मटिहानीका अग्नि पीडितलाई विशेष राहत प्रदान गर्न कांग्रेस र तमलोपाको माग

धनुषा । विभिन्न राजनीतिक दलले महोत्तरीस्थित मटिहानीका आगलागी पीडितलाई राहत प्रदान गर्न माग गरेका छन् । शुक्रबार कांग्रेस तथा तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरूले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग सो माग गरेका हुन् ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले आगलागीबाट पूर्णतः जलेको मटिहानीको जरलहवा टोलका पीडितका लागि प्रदेश सरकारसँग विशेष राहतको माग गरिएको जानकारी दिए ।
आगलागी भएको लामो समय बित्दा पनि त्यहाँ हालसम्म बसोबासको कुनै व्यवस्था नभएको अध्यक्ष लालले बताए । वैशाख १२ गते भएको आगलागीबाट १५० घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
मुख्यमन्त्री यादवसँगको भेटमा नेताहरूले एकद्वार प्रणालीको नाममा अरूलाई राहत वितरण गर्न सरकारले अवरोध खडा गरिरहेको भन्दै दुखेसो पोखेका थिए । उनीहरुले स्थानीय प्रशासन, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारबाट राजनीतिक क्रेडिटका लागि यस्तो नगर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मुख्यमन्त्री यादवलाई भेट्न गएका नेताहरूले राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्न नहुने धारणा राखेका थिए ।
अग्नि पीडितका लागि मधेश सरकारले हालसम्म कुनै विशेष राहतको घोषणा नगरेकोमा रोष प्रकट गर्दै उनीहरुले पीडितलाई यथाशीघ्र राहत प्रदान गर्न आग्रह गरे । मधेश प्रदेशमा भूमिगत जलको सतह स्वाट्टै झरेर दैनिक उपयोग र खानेपानीको अभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष लालले बताए ।
यस क्षेत्रमा देखिएको खानेपानीको समस्यालाई तत्काल समाधान गर्नका लागि ध्यानाकर्षण गराउँदै उनीहरुले भूमिगत जलको रिचार्जिङको निमित्त अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न आग्रह गरेका छन् ।
पछिल्लो समय मधेश प्रदेशमा हत्या र दुर्घटनाका घटनाहरू समेत बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै नेताहरूले यसलाई तत्काल नियन्त्रण गर्न मुख्यमन्त्री यादवसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित
-
टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग