शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

९ महिनामा ११९ चलचित्र सेन्सर : ११ लाई एडल्ट, ६४ लाई ‘पीजी’ प्रमाणपत्र

बिहीबार, २० वैशाख २०८१, १० : ५४
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयदेखि दुई सय वटासम्म चलचित्र प्रदर्शनमा आउने गरेका छन् । प्रदर्शनमा ल्याउनु अघि सबै चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शनका लागि खुला (सेन्सर पास) प्रमाणपत्र लिन अनिवार्य हुन्छ ।

सेन्सर बोर्डले चलचित्र हेर्दै त्यसभित्र रहेका कथावस्तु, दृश्य, संवाद आदिलाई आधार बनाएर तीन तहमा वर्गीकरण गर्दछ । सोही अनुसार सम्बन्धित चलचित्रले प्रमाणपत्र पाउँछ ।

बोर्डले ‘यु’ (युनिभर्सल), ‘पीजी’ (प्यारेन्ट्स गाइड) र ‘ए’ (एडल्ट) गरी तीन वर्गमा चलचित्रलाई वर्गीकरण गर्दै आएको छ । समाजले पचाउने, परिवारका सबै सदस्य एक साथ बसेर हेर्न मिल्ने अर्थात् बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले हेर्न मिल्ने फिल्मलाई ‘यु’ (युनिभर्सल) प्रमाणपत्र दिइन्छ ।

‘पीजी’ (प्यारेन्ट्स गाइड) प्रमाणपत्र पाएका चलचित्र १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा मात्र हेर्न मिल्ने हुन्छ । यस्ता चलचित्रमा हत्याहिंसा, डरलाग्दा, हरर दृश्य हुन सक्छन् ।

‘ए’ (एडल्ट) भन्नाले १८ वर्षमाथिकाले मात्र हेर्ने चलचित्र हो । यसमा नग्न दृश्य, अन्तरंग दृश्यसमेत हुन्छन् ।

यो आर्थिक वर्षको ९ महिना अर्थात् गत साउनदेखि चैत मसान्तसम्मको सेन्सर डाटा हेर्दा ११९ वटा चलचित्रले सेन्सर पास प्रमाणपत्र लिएको देखिन्छ । जसमा ४४ चलचित्रले ‘यु’ प्रमाणपत्र पाउँदा ६४ चलचित्रले (पीजी) र ११ फिल्मले ‘ए’ (एडल्ट) प्रमाणपत्र पाएको छ ।

  • ‘यु’ अर्थात् युनिभर्सल फिल्म

प्रदर्शन अनुमतिका लागि चलचित्र सेन्सर बोर्डमा पुगेका चलचित्रमध्ये केहीले मात्र समाजले पचाउने, परिवारका सबै सदस्य एकसाथ बसेर हेर्न मिल्ने (बालबालिकादेखि बृद्धसम्मका लागि उपयुक्त) ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र पाउने गर्छन् ।

यो आर्थिक वर्षको ९ महिनामा सेन्सर भएका ११९ चलचित्रमध्ये ४४ वटाले ‘यु’ प्रमाणपत्र पाएका छन् । ‘जीउनी’, ‘डिग्री माइला’, ‘सेतीवेणी’, ‘रातो सुटकेस’, ‘दि अनसाइलेन्स’, ‘हाई स्कुल’, ‘सुगाँ द टुर’, ‘महाजात्रा’, ‘उपहार’, ‘पर्खी बसे फर्कि आउँछु’, ‘सुगुप’, ‘जिग्री’, ‘सेमेःवा’, ‘ल्हो’, ‘हाम्रो स्वर्ग’, ‘एक्टर’, ‘पसले’, ‘पर्खी बसे तिमीलाई’, ‘नो विन्टर होलिडेज’, ‘लोजिमा’, ‘हात्तीछाप’, ‘चारदाम’, ‘युक्पुङ’, ‘हाई पापा’, ‘सतीदेवी’, ‘दिमाग खराब’, ‘उफ् यो मन’, ‘कौसिद’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘मनको फूल’, ‘एक भगवत एक गीता’, ‘नाङ्गो गाउँ’,  ‘डिङ्जे’, ‘गणपति’, ‘झुपडी’, ‘ऐचो पैँचौ’, ‘महानगर’, ‘लिलामे माइला’, ‘जय हो’, ‘हिँड्दा हिँड्दै’, ‘रीपा’, ‘मर्कली’ लगायतले ‘यु’ प्रमाणपत्र पाएका छन् ।

  • ‘पिजी’ पाउने धेरै

बर्सेनि नेपालमा रिलिज चलचित्रमा धेरैजसो चलचित्र १६ वर्ष मुनिका बच्चाले अभिभावकको साथ हेर्नुपर्ने हुन्छ । यो आर्थिक वर्षको ९ महिनाका सेन्सर पास भएका ११९ चलचित्रमध्ये ‘पीजी’ प्रमाणपत्र पाउने चलचित्रको सङ्ख्या ६४ छ । सङ्ख्याका हिसाबले (यु) प्रमाणपत्र पाउनेभन्दा ‘पीजी’ प्रमाणपत्र पाउने चलचित्रको सङ्या २० बढी छ ।

चालु आर्थिक वर्षमा सेन्सर भएकामध्ये ‘पीजी’ प्रमाणपत्र पाउने चलचित्रमा ‘रंगेली’, ‘योद्धा’, ‘शैतान’, ‘लापता लेडिज’, ‘घोष्ट बुष्टर’, ‘क्र्यु’, ‘गोडजिला एक्स कोङ’, ‘मडगोन एक्सप्रेस’, ‘कुङ¬–फु पान्डा ४’, ‘अप्रेसन भ्यालेन्टाइन’, ‘अगस्त्य’, ‘डुने पार्ट २’, ‘आर्टिकल ३७०’, ‘क्र्याक : जितेगा ओ जिएगा’, ‘डाकिनी’, ‘म्याडमी वेइभ’, ‘बब मार्ले वन लभ’, ‘तेरे बातो ने मैने ऐसा उल्झा जिया’, ‘गोर्खा वारियर’, ‘श्रृजना’, ‘आर्गेल’, ‘फाइटर’, ‘हनु–मान’, ‘क्याप्टेन मिल्लर’, ‘मेरी क्रिसमस’, ‘चित्रा’, ‘फिरौती’, ‘डंकी’, ‘याक्युम्यान एण्ड द लष्ट किङडम’, ‘दुई कदम’, ‘जम्प’, ‘समबहादुर’, ‘द मार्वलस्’, ‘हि हंगर गेम्स’, ‘टाइगर ३’, ‘गणपति : अ हिरो इज बर्न’, ‘लियो’, ‘ब्ल्याक छाया’, ‘मिसन रानीगञ्ज’, ‘पाव पेट्रोल’, ‘द क्रियटर’, ‘बालपन’, ‘फुक्र्ये ३’, ‘चन्द्रमुखी २’, ‘परदेशी २’, ‘द ग्रेट इन्डियन फ्यामिली’, ‘जवान’, ‘डिट्रयुवेसन’, ‘अपिच्य’, ‘अकेल्ली’, ‘ड्रिम गर्ल २’, ‘ग्रेन टुमिस्टो’, ‘घुमर’, ‘ब्लु बेटल’, ‘दृस्प्रयास’, ‘गदर २’, ‘जेलर’, ‘टिनएज मुटङ्ट निन्जा ट्रटलेस’, ‘मेघ २’, ‘घोषक’, ‘रकी और रानीकी प्रेम कहानी’, ‘घुमम’, ‘बार्बे’, ‘ए अदृश्य’ लगायत छन् ।

  • एडल्ट फिल्म कति ?

नेपालमा बर्सेनि थोरैमात्र एडल्ट चलचित्र प्रदर्शनमा आउने गरेको छ । यो आर्थिक वर्षका ९ महिनामा सेन्सर भएका फिल्मको तथ्याङ्कले पनि त्यही देखाउँछ । ९ महिनामा ११९ चलचित्रले सेन्सर प्रमाणपत्र लिँदा जम्मा ११ चलचित्रको हातमा मात्र ‘एडल्ट’ प्रमाणपत्र परेको छ ।

एडल्ट प्रमाणपत्र पाउने फिल्ममा ‘एनिमल’, ‘जुलेबी’, ‘द बि किपर’, ‘ड्रिम सिनारियो’, ‘स एक्स’, ‘द एक्सपेन्डेबल ४’, ‘हन्टिङ आफ द क्वीन मेरी’, ‘द नुन आइआइ’, ‘ओएफएफ २’, ‘टक टु मी’ र ‘ओपन हेमर’ छन् ।

  • कसरी हुन्छ सेन्सर ?

स्वदेशी, विदेशी चलचित्र हुन् वा डकुमेन्ट्री (वृत्तचित्र) । हलमा चलाउनुपूर्व सेन्सर पास गराउनु जरुरी छ । चलचित्र सेन्सरका लागि नेपाल सरकारले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सेन्सर बोर्डमा एक अध्यक्षसहित ८ सदस्यीय बोर्ड समिति छ । जसमा अध्यक्ष र सदस्यसचिव सञ्चार मन्त्रालयका कर्मचारी रहने छन् भने ३ सदस्य सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट नियुक्त विज्ञ सदस्य हुने गर्छन् ।

बाँकी तीन सदस्यमा गृह मन्त्रालयको प्रतिनिधि, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रतिनिधि र चलचित्र विकास बोर्डको प्रतिनिधि रहने गरेका छन् ।

अहिले चलचित्र सेन्सर बोर्डको अध्यक्षमा सञ्चार मन्त्रालयका सह–सचिव नेत्र सुवेदी छन् भने सदस्यसचिवमा उपसचिव निर्मला अधिकारी छन् ।

त्यस्तै मन्त्रीबाट नियुक्त सदस्यमा चलचित्र निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर छन् ।

गृह मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्डका प्रतिनिधि भने सेन्सर समयमा एक–एक जना उपलब्ध हुने सेन्सर बोर्डका सदस्य भूपेन्द्र खड्काले बताए ।

सबै सेन्सर सदस्य बसेर सेन्सरका लागि प्राप्त चलचित्रको सुरुदेखि अन्त्यसम्म हेरेर सबै पाटो केलाएपछि ‘यु’, ‘पीजी’, ‘एडल्ट’ के दिन उपयुक्त हुन्छ, त्यो प्रमाण पत्र दिने गरेको सदस्य खड्काले बताए । उनले भने, ‘सेन्सर निर्माता, निर्देशक, वितरकसँगै बसेर हुने गरेको छ ।’

सेन्सरका क्रममा चलचित्रका केही दृश्य, संवाद वा अन्य कुरा हटाउँदा प्रमाणपत्र चेञ्ज हुन्छ भने निर्माता, निर्देशक, वितरकसँग यसबारे सल्लाह पनि गर्ने गरेको खड्काले सुनाए ।

‘कतिपय दृश्य कानुन विपरीत छन् भने कैँचीसमेत चलाउने गरेका छौँ’, खड्काले थपे, ‘पछिल्लो समय दृश्यमा कैँची लगाउनुपर्ने चलचित्र आएको छैन ।’ सेन्सरका क्रममा कहिलेकाहीँ बाह्य दबाब आउने गरेको उनको अनुभव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप