सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

शिक्षामा कोटा र इन्ट्रान्स सिस्टम हटाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

आइतबार, २३ वैशाख २०८१, १२ : १२
आइतबार, २३ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताएका छन् । शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिने सरकारको तयारी रहेको उनले बताए ।

बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गरी व्यवहारिक रुपमा कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको उनको भनाई छ । सोही अनुसार सरकारले शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

‘प्रदेश विश्वविद्यालयको कार्यालय स्थापना एउटा महत्त्वपूर्ण उपलब्धि हो । संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचिमा रहेको छ । सोही अनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्न अघि बढेको हो ।’ उनले भने, ‘उच्च शिक्षा ऐनले व्यवस्था गरे अनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद् मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ । सोही अनुसार कार्यालय स्थापना तथा विश्वविद्यालय सञ्चालनका लागि बोर्ड अफ ट्रष्टीलाई स्वीकृति पत्र हस्तान्तरण गरिएको छ ।’

उनका अनुसार प्रदेश सरकारले विश्वविद्यालयलाई व्यवस्थित र स्थायित्व दिन नयाँ मोडलमा उच्च शिक्षा ऐन बनाइएको छ । बोर्ड अफ ट्रष्टीको व्यवस्था अन्य कुनै पनि विश्वविद्यालयमा नरहेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाएको बताए ।

मुख्यमन्त्री जम्कट्टेलले प्राविधिक शिक्षा क्षेत्रमा रहेको कोटा र इन्ट्रान्स सिस्टम घातक रहेको टिप्पणी गरे । मेरिट सिस्टम कार्यान्वयन नगरी कोटा सिस्टमबाट विद्यार्थी अध्यापन गराउने र इन्ट्रान्सको नाममा दुःख दिने काम भइरहेको उनले बताए । कोटा सिस्टम लागु गरेर निजी कन्सल्टेन्सीलाई प्रोत्साहन गर्ने र विद्यार्थी पलायन गराउन केही शक्तिहरू लागिरहेको उनले आरोप लगाए ।

‘इन्ट्रान्स प्रणाली घातक छ । मार्क सिटमा एउटा नम्बर अनि इन्ट्रान्स पास गर्नुपर्ने यो कस्तो नियम हो । मेरिट सिस्टमा लागु गर्न नचाहने कोटा सिस्टम दिने यस्तो हुँदैन । इन्ट्रान्सको नाममा हजारौ विद्यार्थी पास गर्ने अनि पढाउन चाहिँ १००÷२०० को कोटा किन दिने ? पढाउन नसक्ने भए इन्ट्रान्स लिने अधिकार कसले दियो ? कोटा सिस्टम र इन्ट्रान्सको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । ’ उनले भने ।

सो सिस्टमको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्ने मुख्यमन्त्री जम्कट्टेलले बताए । आवश्यक परेको खण्डमा मुद्दामा गएर कोटा र इन्ट्रान्सको सिस्टम हटाउने कामको बागमती सरकारले गर्ने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पाैडेलले नेपालमा शिक्षाको गुणस्तर नरहेको बताए । उनले प्रदेश विश्वविद्यालयले गुणस्तरीय व्यवहारिक शिक्षा प्रदानमा काम गर्नुपर्ने बताए ।

प्रदेश सरकारले विश्वविद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्नेगरी काम गर्नुपर्ने बताए । विशिष्टिकृत पाठ्यक्रम निर्माण तथा अध्ययापन र विद्यार्थी पलायन रोक्न सक्ने गरी प्रदेश विश्वविद्यालयले काम गर्नु पर्ने उनको भनाई छ । विश्वविद्यालयले सामाजिक क्षेत्रमा आवश्यक पाठ्यक्रम निमार्ण गरी कार्यान्वयनमा अघि बढ्नु पर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप