डढेलोले कृषिमा कसरी असर पुर्याउँछ ?
काठमाडौँ । सल्यानको छत्रेश्वरी गाउँपालिका–५, को जङ्गलमा लागेको डढेलो हावाहुरीका कारण गाउँमा पस्दा ८ वटा घरगोठ जलेर नष्ट भए । वैशाख १९ गते दिउँसो महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलोले ती गोठ जलेका हुन् ।
यस्तै, केही अघि बाराको निजगढ नगरपालिका–४ का किसानले चरिचरनमा राखेको ७० घार मौरी पूर्ण रूपमा जलेर नष्ट भए । रौतहटको जङ्गलमा लागेको डढेलोमा परेर चरिचरनमा राखिएको मौरी जलेका हुन् ।
वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भए । गाईवस्तुका गोठ जल्नु, मौरी घार जल्नुजस्ता घटनाले कृषि क्षेत्रमा असर पारेको पुष्टि हुन्छ ।
यतिमात्रै नभइ देशभरका विभिन्न स्थानमा डढेलो लाग्दा कृषिमा प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको छ । डढेलो दीर्घकालीन असरसमेत पु¥याउने देखिन्छ ।
डढेलोले देशका विभिन्न स्थानका गहुँ बाली, फलफूलका बोट, गोठहरू जलेर नष्टसमेत भएका छन् । वनमा लागेको डढेलोले गहुँ बाली, घाँस जलेर क्षति भएको सल्यानका किसान शोभराम ओलीले बताए । ‘गहुँ बाली जलेको छ,’ उनले भने, ‘यतिमात्रै होइन गाईवस्तुलाई खुवाउन राखेको घाँस जलेर नष्ट भएको छ ।’
डढेलोले माटोमा भएका सुक्ष्म तत्व नष्ट गर्ने, वनमा हुने विभिन्न बोटबिरुवाको बिउ नष्ट हुने, पानीको मुहान सुक्ने भएकाले सम्पूर्ण वातावरणको सन्तुलन नै बिग्रिन्छ । यसले माटो कडापन भएर उत्पादनमा ह्रास हुने विज्ञहरूको भनाइ छ ।
डढेलोले कृषिमा अप्रत्यक्ष रुपमा असर पु¥याएको विज्ञहरूले बताएका छन् । डढेलोले वातावरणीय सन्तुलनमा असर पु¥याएकाले कृषिलाई पनि प्रभावित पार्ने कृषिविज्ञ राम बहादुर केसीले बताए । ‘पहाडका जग्गाहरू अधिकांश बाँझो छ, बस्ती नजिकै डढेलो पुग्छ,’ केसीले भने, ‘वातावरणको सन्तुलन बिग्रिन्छ, विशेष गरेर जैविक विविधता ह्रास हुन्छ, यसले कृषिलाई प्रभावित पार्छ ।’
पछिल्लो समय खडेरीका कारण पानीको उपलब्धता घटेको केसीले बताए । पानीको उपलब्धता घट्दा कृषि उत्पादनमै असर पर्ने उनले चिन्ता व्यक्त गरे । केसीले डढेलोले स्याङ्जाको पुतली बजारमा सुन्तलाको एक हजार बोट जलेर नष्ट भएको जानकारी समेत गराए ।
यस्तै, डढेलोले माटोको गुणस्तरमा ह्रास ल्याउने विज्ञहरू बताउँछन् । डढेलोले माटोमा चिस्यान घट्नु, माटोमा भएका सुक्ष्म जीव नास हुनु लगायतका कारणले माटोको गुणस्तरमा असर पर्ने कृषिविज्ञ शिवचन्द्र झाले बताए ।
बिरुवाले आफ्नो खाना बनाउन कर्बनडाईअक्साइड प्रयोग गर्छ, तर वन डढेलोले कार्बनमोनोअक्साइड उत्सर्जन हुन्छ । यसले बाली बिरुवा कमजोर हुने झाले बताए । ‘माटोको मोइस्चर घटेको छ,’ उनले भने, ‘डढेलोले माटोमा हुने माइक्रो न्युट्रेन रिसाइक्लिङ हुन सक्दैन, माटोको स्वास्थ्य, माटोको संरचना बिग्रिन्छ ।’
जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्दै गएको उनको भनाइ छ । ‘डढेलोका कारणले जङ्गलको पानीको मुहान सुक्ने समस्या बढ्दै गएको छ,’ झाले भने, ‘जमिन मुनिको पानीको लेबल पनि घटेको छ ।’
पानीको मुहान सुक्दै जाँदा भविष्यमा किसानलाई आकाशे पानीको भरमा खेती गर्नुपर्ने समस्या हुने झाको भनाइ छ ।
देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५३ जिल्लाका ४३६ स्थानमा डढेलो लागिरहेको छ । लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित छन् । कतिपय स्थानका वनमा लागेको डढेलो बस्ती नजिक पुगेको छ ।
डढेलो लाग्नु प्राकृतिक कारणभन्दा पनि मानवीय कारण बढी हुने पाइएको छ । वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक दिपक ज्ञवालीले वनमा डढेलो ९० प्रतिशत मानिसको कारणले लाग्ने बताए । ‘वनमा आगो लाग्नु १० प्रतिशत प्राकृतिक कारण छ,’ उनले भने, ‘९० प्रतिशत मानवीय कारण रहेको पाइएको छ ।’ व्यक्तिगत रुपमा बानीमा सुधार गरे डढेलो नियन्त्रण गर्न सकिने सरोकारवाला बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने