माओवादी नेताहरूको निष्कर्ष : उपनिर्वाचनको नतिजा वामपन्थी ध्रुवीकरणको आधार
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेश सभा–१ मा शनिबार भएको निर्वाचनमा झण्डै ११ वर्षपछि माओवादी केन्द्रका मतदाताले आफ्नै उम्मेदवार र चुनाव चिह्नमा मत प्रकट गर्न पाए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि माओवादीले त्यहाँ आफ्नो उम्मेदवार उठाएको थिएन ।
२०७४ सालमा भएको तीन तहको निर्वाचनमध्ये स्थानीय तह निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो । एमालेसँग मिलेर माओवादीले निकै लाभ लिए पनि सत्ता र शक्ति सङ्घर्षका कारण सम्बन्ध लामो समय टिकेन ।
२०७९ को तीनै तह निर्वाचनमा कांग्रेससँग तालमेल गरी माओवादी चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ताको लाभ लिएको माओवादीले उपनिर्वाचनमा इलाममा एमालेलाई समर्थन गरेर बझाङमा एक्लाएक्लै प्रतिस्पर्धा गरेको हो ।
यद्यपि सोमबार प्राप्त भएको अन्तिम मतपरिणाम अनुसार माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मतसहित तेस्रो स्थान हासिल गरे । सो क्षेत्रमा गठबन्धनबाट एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६१३ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।
गठबन्धनबाटै एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले जम्मा २ हजार ५१४ मत पाए । एकल प्रतिस्पर्धामा एमालेले बाजी मार्न सफल देखिएको छ । गठबन्धन तोडिएको प्रत्यक्ष असर यसपटक कांग्रेसलाई परेको छ । अघिल्लो निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको सहयोगमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
- उपनिर्वाचनले वामपन्थी ध्रुवीकरणको आधार बनेको नेताहरूको प्रतिक्रिया
चुनावी प्रतिस्पर्धामा तेस्रो स्थान बनाएको माओवादीका उम्मेदवार बुढा मत परिणामबाट आफू सन्तुष्ट रहेको बताउँछन् । पार्टी बनाउनका लागि एकल प्रतिस्पर्धा गर्न नेतृत्वले आँट गर्नुपर्ने उनको भनाइ छ ।
उपनिर्वाचनलाई निकै नजिकबाट नियालेका माओवादीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले उपनिर्वाचनबाट माओवादीको मत सुरक्षित भएको र सङ्गठन बन्ने आधार तय भएको प्रतिक्रिया दिए । साथै निर्वाचन परिणामले आगामी दिनमा वामपन्थीबिच ध्रुवीकरण गर्ने बलियो आधार भएको उनको बुझाइ छ ।
‘लामो समयपछि माओवादी मतदाताले आफ्नै निर्वाचन चिह्न, पार्टी र विचारमा मत हाल्न पाए । तर अपेक्षा गरेअनुसार भोट आएन । सङ्गठन अनुसार मत आयो । समग्रमा वामपन्थी मत राम्रो आएको छ’, चुनावी परिणामबारे उनले भने, ‘पार्टीले चलाएको चार महिने अभियानको प्रतिक्रिया स्वरूप राम्रो भोट आएको छ ।’
उपनिर्वाचनलाई जनमत सङ्ग्रहजस्तै मानेका उनले भने, ‘एकातिर सङ्गठन बनाउन बल पुगेको छ । अर्कोतिर वामपन्थी ध्रुवीकरणका लागि आधार तयार भएको छ ।’
चुनावी परिणाम पार्टीको पक्षमा नआए पनि एकल प्रतिस्पर्धामा आफ्ना उम्मेदवारले झण्डै चार हजार मत ल्याउनुले सकारात्मक सन्देश गएको माओवादीका सचिव देवेन्द्र पौडेलले बताए । माओवादीको मतले नै यसअघिको निर्वाचनमा कांग्रेस विजयी भएको तथ्यलाई उपनिर्वाचनले पुष्टि गरेको उनको भनाइ छ ।
‘बझाङमा गठबन्धन दलहरूको समर्थन नहुँदा पनि हाम्रा उम्मेदवारले झण्डै चार हजार मत ल्याए । यसले देशैभरि एकल उम्मेदवार उठाउँदा राम्रै हुने सकारात्मक सन्देश दिएको छ,’ पौडेलले भने, ‘बझाङको चुनावी परिणामले माओवादीको भोटबाट यसअघि कांग्रेसले जितेको रहेछ भन्ने पनि देखाएको छ । सिङ्गल जाँदा पार्टीको भोट र सङ्गठन सुदृढ गर्न राम्रो हुन्छ ।’
वामपन्थी मिलेर जाने कुरा अझ राम्रो हुने भन्दै उनले त्यसो हुन सकेन भने पार्टी बनाउन सिङ्गल प्रतिस्पर्धालाई आकार दिने प्रस्ट पारे ।
- अलमलका बिच माओवादीको उम्मेदवारी घोषणा
चैत १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उपनिर्वाचनमा इलाम–२ र बझाङ प्रदेश सभा–१ मा उम्मेदवारी दिने घोषणा गर्यो । यद्यपि उम्मेदवारी दर्ता गर्ने दिनसम्म निर्णय कार्यान्वयन हुनेमा नेताहरू नै विश्वस्त थिएनन् ।
एमालेसहित पाँच दलीय सत्ता गठबन्धन भएकाले सत्ता बाँडफाँटदेखि उम्मेदवार छनोटसम्म दलहरूबिच प्याकेजमै छलफल हुने नेताहरूले बताएका थिए ।
चैत ११ गते एमालेले इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङ १(१)मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गर्यो । एमालेको निर्णयबाट चिढिएको माओवादीले अलमलका बिच चैत १९ गते केन्द्रीय सदस्यसमेत रहेका धिरेन्द्र शर्मालाई इलाममा उम्मेदवार बनाउने निर्णय गर्यो ।
बझाङमा माओवादीले सुदूरपश्चिम प्रदेश सचिव रहेका जनक बुढालाई उम्मेदवार बनाएको थियो । तथापि चैत २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सहमति बमोजिम दुवै पार्टीका जिल्ला समितिले संयुक्त विज्ञप्ति जारी गर्दै इलाममा सुहाङलाई सहयोग गर्ने घोषणा गर्यो ।
इलाममा एमालेलाई समर्थन गरेपछि बझाङमा एमालेको समर्थन आफूले पाउनेमा माओवादी नेताहरूको अपेक्षा थियो । गठबन्धन दलहरूबिच बझाङमा साझा उम्मेदवार बनाउने अन्तिम कसरत असफल भएपछि गठबन्धन दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए ।
१० वर्ष सशस्त्र विद्रोहमार्फत २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले पहिलोपटक २०६४ को संविधानसभा निर्वाचनमा भाग लिएको थियो । सो निर्वाचनमा कांग्रेस र एमालेजस्ता बलिया शक्तिलाई पछि पार्दै पहिलो शक्ति बन्न सफल भएको थियो । पहिलो संविधानसभा विघटनपछि २०७० मा भएको निर्वाचनमा कांग्रेस र एमालेसँग एक्लै मैदानमा भिडेको माओवादी नराम्ररी पराजित भएको थियो ।
२०८४ को निर्वाचनमा दलहरूको शक्ति परीक्षणका रूपमा हेरिएको यस उपनिर्वाचनले माओवादी केही उत्साहित देखिए पनि फेरि चुनावी तालमेल गर्छ कि गर्दैन, त्यो निकै चासोको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध