बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

लोकसभा निर्वाचन : राहुल गान्धी रायबरेलीबाट र केएल शर्मा अमेठीबाट चुनाव लड्ने

शुक्रबार, २१ वैशाख २०८१, १० : ३५
शुक्रबार, २१ वैशाख २०८१

नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम समयमा कांग्रेसले आफ्नो कार्ड सार्वजनिक गरेको छ । सोनिया गान्धीको चुनाव क्षेत्र राय बरेलीमा पार्टीले राहुल गान्धीलाई चुनावी मैदानमा उतार्ने घोषणा गरेको छ । यसअघि राहुल अमेठीबाट लड्न सक्ने हल्ला चलेको थियो ।

अमेठीबाट भने किशोरीलाल शर्मालाई मैदानमा उतारिएको छ । किशोरी लाललाई सोनिया गान्धीको विश्वासपात्र मानिन्छ । दुवैको नामावली आइसकेको छ । अमेठी र रायबरेली उत्तर प्रदेशको हाइ प्रोफाइल सिट हुन् । कांग्रेसले दुवै सिटमा मनोनयनका क्रममा ‘रोड शो’ का लागि स्वीकृति लिएको छ ।

लोकसभा निर्वाचनको सात चरणमध्ये पाँचौँ चरणमा मे २० मा अमेठी र रायबरेलीमा मतदान हुँदैछ । दुवै सिट परम्परागत रूपमा गान्धी परिवारका सदस्यहरूसँगे रहँदै आएको छ । पार्टीले पहिलोपटक अमेठीमा गान्धी परिवार बाहिरको व्यक्तिलाई उम्मेदवार बनाएको छ ।

अमेठीमा भाजपाकी स्मृति इरानी

यसपटक पनि भाजपाले अमेठीबाट सांसद स्मृति इरानीलाई उम्मेदवार बनाएको छ । रायबरेलीमा भाजपाले दिनेश प्रताप सिंहलाई दोस्रोपटक उठाएको छ । २०१९ को निर्वाचनमा दिनेशले हार बेहोरेका थिए ।

अमेठीबाट केएल शर्मालाई टिकट

सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपाकी स्मृति इरानीले अमेठी सिटमा राहुल गान्धीलाई हराएर जित हात पारेकी थिइन् । यसपटक भने सो सिटमा कांग्रेसले किशोरीलाल शर्मालाई उम्मेदवार बनाउने अप्रत्याशित निर्णय गरेको छ । शर्मा सोनिया गान्धीको निकट मानिन्छन् । उनले अहिलेसम्म रायबरेलीमा सांसद प्रतिनिधिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसपटक पार्टीले राहुल गान्धीको सिट परिवर्तन गरेको छ । राहुललाई गान्धी परिवारको दोस्रो परम्परागत सिट रायबरेलीबाट टिकट दिइएको छ । कांग्रेस संसदीय दल प्रमुख सोनिया गान्धीले राहुल गान्धीको मनोनयन प्रक्रियामा भाग लिन सक्ने स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप