युवा पलायनको कारण के हो ?
भनिन्छ, युवा तथा दक्ष जनशक्ति देशका मेरुदण्ड हुन् । विडम्बना, पछिल्लो समयमा देशमा युवा जनशक्ति पलायन भइरहेका छन् । यो महत्त्वाकांक्षा र परिस्थिति दुवै हो भन्दा पनि फरक नपर्ला तर महत्त्वाकांक्षाको तुलनामा परिस्थिति धेरै उग्र बनेका उदाहरण प्रशस्तै छन् ।
एकातिर कोरोना महामारीपछि देशको अर्थतन्त्र खस्किएको छ; उद्योग, व्यापार तथा व्यवसायले अपेक्षित गति लिन सकेका छैनन् । भाडा तिर्नै हम्मे भएर सहर–बजारका सटर बन्द हुने क्रम बढेको समाचार आइरहेका छन्, जसले शिक्षा क्षेत्रमा समेत प्रभाव पारेको छ ।
खासगरी रोजगारीबाट मासिक ८–१० हजारदेखि २०–३० हजारसम्म आम्दानी गरेर वा सानोतिनो व्यापार–व्यवसाय गरेर सहर–बजारमा पढ्ने वा छोरीछोरीलाई पढाउनेहरू आर्थिक मन्दीका कारण प्रभावित भएको अनुमान गर्न सकिन्छ ।
आर्थिक मन्दीका कारण प्रभावित युवा जनशक्तिले अध्ययन वा अवसरको खोजीमा विदेश पलायनको बाटो रोजेको देखिन्छ । योसँगै गाउँगाउँबाट बेरोजगार युवाहरू चर्को ब्याजदरमा ऋण लिएरै भए पनि खाडी मुलुकदेखि जापान, कोरिया, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत देश लागिरहेकै छन्; आफ्नो आर्थिक हैसियत बमोजिमको देशमा जाने बाटो खोजिरहेकै छन् ।
राजनीतिक अस्थिरताले पनि युवामा निराशा बढाइरहेको छ । बहुदलीय व्यवस्थामा कुनै दलले बहुमत ल्याउन सक्ने सम्भावना कम होला, तर दलहरू विकास र परिवर्तनका कार्यमा मिलेर अगाडि बढ्न सकेका छैनन् । जसका कारण देशमा युवा पलायन र गरिबी बढिरहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा ८ लाख ५० हजार ५ सय ६२ परिवार भाडामा बस्छन् । अझै साढे ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेका छन् । यस्तै, पछिल्लो तथ्यांक अनुसार १५ लाख ५५ हजार ९ सय ६१ परिवारका २१ लाख ९० हजार ५९२ नेपाली विदेशमा रहेका छन् ।
प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँ आम्दानी नहुने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ । गरिबका लागि राज्यसँग कुनै ठोस योजना तथा कार्यक्रम देखिँदैन ।
मध्यम वर्गका दुःख
आर्थिक मन्दीको चपेटामा यतिबेला हामीकहाँ खासगरी मध्यम वर्ग परिरहेको अनुमान गर्न सकिन्छ । विश्व बैंकले सन् २०१६ मा नेपालमा मध्यम वर्गको आवादी करिब एक चौथाइ रहेको बताएको थियो ।
हाम्रो सरकारले अहिलेसम्म मध्यम वर्ग छुट्ट्याएको छैन । यद्यपि हामीकहाँ एक चौथाइभन्दा बढी नै मध्यम वर्ग रहेको अनुमान गर्न सकिन्छ ।
२० देखि ३० वर्ष उमेर समूहका युवालाई उच्च शिक्षा लिनुपर्ने, रोजगारी वा स्वरोजगारीमा आबद्ध हुनुपर्ने, विवाह गर्नुपर्ने लगायत दबाब हुन्छन् ।
यो वर्गका सामाजिक चुनौती पनि ठुल्ठुला हुन्छन् । आ–आफ्नो सांस्कृतिक कार्य गर्दा यो वर्गले समाजमा मान–मनितो राख्नैका लागि ऋणै गरेर भए पनि खर्च गर्नुपर्ने हुन्छ । यद्यपि यस्ता समस्या जुनसुकै वर्गलाई हुन्छ ।
मध्यम वर्गले रोजगारी, स्वरोजगारी, व्यापार तथा व्यवसायमा लगानी र मिहिनेत गरिरहेकै हुन्छ । यो वर्गका युवालाई परिवारले नै सकेसम्म राम्रो शिक्षाका लागि कोसिस गरिरहन्छ । राज्यमा आर्थिक मन्दी छाउँदा यही वर्ग बढी प्रभावित बन्छ र सम्भावनाका अन्य ढोकाहरू खोज्न थाल्छ । फलस्वरुप यतिबेला युवा विदेश पलायनको अवस्था सिर्जना भएको देखिन्छ ।
यो वर्गका अभिभावकले पनि सन्तानलाई पढाएपछि छिटै आम्दानीको आशा गर्छन् । २० देखि ३० वर्ष उमेर समूहका युवालाई उच्च शिक्षा लिनुपर्ने, रोजगारी वा स्वरोजगारीमा आबद्ध हुनुपर्ने, विवाह गर्नुपर्ने लगायत दबाब हुन्छन् । यही उमेरमा विशेष प्रगति भएन भने पछि प्रगति गर्न मुस्किल हुन्छ भन्ने सोच धेरैको देखिन्छ ।
जसोतसो पढाइ पूरा ग¥यो, कमाइहाल्नुपर्छ । त्यसपछि बिहेको टन्टो आइलाग्छ, बिहे उस्तै महँगो छ, त्यसमाथि मध्यम वर्गको परिवारले उच्च वर्गसँग बिहे गरिदिने चाहना राख्छ, जसले उल्टै खर्च बढाउँछ । इत्यादि कारण युवाहरू विदेश पलायन हुन बाध्य भइरहेका छन् ।
विवाह लगायत सामाजिक कार्यलाई कम खर्चिलो बनाउनका लागि बहस हुन आवश्यक छ । यसमा खासगरी युवाले बहस र अभ्यास गर्नुपर्छ ।
शिक्षा
विद्यालय तहको शिक्षा लिएपछि माथिल्लो तहमा पढ्न खर्चिलो भएका कारण न्यून वर्गले शिक्षालाई भन्दा आम्दानीलाई प्रमुख ठानेको देखिन्छ । त्यसमाथि उच्च शिक्षा हासिल गरेर पनि रोजगारी वा स्वरोजगारीको ग्यारेन्टी छैन ।
अर्कोतिर सामुदायिक विद्यालयमा पढाइ राम्रो नहुने, निजी विद्यालय महँगो हुने कारण खासगरी न्यून वर्गको पढाइ प्रभावित भइरहेको देखिन्छ ।
पछिल्लो तथ्यांक अनुसार २०७० सालमा कक्षा १ मा ११ लाख भर्ना भएका थिए भने २०८० मा पाँच लाख विद्यार्थीले मात्र एसईईको फर्म भरे । एकातिर विद्यालय शिक्षाको अवस्था यस्तो छ भने अर्कोतिर युवा पलायनका कारण विश्वविद्यालयमा विद्यार्थी घटेका छन् ।
देशमै सानोतिनो रोजगारी गरेर पढ्ने अवस्था छैन । बल्लतल्ल स्नातक वा स्नातकोत्तर गरेर पनि धेरैका लागि सर्टिफिकेट कागजको खोस्टो बनिदिन्छ । किनभने शिक्षा अनुसारको रोजगारी भेटिँदैन । अझ भनौँ, रोजगारी अनुसारको शिक्षा छैन । यस कारण पनि युवाहरू विदेश पलायनको बाटो खोजिरहेका हुन्छन् ।
युवा पलायन रोक्नका लागि प्राविधिक तथा सीपमूलक शिक्षाका साथमा पार्ट–टाइम रोजगारको योजना राज्यसँग हुनुपर्छ ।
युवा पलायनलाई रोक्न सरकारले समयमै यसका कारकहरूमा अध्ययन गर्न आवश्यक छ । देशमै सानोतिनो रोजगारी गरेर पढ्न पाउने र भविष्यमा सर्टिफिकेट अनुसारको रोजगारी तथा व्यवसायको ग्यारेन्टी हुने भए युवाको ठुलो पंक्ति विदेश पलायनबाट रोकिने देखिन्छ तर यसमा सरकारले ठोस कदम चाल्न आवश्यक छ ।