पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे
‘सर, अहिले नै भिडियो कुराकानी नगरौँ है,’ रातोपाटीका लागि कुराकानी गर्ने प्रस्ताव राख्दा कलाकार राजु मास्टर सुरुमा पन्छिन खोजे । ‘भिडियो अलि पछि गरौंला अहिले अनलाइनका लागि मात्र छोटो कुराकानी गरौँ न त,’ थापागाउँको एक रेस्टुराँमा बिहानीपख भेटिएका उनलाई यति प्रस्ताव राख्दा पहिलो राउन्डको कफीको कप रित्तिइसकेको थियो ।
अघिल्लो जन्मदिन विशेष रूपमा सेलिब्रेट गरेका राजु मास्टरले यसपालि भने ठुलो कार्यक्रम राखेनन् । अघिल्लो जन्मदिनको हाम्रो भेटघाट उनको सम्झनाबाट हराइसकेको थियो । सम्बन्ध एक पटक रिन्यु गरिसकेपछि बल्ल उनी रातोपाटीका लागि बोल्न राजी भए ।
छेउमै बसेका सञ्चारकर्मी गोपीकृष्ण चापागाँई र श्यामहरि शिवभक्ति भने चुपचाप सुनिरहे । हातको एउटा औँलामा ठेला उठेको देखाउँदै, त्यस पछाडिको कथा सुनाए । चर्चित नेपाली सिरियल ‘जुठे’ र ‘सकस’ का स्थापित कलाकार राजु मास्टर रातोपाटीसँग गफिए । यो बसाइमा कफी भन्दा गफ बढी मीठो थियो ।
- तपाईं कस्तो प्रकृतिको व्यक्ति हो ?
म सरल मान्छे हो । ममा अहम् छैन । साना कुरामा मन दुखाउने बानी छैन । कुनै दिन सडकमा भोकै सुत्नु परे पनि ठिकै छ, फाइभ स्टारमा खान पाएको दिन पनि ठिकै छ । कुनै दिन आत्मबल कमजोर बनाएको, दुखी बनेको क्षण छैन । एकसरो लुगा लगाउन पाए पुग्यो ।
- ‘राजु मास्टर’ नाम कसले न्वारन गर्नुभयो ?
आदरणीय दाइ केदार घिमिरे, सीताराम कट्टेल र मिडिया हबको हात छ । केदार दाइले त २०६३ मा मेरो नाम जन्माउनु भएकै हो । नाम न्वारनबाहेक उहाँले लेख्न पनि सिकाउनु भएको हो । हाम्रो एकै दिन जन्मदिन पनि हो ।
- स्क्रिप्ट लेख्न सजिलो कि अभिनय गर्न ?
स्क्रिप्ट लेख्न धेरै गाह्रो । लेख्ने कुरा सजिलो हुने थियो भने कलाकार जति सबै निर्देशक हुन्थे । लेख्ने मानिस पाँच जना हुन्छन् भने अभिनय गर्ने ५ हजार हुन्छन् । यो कन्फर्म हो । क्रियसन भन्ने बित्तिकै गाह्रो पाटो हो ।
- जीवनकै पहिलो कमाइ सम्झिँदाको मजा कसरी साट्नुहुन्छ ?
मेरी बास्सैमा खेल्दा ३ सय रुपैयाँ कमाएको थिएँ । कलाकार बन्छु भनेर बुम समाउन खोज्दा ३ सय पाएको थिएँ । त्यसमा २ सय रुपैयाँ गोजीबाट थपेर साथीहरूलाई भोज खुवाएँ । अस्ति भर्खर जस्तो लाग्छ । १७ वर्ष बितिसक्यो, तैपनि १७ मिनेट जस्तै लाग्छ । मैले जीवनलाई भरपुर रमाइलो गरी बिताएको छु ।
- करिअरकै कुनै एक फ्यानसँगको अविस्मरणीय पल सम्झिनुहुन्छ ?
त्यो त एक जना भन्न मिल्दैन । थुप्रै सम्झनाहरू हुन्छन् ।
- अहिले तपाईंको मासिक आम्दानी कति छ, खर्च कति हुन्छ ?
छोरीको उमेर र छोराको आम्दानी नसोध्नु भन्छन् । कमाई भनेको जिन्दगी चलाउने माध्यम मात्र हो । कमाई सम्झिएर काम गर्न थालियो भने दिमाग साँघुरिन्छ । खुला दिमागले काम गर्न बिन्दास पाराले जीवन जिउन सकिँदैन । २ सय ५० रुपैयाँको जुत्ता लगाउन पाउँदा पनि खुसी हुन्छु, खाली खुट्टा हिँड्नु परे पनि खुसी नै हुन्छु ।
- जीवनको खुसी पैसामा छ कि पहिचानमा ?
खुसी पहिचानमै हुन्छ । आफ्नो पहिचान आफ्नो ठाउँमा छ । वास्तवमा खुसी हुनका लागि पैसा पनि चाहिँदैन, पहिचान पनि चाहिँदैन । तपाईं खुसी हुने हो भने पहिला आफू को हो भनेर चिन्नुपर्यो । आफू हुनुमा सन्तुष्टि मिलेको छ कि छैन ? तपाईं आफैमा सन्तुष्ट हुनुहुन्छ भने तपाईं साँच्चिकै खुसी हो । घर, बंगला, गाडी, पैसा, पहिचान भएर पनि दुःखी हुनुहुन्छ भने के अर्थ ?
जति जीवन बाँचेको छु, एकदमै खुसी छु ।
- चलचित्र बनाउने योजना छ ?
अलि समय लाग्ला । अझै माझिएको छैन जस्तो महसुस भएको छ ।
- कुनै फ्यानले विवाहको प्रस्ताव राखेका छन् ?
मेरो दुईवटा बाबु छन् । विवाहित व्यक्तिलाई फेरी कसले प्रस्ताव राख्छ र ? घरमा बुढी भएको मानिसलाई प्रेम प्रस्ताव पनि कहाँ आउँछ ? मनभित्र होला, बाहिर व्यक्त कसैले गर्दैनन् । पहिला मन पराउनेहरू थिए । स्कुलमा नाटक खेलिन्थ्यो । खाजा खाँदाखाँदै त्यो छोडेर नाटक हेर्न आउँथे । मेरो ह्यान्डराइटिङ चाहिँ सबैभन्दा नराम्रो थियो । नराम्रो ह्यान्डराइटिङमा गिनिज बुकमा नाम लेखाउन सफल हुन्छु होला जस्तो लाग्छ ।
- कलाकारितामा धेरै जोडीहरू पछि गएर छुटेका छन् । राजु मास्टर र बल्छी धुब्रेले मह जोडी जस्तै बलियो बन्न खोजेको हो ?
जे काम हामी गरिरहेका छौँ, त्यही नै आधार हो । हामी १५ वर्षदेखि सँगै छौँ । एक अर्काप्रति विश्वास छ । हामी मजबुत छौँ । छुट्टिएका छैनौँ । र, छुट्टिँदैनौँ पनि ।
- विवाह आफ्नो हातमा हुन्छ कि हुँदैन ?
जन्म, मृत्यु र विवाह आफ्नो हातमा कहिल्यै हुँदैन । आफूले चाहेर मात्र विवाह हुने होइन । कसैको डिभोर्स किन हुन्छ त ? विवाह गर्न, सँगै बस्न त दुवैले चाहेको हुन्छ नि । तैपनि डिभोर्स हुन्छ । जति सँगै बस्न लेखेको हुन्छ, तपाईं त्यति नै बस्नुहुन्छ । यी तीन वटै कुरा आफ्नो हातमा हुँदैनन् ।