रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै आयोगले प्रभावितको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरूको जीवन रक्षा गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै रुस र युक्रेन बिच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरूको मृत्यु भएको पुष्टि भइसकेको जनाएको छ ।
युद्धमा घाइते भई उपचाररत रहेकाको जीवन जोखिममा रहेकाले यथाशीघ्र उद्धारको लागि पहल गरिदिन भन्दै युद्ध प्रभावितका आफन्तहरू विगत १७ दिनदेखि काठमाडौँमा अनसनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ ।
‘यस सम्बन्धमा आयोगमा उजुरी प्राप्त हुनुका साथै रुसी सेनामा रहेका व्यक्तिहरूका परिवार तथा आफन्तलगायतले उद्धारका लागि पहल गरिदिन भनी काठमाडौँको रत्नपार्कमा जारी राखेको आमरण अनसन स्थलको समेत आयोगले अनुगमन गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखिको आमरण अनसनका कारण अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको आयोगको अनुगमनका क्रममा बुझिएको छ ।’
रुसी सेनामा भर्ना भई जोखिम अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गर्न र गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्ने सम्बन्धमा आवश्यक कदम चाल्न भनी गत १ पुस, २०८० मा आयोगले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको समेत आयोग पुनः स्मरण गराएको छ ।
‘नेपालीहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ’, आयोगले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा