गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत नदिने बताए । उनले कसैलाई सत्ता टिकाउनका लागि राप्रपाले मत दिन नसक्ने बताएका हुन् ।
‘अघिल्लै कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेका छौँ । राप्रपा कुनै सरकारमा सहभागी नहुने र सत्तालाई बल पुग्ने गरी सहयोग नगर्ने निर्णय भैसकेको छ,’ उनले रातोपाटीसँग भने, ‘अहिले बसेको कार्यसम्पादन समितिको बैठकमा पनि गण्डकीको विषय उठेको थियो । सहयोग नगर्ने भन्ने नै भएको छ ।’
उनले कसैलाई समर्थन दिनुपर्ने भएमा प्रदेश समितिसँग सल्लाह गर्ने बताए । ‘कतिपय ठाउँमा हाम्रो भोट नै चाहिँदैन । जहाँ चाहिन्छ, त्यहाँ प्रदेशसँग सल्लाह गर्छौँ,’ अघि भने, ‘अरूलाई दिए पनि सत्ता गठबन्धनलाई अहिले समर्थन हुँदैन ।’ विश्वासको मत लिने तयारीमा रहेका अधिकारी काठमाडौँमा दलहरूसँग छलफल गरेर पोखरा फर्किएका छन् । उनले २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । संविधान अनुसार वैशाख २४ भित्र उनले विश्वासको मत लिनुपर्ने अनिवार्य व्यवस्था छ ।
राप्रपाले मत नदिने भएपछि गण्डकीको सत्ता सङ्कट अझै बढ्ने निश्चित छ । सत्तारुढ दलहरू सभामुख मार्फत ३० सिटमै बहुमत घोषणा गराउने योजनामा छन् । दलको समर्थन अनुसार ३१ सिट मुख्यमन्त्रीको पक्षमा छ । तर सभामुखलाई सत्ताको जोडघटाउमा सामेल गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले सभामुखलाई बाहिर राखेर गण्डकीमा ५९ सांसदले मत हाल्ने र सोही मतको बहुमत ३० सिट हुने गरी व्याख्या गरेको छ ।
केही कानुनविद्हरू सभामुख समेत पूरा संसदमा गणना हुने र बहुमतका लागि ३१ सिट नै चाहिने बताउँछन् । यदि सभामुखले ३० सीटलाई बहुमत घोषणा गरे गण्डकीको मुद्दा पुन अदालत पुग्ने निश्चित छ । राप्रपा गण्डकीका सांसदहरू केन्द्रको निर्णय कुरिरहेका छन् । केन्द्रले स्पष्ट निर्देशन दिइसकेको अवस्था नभएको दलका नेता पञ्चराम गुरुङले बताए । उनले आफूहरू सबैसँग समानान्तर सम्बन्धमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता