शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

गठबन्धनमा समस्या छैन : देव गुरुङ

शुक्रबार, २१ वैशाख २०८१, १७ : ०७
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । सत्ता समीकरण फेरिएको दुई महिनामै सरकार संकटमा पर्न लागेको विषय माओवादी केन्द्रका महासचिव देव गुरुङले अस्वीकार गरेका छन् । एजेन्डाको आधारमा सत्ता घटक दलहरूबिच सहकार्य भएकाले बाहिर बजारमा हल्ला भएअनुसार गठबन्धनमा समस्या नभएको उनले स्पष्ट पारे ।

‘एजेन्डाको आधारमा दलहरूबिच सहकार्य भएको हो । यस विषयमा अहिलेसम्म टिकाटिप्पणी केही भएको छैन । अहिलेको कोलिसन (गठबन्धन)को बारेमा बाहिर बजारमा हल्ला भएअनुसार समस्या देखिँदैन’, शुक्रबार रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मल्टिपार्टी डेमोक्रेसीमा विभिन्न विचार बोकेका पार्टीहरूको बिचमा अलिअलि असन्तुष्टि भइरहन्छ । एउटै पार्टीभित्र भइरहन्छ भने विभिन्न पार्टीबिच टकराब आउनु स्वाभाविक हो । कोलिसनको मूल्यमान्यताकै विषयमा कुनै समस्या छैन ।’

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम जारी गर्नेबेला राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा, सुशासन सामाजिक न्यायसहित समृद्धिका विषय सत्ता घटक सबै  दलको सहमतिबाट पारित गरेकाले झिनामसिना कुराहरूले कुनै असर नगर्ने उनले बताए । महासचिव गुरुङले भविष्यमा सहमतिका विषय नै गम्भीर समस्या देखियो भने केही भन्न नसक्ने तर्क गरे ।

‘फन्डामेन्टल विषयमा नै समस्या देखिएकाले कांग्रेससँग गठबन्धन टुटेको हो । अहिले त भर्खर नयाँ समीकरण बनेको छ । फन्डामेन्टल इस्युमा अहिले केही प्रभाव परेको छैन । समस्या नआई हल्ला गर्नु उपयुक्त हुँदैन । नेताहरूको मानेविज्ञानको कुराका समस्या भइरहन्छ । नेताहरू टकराबले नीतिगत विषयमा समस्या आउन थाल्यो भने त्यसले गठबन्धनमा असर पर्छ’, उनले भने ।  

कांग्रेसले दलहरूको साझा एजेण्डाविपरीत हिन्दु राष्ट्रको एजेन्डा बोक्ने र सुशासनको पक्षमा सरकारले चालेको कदममा आफ्नै नेताहरू पर्न थालेपछि सो पार्टी सशङ्कित भएकाले गठबन्धन नटिकेको बताए ।

यस्तै बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबिच भएको भेटवार्ता सामान्य भएको गुरुङले जिकिर गरे । गठबन्धन सरकार भएपछि आपसी छलफल भइराख्ने भन्दै उनले सरकार  अप्ठ्यारोमा परेकै कारण भेटवार्ता नभएको स्पष्ट पारे ।

यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग मोर्चाकै रूपमा सहकार्य भइरहेको भन्दै उनले एकताको विषयमा थप केही नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप