आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा किन हार्‍यो कांग्रेस ?

मङ्गलबार, १८ वैशाख २०८१, २० : ०६
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि वैशाख १५ मा सम्पन्न उपनिर्वाचन सुखद रहेन । इलाम–२ र बझाङ प्रदेश सभा–१को परिणाम नेकपा एमालेको पक्षमा रह्यो । दुवै ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको कांग्रेस एमालेसामु नतमस्तक भएको हो ।

इलाम–२ को सिट एमालेबाट खोस्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको कांग्रेस विगतमा जितेको बझाङ प्रदेश सभा–१ समेत गुमाउन पुग्यो । २०७९ को आम चुनावमा तीन दल (माओवादी, एकीकृत समाजवादी, लोसपा)को साथमा एमालेविरुद्ध उभिएको कांग्रेस उपनिर्वाचनमा एक्लै मैदानमा उत्रिएको थियो ।

गत चुनावमा गठबन्धन गर्दा घाटा भएको निष्कर्ष निकालेको कांग्रेसलाई एक्लै चुनाव लड्दा थप धक्का लागेको छ ।

उपनिर्वाचनमा नेतृत्व उदासीन

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत काठमाडौँबाट भोट मागे पनि इलाम र बझाङ जान आवश्यक ठानेनन् । उपसभापति पूर्णबहादुर खड्कालाई उपचुनावको परवाह भएन । उनी उपचुनावको गतिविधिमा उदासीन रहे । उपसभापति धनराज गुरुङले एक पटक इलाम पुगेर उपचुनावको कर्म सकिएको ठाने । महामन्त्री गगन थापा इलाम–२ मा दुई पटक पुगे पनि बझाङमा पाइला टेकेनन् । उपनिर्वाचनको अवधिमै संवाद यात्रामा कञ्चनपुरसम्म पुगेका थापाले बझाङलाई उपेक्षा गरे । वैशाख ९ मा इलाम बजारमा चुनावी खुला सभालाई सम्बोधन गरेर थापा अमेरिका हिँडे ।

महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाको जोडबलले इलाममा सार्थकता पाएन । इलाम–२ का चुनावी कमाण्डर शर्मा उम्मेदवारी दर्तादेखि मतगणनासम्म इलाममै थिए । बझाङ प्रदेश सभाका चुनावी कमाण्डर नेता एनपी साउद भने ग्राउडमा धेरै खटेनन् । पार्टीका शीर्ष नेताले उपनिर्वाचनमा जिम्मेवारी निर्वाह नगरेको गुनासो कांग्रेसजनमा छ ।

नेता शेखर कोइरालाले सभापति र उपसभापतिहरू उपनिर्वाचनमा मत माग्न नगएको कुरा उठाए । उनले रातोपाटीसँग भने, ‘म त बिरामी भएर पनि इलाम पुगेको हुँ । सकेजति प्रयास पनि गरेँ । तर, सभापति र उपसभापतिहरू जानु भएन । किन जानु भएन, उहाँहरू नै जान्नुहोला,’ उनले भने ।

हिन्दु राष्ट्र फ्याक्टर

गत फागुन ७–१० को महासमिति बैठकमा हिन्दु राष्ट्रका पक्षमा भएको बहसले इलाम–२ मा धक्का लागेको कांग्रेसको बुझाइ छ । महासमिति बैठकले केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा एक हजार महासमिति सदस्यले हिन्दु राष्ट्रसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

पार्टीका पदाधिकारीसहित ३९ जना केन्द्रीय नेता पनि हिन्दु राष्ट्रको पक्षमा उभिए । महासमिति बैठकको हलमा हिन्दु राष्ट्रको एजेण्डाले प्रवेश पाएपछि कांग्रेसको आदिवासी जनजाति महासङ्घले काउन्टर प्रस्ताव पेस गरेको थियो ।

कांग्रेसको भ्रातृ संस्था मगर सङ्घका अध्यक्ष निदेश थापा मागरले महासमितिमा जबर्जस्त उठेको हिन्दु राष्ट्रको मुद्दालाई इलाम–२ मा कांग्रेसलाई घाटा भएको बताए ।

‘इलाम–२ मा ७० प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास छ । हामीले यस पटक आदिवासी जनजातिको भोट पाउन सकेनौँ,’ उनले भने, ‘महासमितिमा हिन्दु राष्ट्रको मुद्दामाथि भएको बहस उहाँहरू कांग्रेससँग सशङ्कित भएको देखिन्थ्यो । त्यो मतमा पनि प्रकट भयो ।’

उम्मेदवार छनोटमा कमजोरी

उपनिर्वाचनमा ढिलो गरी उम्मेदवारी टुङ्ग्याएको कांग्रेसले इलाम–२ को पार्टी संरचनालाई नजरअन्दाज गर्यो । उम्मेदवारी सिफारिसको समयमा निर्वाचन क्षेत्रका ४२ वडामध्ये ३७ वटा वडाका कांग्रेस सभापतिहरू भेषराज आचार्यलाई नै टिकट दिनुपर्ने पक्षमा थिए ।

सोही आधारमा पार्टीको इलाम–२ क्षेत्रीय समिति, इलाम जिल्ला समिति र कोशी प्रदेश समितिले एक नम्बरमा सिफारिस भएका आचार्यलाई पन्छाएर तीन नम्बरमा सिफारिस भएका खड्कालाई टिकट थमायो । कांग्रेस सभापति देउवाले २०७९ मा ११४ मतले पराजित खड्कालाई ‘पाँच वर्ष उसैको’ भन्दै टिकट दिएका थिए ।

पार्टीमा लामो रस्साकसीका बिच टिकट फुत्काएका खड्का इलाम–२मा एमालेलाई स्तब्ध तुल्याउन असफल भए । निर्माण व्यवसायीसमेत रहेका खड्काले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगरेको र अलपत्र आयोजनाको विषय पनि भारी पर्‍यो ।

गत निर्वाचनमा पराजित भएपछि अन्तर्घात गरेको आशङ्कामा पार्टी कार्यकर्तामाथि गरेको अभद्र व्यवहारले पनि खड्काले चुनाव हारेको कांग्रेसवृत्तमा चर्चा छ ।

रातोपाटीले इलाम–२ मा स्थलगत रिपोर्टिङ गर्दा ‘डम्बरलाई डम्बरकै डर’ हुने आकलन गरेको थियो । खड्काले रुखमा आएको मत (समानुपातिक) पाए पनि आफ्नो व्यक्तित्वले थप मत बटुल्न सकेनन् ।

पार्टीको संस्थापन इतर पक्षको दबदबा भएको इलाम–२ मा संस्थापन पक्षीय खड्काको हारमा ह्याट्रिक भएको छ । २०७४ मा इलाम–२ को प्रदेश सभा (१) मा उनी पराजित भएका थिए । इलाम–२ मा २०७९ को आमनिर्वाचन र २०८१ को उपनिर्वाचन पनि खड्काको पक्षमा रहेन ।

नेता कोइरालाका अनुसार टिकट दिँदा स्थानीय पार्टी पंक्तिको कुरालाई नेतृत्वले नजरअन्दाज गर्नु पनि हारको कारक बन्यो । ‘हामीले के भन्यौँ भन्दा पनि स्थानीय साथीहरूको कुरा के छ भन्नेमा नेतृत्वले नजरअन्दाज गर्यो । यो पनि हाम्रो हारको कारक बन्योजस्तो लाग्छ,’ उनले भने, ‘सबै साथीहरू लाग्दा पनि परिणाम हाम्रो पक्षमा पार्न सकिएन ।’

‘मुढा’प्रतिको उदारता घातक

इलाम–२ मा कांग्रेसले पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले एमालेको मत बढी काट्ने अपेक्षा गरेको थियो । एमाले पृष्ठभूमिका थेगिमले चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा एमालेको मत काट्दा आफूलाई राहत हुने कांग्रेसको बुझाइ थियो ।

पूर्वी नेपालको पहिचानवादी आन्दोलनप्रति अनुदार एमालेको विकल्पमा आदिवासी जनजाति समुदायले थेगिमलाई रोज्ने कांग्रेस विश्लेषण थियो ।

चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रामक देखिएको कांग्रेस पहिचानवादी उम्मेदवार थेगिमप्रति नरम सुनिन्थ्यो । एमालेले जित्ने परिस्थिति बन्दा पहिचानवादीले कांग्रेसलाई मत दिने पनि कांग्रेसवृत्तमा चर्चा थियो । तर, चुलाचुली, माङ्सेबुङ, र फाकफोकथुममा एमालेले आफ्नो मत जोगाउँदा थेगिम नै कांग्रेसका लागि भारी भए । ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ कांग्रेस नारा पहिचानवादीलाई बुझाउन नसकिएको नेता कोइरालाले बताए ।

उनले भने, ‘हामीले पहिचानवादीलाई हाम्रो कुरा बुझाउन सकेनौँ, कोशी प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्ने प्रयास भइरहेको छ । द्वन्द्व मेटिने, पहिचान भेटिने भन्ने हाम्रो नारा उहाँहरूले बुझ्नु भएन । यसमा हाम्रो कमजोरी भयो ।’

विराटनगरस्थित आफ्नो निवासमा बोलाएर पहिचानवादीसँग कुरा गर्दा पनि उनीहरूलाई सम्झाउन नसकिएको कोइरालाको भनाइ छ ।

खसआर्य रणनीति फेल

आदिवासी जनजातिको बाहुल्यता भएको इलाम–२ मा कांग्रेसले रणनीतिक रुपमा खसआर्य उम्मेदवारलाई खडा गरेको थियो । प्रमुख प्रतिस्पर्धी एमाले, रास्वपा, एकीकृत समाजवादी र पहिचानवादी स्वतन्त्र गरी ४ जना जनजाति समुदायका उम्मेदवारको मत बाँडिदा चुनाव जित्न सकिने कांग्रेसको रणनीति थियो ।

रास्वपा र एकीकृत समाजवादी प्रतिस्पर्धामै आउन सकेनन् भने स्वतन्त्र उम्मेदवारले कांग्रेसकै मत बढी काट्दा खसआर्य रणनीति फेल खायो । महामन्त्री शर्माले रणनीतिक रुपमा प्रस्तुत हुँदा पनि एमाले र माओवादी एक ठाउँमा आउँदा चुनावमा कांग्रेस पराजित भएको बताए ।

शर्माले भने, ‘हामीले सबै तहबाट प्रयास गरेका हौँ । मत जोगाउन सकिए पनि जित हात पार्न सकिएन । प्रमुख दुई दल मिल्दा पनि हामीले प्रतिस्पर्धात्मक मत पाएका छौँ ।’

नयाँ कुराको अभाव

ramesh raimajhi

इलाम–२ मा कांग्रेस नयाँ ढङ्गले प्रस्तुत नहुँदा चुनाव हारिएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस केन्द्रीय सदस्य रमेश रायमाझीले भने, ‘हामी नयाँ ढङ्गले प्रस्तुत हुन सकेनौँ । सबै कुरा पुरानै पाराको भयो । उम्मेदवार पनि पुरानै भए । हाम्रो काम गर्ने शैली र रणनीति पनि पुरानै भयो । त्यसैले परिणाम पनि पुरानै आयो ।’

पार्टी सङ्गठन पनि पुरानै अवस्थामा रहेकाले समानुपातिक मतमात्र जोगाउन सकिएको उनले बताए । ‘हामीले उपनिर्वाचनका लागि सङ्गठन निर्माणको काम गरेका थिएनौँ,’ उपचुनावमा लामो समय इलाम बसेका रायमाझीले भने, ‘पुराना साथीहरूले नै मत दिनु भयो । पहिले माओवादी र एकीकृत समाजवादी हुँदा बढी मत पाएका थियौँ । अहिले हाम्रो पुरानो मतमात्रै पायौँ । नयाँ मत पाउनका लागि त नयाँ काम पनि गरेको हुनुपर्थ्यो ।’

विगतमा पार्टीको आन्तरिक विवादले चुनाव हारेको कांग्रेसमा यसपटक पनि त्यो देखिएको रायमाझीको बुझाइ छ । ‘पुरानो अन्तर्घातको समस्या पनि दोहोरियो । सबै कुरा पुरानै दोहोरिँदा परिणाम नयाँ आएन । यसमा निराश हुनुपर्ने केही छैन,’ उनले भने ।

एमालेभित्र खेल्न असफल

सुहाङ नेम्वाङलाई एमाले इलामका स्थानीय नेताको साथ नहुने कांग्रेसको बुझाइ थियो । सुहाङलाई गत फागुन ३० मामात्र एमालेले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो । पार्टीको भूगोल र भ्रातृ संस्थाको राजनीतिबाट टाढा रहेका सुहाङलाई एमालेले एक्कासी चुनावी मैदानमा उतारेको थियो ।

पार्टीभित्रै पनि सुवास नेम्वाङपछि मौकाको पर्खाइमा रहेका नेताहरू पार्टी नेतृत्वले सुहाङलाई टिकट थमाएकोमा असन्तुष्ट रहेको चर्चा थियो । नेताहरू सार्वजनिक विरोधमा नउत्रिए पनि सुहाङलाई अन्तरआत्माबाट सहयोग नगर्ने कांग्रेसको विश्लेषण थियो ।

एमाले नेता बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतका नेताले सुहाङलाई सहयोग नगर्दा चुनाव जित्न सहज हुने कांग्रेसको बुझाइ थियो । तर, सुहाङको प्रचारमा पर्याप्त समय नदिएका उनीहरूले अन्तर्घात नगर्दा कांग्रेस पराजित हुनुपरेको कांग्रेसका एक नेताले बताए ।

‘एमालेभित्र खेल्ने हाम्रो प्रयत्न असफल भयो । अन्तिममा उहाँहरू मिल्नुभयो । केपी ओलीजी १२ गते इलाम आएपछि एमालेभित्रको अन्तरविरोध मिल्यो,’ उनी भन्छन् ।

सिट गुमायो, मत जोगायो

उपचुनावमा नतिजा हात पार्न नसके पनि कांग्रेसले २०७९ मा पाएको समानुपातिक मत हल्लिन दिएको छैन । २०७९ मा इलाम–२ बाट कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । उपनिर्वाचनमा कांग्रेसले २१ हजार ९४२ मत ल्याएको छ । यसअघि पार्टीलाई आएको ३९१ मत खड्काले नपाएको देखिन्छ ।

बझाङ प्रदेश सभा–१ मा २०७९ मा कांग्रेसले समानुपातिकतर्फ १० हजार मत पाएको थियो । उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । उपनिर्वाचनमा मत बढाए पनि २०७९ मा माओवादी केन्द्र र एकीकृत समाजवादी साथमा रहँदा जितेको सिट एक्लै लड्दा कांग्रेसले गुमाएको छ ।

आम निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले २०५६ पछि पहिलो पटक बझाङमा जित दर्ता गराएका थिए । उनकै छोरा अभिषेक उम्मेदवार बन्दा पनि एमाले कमब्याक गर्न सफल भयो ।

पर्याप्त प्रयत्न र कोसिस गर्दा पनि बझाङ प्रदेश सभा–१ को सिट जोगाउन नसकेको कांग्रेस नेता एनपी साउदको भनाइ छ । ‘पहिले जित्दा गठबन्धनमा थियौँ । हाम्रो समानुपातिक मत एमालेको भन्दा कम थियो । त्यो दृष्टिकोणले हेर्दा हामीले उल्लेख्य मत प्राप्त गरेका छौँ,’ उनले भने, ‘केही थप बल लगाउन सकिएको भए जित्न सकिने अवस्था पनि थियो । कहीँ कमी कमजोरी भएको छ भने पनि त्यसको समीक्षा गरिनेछ ।’

नेता कोइरालाले पनि इलाम–२ मा कांग्रेसले आफ्नो जनमत जोगाउनु सकारात्मक भएको बताए । ‘विभिन्न कमजोरीका बिच हामीले इलाम–२ मा हाम्रो मत जोगाएका छौँ । हाम्रो समानुपातिक मत २२ हजार ३३३ थियो,’ उनले भने, ‘डम्बरजीले २१ हजार ८४२ मत ल्याउनु भएको छ । चुनाव हार्नु दुःखद् भए पनि उहाँले आफ्नो मत जोगाउनु भयो । यो सकारात्मक हो ।’

मिडियामा कांग्रेस खत्तम भयो भन्ने भाष्य उपनिर्वाचनबाट खण्डित भएको उनको भनाइ छ ।

‘एक्लै चुनाव लड्न हाम्रो आधार छ भनेर उपनिर्वाचनले देखाएको छ । कांग्रेस खत्तम भयो भन्ने कुरा पनि खण्डित भएको छ,’ कोइरालाले भने ।

गठबन्धनविरोधी तप्कालाई धक्का

उपनिर्वाचनमा कांग्रेसले इलाम–२ र बझाङ प्रदेश सभा–१ मा चुनाव हारे पनि पार्टीभित्रको गठबन्धनविरोधी तप्कालाई धक्का लागेको छ । गत स्थानीय निर्वाचनदेखि नै चुनावी गठबन्धनको विपक्षमा मत राख्दै आएको शेखर कोइराला–गगन थापा समूह उपनिर्वाचनमार्फत एक्लै चुनाव जित्न सकिन्छ भन्ने सन्देश दिन चाहन्थ्यो । इलाम–२ मा खड्का र बझाङमा अभिषेक सिंह जित्दा आफ्नो एजेण्डा स्थापित हुने उनीहरूको रणनीति थियो ।

इलाम–२ मा कांग्रेसको संस्थापन पक्षभन्दा इतरपक्षका नेताहरू चुनावमा बढी खटिएका थिए । सबैजसो चुनावी सभामा नेता शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माले उपनिर्वाचनबाट गठबन्धनको राजनीति इलामबाट अन्त्य हुने उद्घोष गरेका थिए । तर, इलाममा एमाले–माओवादीको गठबन्धनका साझा उम्मेदवार सुहाङको जितले उनीहरूको एजेण्डालाई धक्का लागेको छ ।

शेखर–गगनको गठबन्धन विरोधी अभिमतले फागुन २१ मा सत्ता गुमाएको भाष्य निर्माण भइरहेको बेला उपनिर्वाचनको पराजयले कांग्रेसभित्रका गठबन्धन पक्षधरलाई बल पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप