नपाउने भनिएको छ । शिक्षण पेसामा संलग्न भएका; राजनीतिक दलको पदाधिकारी रहेका; विभिन्न मन्त्री, पालिका प्रमुखको प्रेस संयोजन गर्ने क्रममा कम्प्युटर अपरेटरको दरबन्दीमा नियुक्ति लिएकाजस्ता नाममा शुद्धीकरण सिफारिस भएका छन् । पत्रकार महासङ्घका सदस्य, जो पत्रकारिता गर्दैनन्, उनीहरू मात्रै शुद्धीकरणमा पर्नुपर्ने हो, तर शिक्षण पेसामा संलग्न व्यक्तिले जति राम्रो समाचार सायदै कसैले लेख्ला । उनीहरू शिक्षक हुन सक्छन्, तर समाचार लेख्दा पत्रकार भएरै लेख्ने हुन् । 

अहिले चलिरहेको शुद्धीकरण जति गाईजात्रे छ, काठमाडौँको पत्रकारिता पनि त्यस्तै छ । काठमाडौँ शाखामा त वास्तविक पत्रकारको मतमा भर परेर कोही पनि निर्वाचित हुने अवस्था छैन ।

राजनीतिक दलमा आबद्ध नभएका पढालेखा नेपाली बिरलै छन् । न्यायाधीशदेखि कर्मचारी, वकिल, डाक्टर पनि राजनीतिक दलका सदस्य हुने हाम्रो देशमा पत्रकारले चाहिँ राजनीतिक दलको पदाधिकारी भएकै नाममा पत्रकार महासङ्घको सदस्य बन्न नपाइने कुरा निन्दनीय छ । 

मन्त्री र पालिका प्रमुखको प्रेस हेर्न जाने साथीहरूले दरबन्दी नहुँदा विभिन्न करारका दरबन्दीमा नियुक्ति लिई तोकिएको जिम्मेवारी वहन गर्नुपर्ने र त्यसबापतको पारिश्रमिक लिनुपर्ने बाध्यता छ । महासङ्घले यही बहानामा वास्तविक पत्रकारलाई पत्रकार होइन भनेर महासङ्घबाट लखेट्न खोज्दै छ । पत्रकार महासङ्घले त प्रत्येक मन्त्रालय, पालिकामा प्रेस संयोजकको दरबन्दीको माग गर्दै अभियान चलाउनुपर्ने, दबाब दिनुपर्नेमा उल्टै त्यहाँ गएका पत्रकारलाई फरक नाममा नियुक्तिपत्र बुझ्यो भनेर शुद्धीकरण गर्ने काम भइरहेको छ ।

अहिले चलिरहेको शुद्धीकरण जति गाईजात्रे छ, काठमाडौँको पत्रकारिता पनि त्यस्तै छ । काठमाडौँ शाखामा त वास्तविक पत्रकारको मतमा भर परेर कोही पनि निर्वाचित हुने अवस्था छैन । काठमाडौंलाई कार्यक्षेत्र मानेर सूचना तथा प्रसारण विभागबाट प्रेस पास लिने पत्रकार हेर्दा त्यत्तिकै विरक्तलाग्दो अवस्था छ । व्यापारी, गुप्तचर, कर्मचारीदेखि अनेकन् क्षेत्रमा लागेका गैरपत्रकारले प्रेस पास बोकेका छन् । 

देशका ठुल्ठुला सञ्चारगृह, वरिष्ठ तथा विभिन्न विषयका विज्ञ पत्रकारको सङ्ख्या पनि काठमाडौंमै बढी छ । अनलाइन तथा मल्टिमिडियासँग सम्बन्धित पत्रकारिताको विकासपछि काम जानेका पत्रकारलाई कामको अभाव छैन । ठुला भनिएका केही सञ्चारगृहले तलबमा विभेद गरेको सत्य हो, तर चलेका मिडियाले महिना दुई महिनामा भए पनि तलब दिइरहेका छन् । 

अचम्म के छ भने, सबभन्दा बढी बेरोजगार पत्रकार पनि काठमाडौंमै छन् । नापी, मालपोत, यातायात, श्रम कार्यालयदेखि म्यानपावरतिर धाउने पत्रकार घटेनन् । पत्रकारिता नगरे पनि पत्रकारका नाममा ठाउँ–ठाउँमा उनीहरू धाइरहेका छन् । बजारमा नदेखिने पत्रपत्रिका सूचना विभाग र प्रेस काउन्सिलमा त देखिन्थ्यो । अहिले उपत्यकाका दुई महानगर र नगरपालिकाहरूमा सूचना विभाग र प्रेस काउन्सिललाई पनि माथ खुवाउने गरी विज्ञापन छापेर पत्रिका बुझाउने लहर चलेको छ ।

पत्रकार सभ्य हुनुपर्छ, पत्रकारिता मर्यादित हुनुपर्छ र पेसाको विश्वसनीयता बचाउनुपर्छ भन्ने कुराको ज्ञान सबभन्दा बढी काठमाडौँको पत्रकारितालाई चाहिएको छ । काठमाडौँ टाढाको भगवान्जस्तो हो, नजिकबाट हेर्दा कुरूप छ ।

(गुरागाइँ अध्यक्ष, उपत्यका प्रदेश कमिटी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गुरागाइँ
आशिष गुरागाइँ
लेखकबाट थप