श्याम रिमालका तीन कविता
१) वैशाखको स्वागत
वैशाख– धुलोयुक्त सहर होइन
सस्तो चामल होइन
दुर्घटनामुक्त दिन होइन ।
तर किन रमाउँछन् वसन्तहीन अनुहारहरू
कसरी शुभकामना साट्न भ्याउँछन््
सुक्खा र खस्रा हातहरू !
सूर्य मेष राशिमा पुग्यो त के भो
कान्तिहीन पालुवाहरू लागे त के भो !
वैशाख– ताजा प्राङ्गारिक तरकारी होइन
स्वस्थ्यकर र पौष्टिक फलफूल होइन
जीवाणुरहित पानी होइन
मिश्रणविहीन घिउ–तेल होइन ।
मान्छेहरू बासी अनुहार बोकेर
वैशाखको स्वागत गर्छन् र
चैतसम्म निस्तेज बाँचिरहन्छन् ।
२) आफैँलाई जन्माउन खोज्दा
म मैलाई जन्माउन खोज्छु
गाह्रो छ जन्मन मै आफू
तीव्र कामेच्छाबिच पनि आत्मरति हुन सक्दैन
गर्भाधान हुन सक्दैन
प्रसव व्यथा हुँदैन, जन्म हुँदैन ।
मैले मैलाई जन्माउन खोजिरहेको वर्षौं भयो
दिनहरू एक–एक गरी बितिगयो
अशान्ति र खलबली मात्र छ मभित्र
कौशल्यावतीले फल खाएजस्तो वा
मायादेवीले सपनामा हात्ती देखेजस्तो
होइन मैले जन्माउन चाहेको म
मात्र उमेरको वृद्धि होइन
सान, सौकत, सत्ता र सम्पत्ति होइन
मसँगै म पुनर्जन्म हुन चाहन्छु
मेरो म फेरिन चाहन्छु, फेरिन चाहन्छु ।
धर्तीजस्तै फुल्न फल्न। आकाशजस्तै फैलन
मेरो गर्भ। मेरो पाठेघर मैसँग प्रतिरोध गर्छ
गाह्रो छ अङ्कुर फुट्न
एक विस्फोट हुन एक युग पर्खनुपर्छ ।
हरेक बिहान हेरिएको हात उस्तै छ
मुख धोएको अनुहार पनि उस्तै छ
म उम्लिरहेको छु भित्रभित्र– बाहिर उम्लन्न
म घाउ टन्किरहेको छु टनटनी– फुट्दैन ।
म मेरो शरीर होइन
म मेरो नाम होइन
मात्र आफूभित्र जन्माउन खोजेको म हुँ
मसित अनुहार छ– म छैन
मसित हृदय छ–म छैन
म मैलाई जन्माउन खोजिरहेको एउटा म
म मैलाई पुनर्जन्म गराउन खोजिरहेको म ।
३) केही सोच्नु जरुरी छैन
जिन्दगी चलिरहन्छ
जसरी पनि चल्छ, चल्दै जान्छ ।
केही सोच्नु जरुरी छैन जीवनमा
मात्र दिमाग खराब होइजान्छ
जब थालिन्छ सोच्न
तब रोकिन्छ जीवनको गति
बग्न देऊ, उड्न देऊ, गुड्न देऊ
हिंँडिरहन्छ आफ्नै रफ्तारमा ।
चल्ते चलाते जिन्दगीमा
किन अवरोध गर्नु बित्थामा
बरु गीत–गजल–मुक्तक लेख
एलाक, बाछिटा, हाइकु वा तान्का, सेन्यु कोर
कथा, निबन्ध, नियात्रा थाल
आफैँलाई उपन्यास वा आत्मजीवनीमा ढाल ।
सोच्नुपर्दैन जीवन
हिँडिरहन्छ
चलिरहन्छ
कुदिरहन्छ
साइकलजस्तै, मोटरजस्तै, रेलजस्तै
चराजस्तै, हावाजस्तै, हवाइजहाजजस्तै ।
केही सोच्नुपर्दैन जिन्दगीमा
सोच्नु भनेको टक्क रोकिनुजस्तै हो
सोच्नु भनेको अलमलिनु मात्र हो
सोच्नु भनेको इन्द्रिय नास्नुझैँ हो ।
हिँड्न देऊ, चल्न देऊ,
गुड्न देऊ, बग्न देऊ, उड्न देऊ
बित्थामा केही सोच्नु जरुरी छैन
भनेको मान, अडिनु हुँदैन, पर्खनु हुँदैन ।
चलाइरहने हो जिन्दगी
हिँडिरहने हो जिन्दगी
बिताइरहने हो जिन्दगी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय
-
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने