सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री

शुक्रबार, २१ वैशाख २०८१, ११ : ५८
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको १६ महिनामा देशभित्र र बाहिर सुशासन र सामाजिक न्यायका दृष्टिले नेपालको प्रतिष्ठा बढाउने हिसाबले कयौँ मानकहरू कायम भएको बताएका छन् । 

विश्व प्रेस दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । तर उनले यो अझै पर्याप्त नभएको पनि बताएका छन् । 

‘तर देश र जनताको जति आवश्यकता हो, त्यहाँ पुगेको छैन भन्ने कुरामा मैले पनि महसुस गरेको छु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।   उनले आफूले सरकारको नेतृत्व सम्हाल्दै गर्दा रहेको देशको आर्थिक स्थितिमा पनि सुधार आएको बताए । 

‘तर अहिले  अर्थतन्त्रका सूचक सुधारतर्फ छन् । बैँक ब्याजदर घटेको, लघुवित्तका समस्या समाधान हुँदैछन्, सार्वजनिक संस्था नाफामा, पर्यटक उल्लेख्य वृद्धि भएका छन्’, प्रधानमन्त्रीले भने, ‘सुन काण्डको निष्पक्ष अनुसन्धान, नागरिकता ऐन, राहदानी लगायत सामाजिक क्षेत्रको सुधार, श्रमजीवीहरूको ज्याला वृद्धि भएको छ ।’ 

प्रधानमन्त्रीले सञ्चारकर्मीलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने प्रयास भएको तथा किसानका लागि रासायनिक मलको व्यवस्था गरेको भन्दै यो वर्ष मलको समस्या नहुने बताए । उनले विद्युत् व्यापारका लागि हस्ताक्षर लगायत सरकारले गरेका कामले अध्याँरोमात्र नभएर हाम्रा अगाडि उज्यालो पनि छ भन्ने सङ्केत गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप