उपनिर्वाचन परिणामले उत्साहित एमाले : ‘मिसन ०८४’ वामपन्थीबिच एकता कि सिङ्गल प्रतिस्पर्धा ?
काठमाडौँ । प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक गरी जम्मा दुई सिटका लागि वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेले सफलता हाता पार्यो । २०८४ को आम निर्वाचनका लागि राजनीतिक दलहरूको शक्ति परीक्षणका रूपमा हेरिएको इलाम–२ र बझाङ प्रदेश सभा–१ को निर्वाचनले यसपटक सबैको ध्यान खिच्यो ।
व्यवस्थामाथि नै प्रहार गर्ने गरी राजावादी शक्तिहरू सडक सङ्घर्षमा होमिएको, कोशी नामकरण प्रकरणमा आक्रोशित भएका पहिचानवादीले पूर्वमा छुट्टै आन्दोलन चर्काइरहेको, नयाँ वैकल्पिक शक्तिहरूले परम्परागत दलहरूमाथि घृणाको राजनीति फैलाएर जनमत प्रभावित पार्ने प्रयास भइरहेको अवस्थामा उपनिर्वाचनले सबैको ध्यान खिच्नु स्वाभाविक थियो । साथै आलोचना खेपिरहेका परम्परागत दल कांग्रेस, एमाले र माओवादीबिच नै विरासत जोगाउन शक्ति सङ्घर्ष चलिरहेको बेला निर्वाचन परिणाम कस्तो आउला भन्नेमा सबैको चासो थियो ।
मत परिणामले गणतन्त्रवादी, पहिचानवादी, पुरातनवादी र नयाँ वैकल्पिक शक्ति भनिएका सबैको शक्ति परीक्षण गरेको छ । विशेष रूपमा सबैको ध्यान खिच्न सफल भएको इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतले पछि पार्दै विजयी भए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले २१ हजार ९४२ मत पाएका थिए ।
वैकल्पिक पार्टी दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन लिम्बूलाई ६ हजार ४०७ को फराकिलो मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम तेस्रो स्थानमा समेटिए । यहाँ माओवादी, नेकपा लगायतको समर्थन पाएको एमाले आफ्नो विरासत जोगाउन सफल भएको छ ।
यो क्षेत्रमा २०४८ यता भएका सात निर्वाचनमध्ये ०५१ बाहेक सबै निर्वाचन एमालेले जितेको छ । त्यसमा पनि पूर्वसभामुख समेत रहेका सुवास नेम्वाङले ०५६ देखि लगातार जितेका थिए । सुवासको गत असोज २६ गते हृदयाघातबाट निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा एमालेले सुवासकै छोरा सुहाङलाई उम्मेदवार बनाएको थियो ।
एमालेको विरासत तोड्न मैदानमा उत्रिएको कांग्रेस र परम्परागत शक्तिलाई विस्तापित गर्ने रास्वपाको लक्ष्यलाई ठुलो धक्का लागेको छ । इलाममा प्राप्त पहिचानवादी जनमतले ०८४ को निर्वाचन जित्न परम्परागत दललाई सजिलो नभएको देखाएको छ ।
यसैगरी प्रदेश सभा अन्तर्गत बझाङ १(१) मा यसपटक एमालेले कांग्रेससँग बदला लिएको छ । २०७४ मा एमालेले जितेको यो क्षेत्र २०७९ को निर्वाचनमा कांग्रेसले आफ्नो पोल्टामा पारेको थियो । उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी विजयी भए । कांग्रेसबाट निर्वाचित सांसद जयपृथ्वीबहादुर सिंहको गत असारमा सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ गठबन्धनबाट साझा उम्मेदवार उठाउने अन्तिम प्रयास असफल भएपछि एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका उम्मेदवार एक्लाएक्लै भिडेका थिए ।
कांग्रेससँग माओवादीको सहकार्य भङ्ग गर्नमात्र एमाले सफल भएको छैन, यसपटक एकीकृत समाजवादीलाई समेत सहकार्यमा ल्याउन सफल भयो ।
प्रतिनिधि सभातर्फ ०४८, ०५६ र ०७९ को निर्वाचन बाहेक बझाङमा एमालेले जितेको थियो । ०४८ र ०५६ कांग्रेस र ०७९ मा एकीकृत समाजवादीले जितेको थियो ।
यी दुई क्षेत्रको चुनावी रुझानले एमालेलाई २०८४ को निर्वाचनमा एक्लै लड्न सक्ने आत्मबल पलाएको देखिन्छ । नेकपा दुर्घटनापछि पार्टी विभाजन झेलेको एमालेका लागि २०७९ को तीनै तहको निर्वाचन सुखद नरहे पनि लोकप्रिय मतमा अगाडि थियो ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनसामु एक्लै भिडेको एमालेले प्रतिनिधि सभामा ७८ सिट प्राप्त गरेको थियो । तत्कालीन सत्ता गठबन्धनले १३३ सिट जितेकोमा कांग्रेसको सिट जम्मा ८८ छ । निर्वाचनमा पराजयपछि मिसन ०८४ मा होमिएको एमालेको पहिलो रणनीति कांग्रेस–माओवादीको गठबन्धन भत्काउनु थियो । त्यसमा एमाले सफल भएको छ ।
कांग्रेससँग माओवादीको सहकार्य भङ्ग गर्नमात्र एमाले सफल भएको छैन, यसपटक एकीकृत समाजवादीलाई समेत सहकार्यमा ल्याउन सफल भयो । कोशी नामकरणमा एमालेलाई पहिचान विरोधी शक्तिको भाष्य निर्माण गरी चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने पहिचान पक्षको रणनीतिलाई पनि ताजा जनमतले अस्वीकृत गरेपछि एमालेका नेताहरू निकै हौसिएका छन् ।
सबै विकल्प हेरिसकेपछि जनताले एमाले रोजेको उपमहासचिव प्रदिप ज्ञवालीले विश्लेषण गरेका छन् । यस परिणामले ०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउन सक्ने आत्मबल एमालेलाई प्रदान गरेको उनको भनाइ छ ।
‘नेपाली जनताले सबै हेरिसकेपछि विकल्पमा एमाले छनोट गरेको पुष्टि गरेको छ । हामीलाई बढी उत्साहित पनि बनाएको छ । एकल बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानलाई यसले बल पुर्याएको छ’, रातोपाटीसँग ज्ञवालीले भने ।
तत्काल वामपन्थीबिच एकता र सहकार्य गर्ने विषयमा कुनै सोच नबनाएको उनको भनाइ छ । तथापि आगामी निर्वाचनसम्म अहिलेकै समीकरणलाई बलियो बनाएर लैजानेमा ध्यान केन्द्रित रहने उनले स्पष्ट पारे ।
अघिल्लो निर्वाचनमा धक्का खाएको एमालेले मिसन ०८४ लाई अभियानकै रूपमा अगाडि बढाएको छ । २०७९ पुस १० गते माओवादीसँग मिलेर नयाँ समीकरण बनाएको एमालेको सचिवालय बैठकले संगठन सुदृढीकरणका लागि दुई महिने मिसन ग्रासरुट अभियान चलाउने निर्णय गर्यो । गत वर्ष वैशाखको अन्तिमसाता बसेको केन्द्रीय समिति बैठकमा मिसन ग्रासरुट अभियानको गम्भीर समीक्षा गर्दै वार्षिक योजना बनाएको थियो । सोही योजना अन्तर्गत झुलाघट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा सम्पन्न गरेको थियो ।
एमालेले सकभर ०८४ को निर्वाचनमा एक्लाएक्लै भिड्ने, कांग्रेस–माओवादी गठबन्धन बन्न नदिने र आवश्यकता अनुसार वामपन्थीबिच तालमेल गरी एकल बहुमत ल्याउने रणनीति बनाएको देखिन्छ । कोशी नामकरण प्रकरणमा पहिचानवादी शक्तिको चर्को टार्गेटमा रहेको एमालेले तत्काल निर्वाचन भएमा एमालेले ठुलो क्षति बेहोर्ने अनुमान थियो । तर उपनिर्वाचनबाट आफ्ना उम्मेदवार विजयी भएपछि एमालेका नेताहरू हौसिएका हुन् । उपनिर्वाचनले एमालेको पोजिसन बलियो देखाएको प्राध्यापक कृष्ण खनाल बताउँछन् ।
कांग्रेसले खासै प्रगति गर्न नसकेको, वैकल्पिक शक्ति रास्वपा कमजोर रहेको, पहिचानवादीको जनमत बढे पनि पर्याप्त नभएको उनको निष्कर्ष छ । तथापि पहिचानवादीलाई निषेध गर्न नमिल्ने उनी बताउँछन् ।
यही रफ्तारमा अगाडि बढे एमालेको दम्भ बढ्न सक्ने माओवादीको आशङ्का रहेको छ । यद्यपि उपनिर्वाचनको रुझानले समग्रमा वामपन्थी एकतालाई बल पुर्याएको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले बताए । चुनावी परिणामले कांग्रेसको दम्भ अन्त्य भएको उनको विश्लेषण छ ।
‘इलामको परिणाम हामीले अपेक्षा गरे बमोजिम नै आएको छ । हामीले समर्थन नगरेको भए एमालेलाई चुनाव जित्न अप्ठ्यारो पर्थ्यो । समग्रमा यसले वामपन्थीबिच एकतालाई बल पुर्याएको छ । चुनावअघि गठबन्धन नगर्ने कांग्रेसको दम्भलाई अन्त्य गरेको छ । त्यही दम्भको बाटोमा एमालेलाई पनि चुनावी परिणामले सन्देश दिएको मेरो विश्लेषण छ’, गजुरेलले भने ।
अघिल्लो निर्वाचनमा इलाम–२ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ मत पाएको थियो । त्यतिबेला गठबन्धन बनाएको कांग्रेस २२ हजार ३३३, माओवादी ५ हजार १५३, र एकीकृत समाजवादीले ५८६ मत पाएको थियो । एक्लै निर्वाचनमा होमिएको नयाँ दल रास्वपाले ४ हजार ६८६ मत पाएको थियो । उपनिर्वाचनले एमाले र कांग्रेसको मत खासै प्रभावित भएको देखिँदैन । पुरातनपन्थी राजावादी शक्ति राप्रपा र वैकल्पिक शक्ति भनिएको रास्वपालाई ठुलै धक्का लागेको छ । तथापि पूर्वको एक प्रतिनिधि सभा सदस्य निर्वाचन र सुदूपश्चिमको एक प्रदेशसभा सदस्य निर्वाचन परिणामलाई हेरेर तीन वर्षपछि हुने १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रको परिणामलाई विश्लेषण गर्नु हतार हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण