सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

शुक्रबार, २१ वैशाख २०८१, १८ : ०३
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने संघर्षको कथा निर्माण भएको फिल्म ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा फिल्मका टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै फिल्म बारे जानकारी लिएका हुन् । 

अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू र लेखक विकास सुवेदी सहभागी कार्यक्रममा आयोगका व्यक्तिहरूलाई फिल्मको विषयमा लेखकले बताएका थिए । सो क्रममा उनले ‘पूजार सार्की’ आफूले देखेको घटनामा आधारित भएर बनेको बताए ।

‘मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा फिल्म लेखेको हो र त्यही जानकारी आयोगका साथीहरूलाई गराए’, सुवेदीले भने । कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित फिल्मबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको समेत जानकार दिएको उनको भनाई रहेको छ । 

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको कार्यक्रममा स्मरण गरेकी थिइन् । फिल्मको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले  फिल्म गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन् ।

अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि फिल्म बनाउन जरुरी छ भन्ने लागेको बताइन् । उनले भनिन्, ‘जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा फिल्म बनाउन जरुरी छ र ? भन्ने जस्तो भयो ।’ उनले आफूमा जातीय विभेद सकिएको बुझाई रहेको सुनाइन् ।

भेटमा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पूजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए । 

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि फिल्मले उठाएको विषयको प्रशंसा गरेको लेखक विकाश सुवेदीको भनाई छ । 

दिनेश राउतको निर्देशन रहेको ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप