१० बजे, १० समाचार
आज २०८१ वैशाख १९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- टी-२० विश्वकप
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो ।
- गमता बनिन् राज्यमन्त्री
विद्यालयमा पाइला समेत टेक्न नपाएकी गमता विकलाई कहिल्यै लागेको थिएन कि राज्यमन्त्रीको पदमा पुगुँला भनेर । यदि समानुपातिक समावेशी, सङ्घीयता र दलित कोटाको व्यवस्था नभएको भए यतिबेला आफ्नै गाउँको चुलो चौकोमा सीमित हुन्थिन् ।
- गण्डकीको बहुमत
गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध दर्ता भएको रिटमा सर्वोच्चले सोमबार आदेश जारी गर्यो । उक्त रिट खारेज गर्दै विभिन्न तर्कहरूबाट एमाले नेता खगराज अधिकारीलाई वैधता दियो । सर्वोच्चको आदेशको १६ नम्बर बुँदा चाहिँ अलि फरक खालको छ, जसले सभामुखलाई सांसदबाटै ‘आइसोलेट’ गरिदियो ।
- नक्कली लाइसेन्स प्रकरण
यातायात व्यवस्था विभागबाट वितरण भएको १ लाख २ हजार नक्कली लाइसेन्सबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । नक्कली लाइसेन्स वितरणमा संलग्न ३ जना थुनामा छन् । थुनामा भएका मध्ये एकजना करार सेवाका पूर्व कर्मचारी र दुईजना बहालवाला सूचना प्रविधि अधिकृत हुन् ।
- विश्व श्रमिक दिवस
नेपालमा हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा आउँछन् । उनीहरूले नेपाली श्रम बजारमा उचित अवसर नपाउँदा विदेशिन बाध्य छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७९-०८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा चार लाख ९४ हजार २२४ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न १४४ देशमा गएको देखिन्छ ।
- नेपाल निरीह
वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० क्रिकेटमा बुधबार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको हो ।
- लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका १० वटा जिल्लामा एमाले अधिवेशनको तयारी भइरहेको छ । प्रदेशका १२ जिल्लामध्ये २ जिल्लामा अधिवेशन सकिएको छ । बाँकी १० जिल्लामध्ये धेरैजसोले केन्द्रीय तालिका अनुसार अधिवेशन मिति घोषणा गरेका छन् ।
- कुन नेता जाँदै छन् दिल्ली ?
भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेको छ । नेपालबाट विभिन्न दलका नेताहरू आजै दिल्ली जान लागेका हुन् ।
- छानबिन समितिको प्रतिवेदन
गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुमति पत्र (लाइसेन्स) लिएर प्रयोग गरिएका हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ)बाट अनुमति पत्र लिएर खरिद गरिएका हतियार पनि घातक हुनसक्ने निष्कर्ष सहित समितिले त्यस्ता हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
- सत्ता राजनीति
नेकपा एमालेसहितको सत्ता समीकरण बनेको दिनदेखि नै उत्पन्न आशङ्का र अविश्वासले नयाँ कोर्स लिने सङ्केत देखिएको छ । एमाले–कांग्रेस सत्ता समीकरण बन्न खोजेको चर्चाका बिच एकीकृत समाजवादी रणनीतिक रूपमा ‘मुभ’ हुन खोजेको छ ।