शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अग्नि प्रभावित गाउँपालिकालाई अनुदान दिने काठमाडौँ महानगरको निर्णय

शुक्रबार, २१ वैशाख २०८१, २० : ५१
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई गाउँपालिकालाई १०/१० लाख रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । अग्नि प्रभावित दाङको ‘राजपुर गाउँपालिका’ र गुल्मीको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह  १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । 

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । 

यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइनेछ । पालिकाहरूले महानगरपालिकासँग सहयोग माग गरेका थिए । 

दाङको राजपुर गाउँपालिका-७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् । 

त्यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ । 

सहयोग रकम गाउँपालिकाहरूको प्रकोप व्यवस्थापन कोषमा पठाइने महानगरले जनाएको छ । महानगरपालिकाले यस अघि महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप