रामायणमा कैकेयीको भूमिकाबारे लारा दत्ताले के भनिन् ?

नयाँ दिल्ली । बलिउडमा यतिबेला सबैभन्दा धेरै चर्चा भइरहेको कुनै फिल्म छ भने त्यो नितेश तिवारीको फिल्म रामायण हो । फिल्मबारे दैनिकजसो नयाँ नयाँ खबरहरू आइरहेका छन् । शूटिङ स्थलबाट लिक भइरहेका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् ।
फिल्म कहाँ शूट भइरहेको छ र शूटिङ कसरी भइरहेछ भन्ने कुराको अत्तोपत्तो छैन । फिल्ममा रणबीर कपूर राम र साई पल्लवी सिताको भूमिकामा देखिने बताइएको छ । केही दिनअघि मात्रै दुबैको लूक भाइरल भएको थियो ।
फिल्मका अन्य पात्रहरुमा पनि अन्य बलिउड स्टारको नाम आइरहेको छ । फिल्ममा बलिउड अभिनेत्री लारा दत्ताले कैकेयीको भूमिका निर्वाह गरिरहेको खबर आइरहेको छ । यसबारे अब भने लाराले प्रतिक्रिया दिएकी छिन् ।
‘रामायण’मा कैकेयीको भूमिकालाई लिएर चलिरहेको सबै समाचारका सम्बन्धमा लारा दत्तले हालै एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई पनि यी अफवाहहरू पढ्दा र सुन्दा आनन्द लाग्छ । त्यसैले यसलाई जारी राख्नुस् । रामायणको हिस्सा बन्न कसले नचाहला र ?
कुराकानीको क्रममा लारा दत्तले आफूलाई खेल्न मन लागेको भूमिकाबारे पनि बताएकी थिइन् । ‘यसमा यस्ता धेरै पात्रहरू छन् जुन मलाई अफर गरेको भए खेल्थे रुचाउँथे,’ लाराले हाँस्दै भनिन् । शूर्पणखा, मन्दोदरीको भूमिका पनि आफूलाई निर्वाह गर्न मन लागेको उनले बताइन् ।
लाराले यति कुरा भनेपछि फिल्ममा उनी कुन भूमिकामा देखिदैंछिन् भन्ने उत्सुकता सबैको मनमा छ । हालै फिल्मको सेटबाट लारा दत्तको तस्बिर भाइरल भएको थियो । तस्बिरमा उनी रातो र सुनौलो रंगको साडी र हेभी ज्वेलरीमा देखिएकी थिइन् । फिल्मको स्टार कास्टबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।